शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं, २४ वैशाख ।

नेपालमा कोरोना भाइरसविरुद्धको रुसी भ्याक्सिन स्पुतनिक भी ल्याइने निश्चितप्राय भएको छ । स्पुतनिक भ्याक्सिनलाई प्रयोगको अनुमती दिएपछि लोमस फार्मासिटिकल प्रा.लि.लाई ल्याउने अनुमति दिइएको हो । लोमस नेपालको औषधी उत्पादनका क्षेत्रमा प्रतिष्ठित नाम हो ।

भ्याक्सिन ल्याउने अनुमती दिँदा १० प्रतिशतभन्दा बढी मुनाफा लिन नपाउने उल्लेख छ । यसको अर्थ भ्याक्सिन ल्याउने अनुमति पाएको कम्पनी लोमसले अधिकतम १० प्रतिशत मुनाफा लिन पाउनेछ ।

रुसी भ्याक्सिनको अन्तर्राष्ट्रिय मूल्य प्रति डोज १० डलर उल्लेख छ । नेपालमा भ्याक्सिन ल्याइपुर्याउँदा योभन्दा बढी मूल्य पर्न सक्छ । सरकारले भ्याक्सिन कम मूल्यमा ल्याउन रुसी राजदूतसँग छलफल समेत गरेको थियो ।

८० लाख डोज रुसी भ्याक्सिन ल्याउने गरी तयारी भएको छ । २१ दिनको बीचमा दुई डोज लगाउनुपर्ने भ्याक्सिन ल्याइएमा थप ४० लाख नागरिकले कोरोना भाइरसविरुद्धको भ्याक्सिन पाउनेछन् । अर्कोतर्फ, रुसी भ्याक्सिन ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको तथ्यहरु उल्लेख छन् । विश्वका ६० भन्दा बढी मुलुकमा स्पुतनिक भीको प्रयोग भइरहेको छ ।

भारतले रुसी भ्याक्सिन ल्याउने निर्णय यसअघि नै गरिसकेको छ । स्पुतनिक भी भ्याक्सिन ल्याउन लागेको डाक्टर रेड्डीज ल्याबले १० डलर अर्थात् ७५० भारतीय रुपैयाँको हाराहारीमा पर्ने जनाइसकेको छ । भारतमा सेरमले उत्पादन गरेको कोभिसिल्डको मूल्य ४०० भारु पर्छ ।

नेपालमा सेरमले उत्पादन गरेको भ्याक्सिन ५ डलरभन्दा कममै भित्राइएको हो । १० लाख डोज खरिद गरी भित्राइएको छ र बाँकी १० लाख डोज आइसकेको छैन ।

सेरमको कोभिसिल्डको तुलनामा रुसी भ्याक्सिन दोब्बरभन्दा महङ्गो पर्न जान्छ । तर, प्रभावकारिताको दृष्टिले स्पुतनिक बढी प्रभावकारी रहेको उल्लेख छ ।

रुसी भ्याक्सिन बढी प्रभावकारी दाबी गरिएको छ । रुसले यसको प्रभाव ९२ प्रतिशत रहेको दाबी गरेको थियो । रुसको भ्याक्सिनको नियमनकारी स्वतन्त्र कमिटिीका सदस्य रामिल खाब्रिएभले स्पुतनिक भी भ्याक्सिन दुवै डोज लगाएर परीक्षण गर्दा ९६.२ प्रतिशत प्रभावकारी पुष्टि भएको दाबी गरेका थिए । रुसी समाचार संस्था तासका अनुसार वैज्ञानिकहरुको फोरममा रामिलले पहिलो र दोस्रो डोजको खोप लगाएपछिको अवस्था परीक्षणबाट प्रभावकारीताको प्रतिशत निकालिएको तर्क गरेका हुन् ।

रुसको स्पुतनिक भी सँसारमै पहिलोपटक विकास भई दर्ता भएको भ्याक्सिन हो । गत वर्षको ११ अगष्टमा रुसमा दर्ता भएपछि यसको आकस्मिक परीक्षण शुरु गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय