शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

२७ गते प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिदैंछन् । विश्वासकै मत लिन उनले राष्ट्रपतिमार्फत प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाइएको छ । यो अधिवेशनले प्रधानमन्त्री पदको मात्रै निर्क्योल गर्ने छैन, नेकपा एमालेभित्रको विवादको पनि किनारा लाग्नेछ ।

सर्वोच्चको फैसलापछि ब्युँतिएको एमाले (माओवादी पनि ब्युँतिएको) भित्रको चरमोत्कर्षमा छ । कर्णालीमा फ्लोर क्रस गरेर विभाजनको छनक दिइसकेको माधवकुमार नेपाल पक्षले प्रतिनिधि सभामा के गर्छ चासोको विषय छ ? विना कुनै सहमति उनीहरूले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिनेमा सायदै शङ्का होला । कतिसम्म भने उनीहरूले सामुहिक राजीनामाको समेत तयारी गरेको समाचारहरू बाहिर आए । नेपाल पक्षका २७ जना सांसदलाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले स्पष्टीकरणसमेत सोधिसकेका छन् । यसको अर्थ अब जुनसुकै बेला पनि ओलीले उनीहरूलाई सांसदबाट हटाउन सक्छन् ।

तर, त्यो कम्तीमा २७ गतेअघि हुने देखिँदैन । २७ गतेको यस अर्थ २७ गते एमाले विवादको अन्तिम मोड हुने निश्चित छ । त्यसपछि एमालेको राजनीतिक फरक ढङ्गले अघि बढ्ने देखिन्छ । विभाजन निश्चित छ । तर, राजनीति हो । अन्तिम समयमा विपरीत धारका दलहरूबिच त सहकार्य हुन्छ । उनीहरू त लामो समय एउटै पार्टीका सहयोद्धा हुन् । अब मिल्नै सक्दैनन् भने ठोकुवा गर्न सकिँदैन ।

तर, माथि भनिएजस्तै त्यो सम्भावना एक/दुई प्रतिशत मात्रै हो । अर्थात् एमालेमा पुनर्मिलनको आसाको त्यान्द्रो मात्रै बाँकी छ । सास रहसम्म आस भनेजस्तै त्यस्ती त्यान्द्रो बोकेर एमाले नेताहरू बिहीबारदेखि दौडधुप गरिरहेका छन् । आसामा उनीहरूले विभिन्न सम्भावना खोजिरहेका छन् ।

पार्टी विभाजन गर्न नहुने भन्दै दौडधुप गरिरहेका नेताहरूले विभाजनपछिको योजना पनि सँगसँगै बनाइरहेका छन् । बिहीबार नेता नेपालले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटे । भेटमा के कुराकानी भयो विस्तृतमा खुलाइएको छैन । तर, लख काट्न सकिन्छ । प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन लागेका बेला भएको भेटवार्तामा यसै विषयका वरिपरि रहेका छलफल पक्कै भयो ।

देउवासँगको छलफल सकेर नेता नेपाल राष्ट्रपति भण्डारीलाई भेट्न पुगे । यसले पनि ठूलै र निर्णायक खिचडी पाक्न लागेको बुझ्न कठिन छैन । सभापति देउवासँग एक घण्टा वार्तालापपछि नेपाल राष्ट्रपति भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका हुन् । जबकि बिहीबार नै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबिच पनि भेटवार्ता भएको थियो ।

नेता नेपाल मात्रै होइन त्यही आसाको त्यान्द्रो बोकेर ओली पक्षीय नेताहरू पनि दौडधुपमै छन् । विश्वासको मत माग्न प्रधानमन्त्री ओली देउवाकोमा पुगेको बाहेक अध्यक्ष केपी ओली पक्षधर नेता एवं अर्थमन्त्री विष्णु पौडेलले बिहीबार माधवकुमार नेपाल पक्षका सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग छलफल गरेका छन् । पाण्डे र विष्टसँगको कुराकानीमा पौडेलले पार्टी एकता कायम राख्न प्रस्ताव गरेको बताइएको छ। पाण्डे र विष्टले भने फागुन २८ को निर्णय सच्याए विवाद सुल्झन समय नलाग्ने बताएका थिए । बुधवार उपप्रधानमन्त्री ईश्वर पोखरेलले योगेश भट्टराई र गणेश पहाडीसँग कुराकानी गरेका थिए ।

पौडेल, पाण्डे र विष्टबिच छलफल हुनुअघि बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा नेपाल पक्षका नेतालाई गरिएको कारबाही फुकुवा गर्ने विषयमा छलफल भएको थियो । अध्यक्ष ओलीले २८ फागुनमा आफ्नो पक्षका नेताहरूको मात्र बैठक राखेर विधान संशोधन, पदाधिकारी हटाउने, केन्द्रीय सदस्य थप गर्ने लगायतका निर्णय गरेपछि नेपाल समूहले ४–५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो । त्यहीबाट एमाले विवाद उत्कर्षमा पुगेको हो ।

पछिल्लो समय दोस्रो तहका नेताहरूले नेतृत्वमाथि दबाब सिर्जना गर्ने कोसिस गरिरहेका छन् । नेपाल समूहले पार्टीलाई २ जेठ ०७५ कै सांगठनिक अवस्थामा पुर्‍याउनुपर्ने अडानमा छ । ओलीलाई जेठ दुई मा फर्किन पनि समस्या छ । किनकि फागुन २८को एकलौटी बैठकले नेपाल समूहका नेतालाई जिम्मेवारीविहीन बनाएर माओवादीबाट आएकालाई जिम्मेवारी दिएका थिए । जेठ २ मा फर्किदा माओवादीबाट आएकाहरूको नयाँ विकल्प खोज्नुपर्छ । जुन ओली गर्न चाहँदैनन् र नगरी नेपाल मान्दैनन् ।

किनकि अहिलेकै अवस्थामा एमालेमा फर्किएको अवस्थामा नेपाल पक्ष हरेक कमिटीमा अल्पमतमा हुने निश्चित छ । माओवादीबाट आएका २३ जनालाई ओलीले केन्द्रीय सदस्यको जिम्मेवारी दिएका छन् । उनीहरू स्वाभाविक रूपले ओलीकै पक्षमा लाग्नेछन् । एमालेको आगामी महाधिवेशन पनि सन्निकट छ । अहिलेको यो समीकरणले महाधिवेशनमा पनि प्रभाव पार्नेछ । केटिएम न्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय