बिहिबार , बैसाख ६, २०८१

काठमाडौँ

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने बताएका छन् ।

नेता नेपालले आफूहरू पार्टी एकताको पक्षमा रहेको र त्यसका लागि लचकता अपनाउन पनि तयार रहेको भन्दै अध्यक्ष ओली पनि त्यसका लागि तयार हुनुपर्ने धारणा राखेका छन् । ‘२०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो,’ उनले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्यकर्ताहरूलाई आग्रह गरेका छन्, ‘यससम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअलमलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान् अभियानमा लागिरहन आह्वान गर्दछौं ।’

एमाले पार्टी आफूहरूले निर्माण गरेको भन्दै नेता नेपालले सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध पार्टी गठन गर्न आफूहरूले चाहेको बताएका छन् । ‘यसका लागि वार्ता र लचकता दुवै अपनाउँछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन,’ उनले भनेका छन्, ‘२०७७ फागुन २८ गते र तत्पश्चात् बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ ।’

वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय गरेका प्रधानमन्त्री ओलीले पार्टीभित्रको झलनाथ खनाल-नेपाल समूहसँग निरन्तर छलफल गरिरहेका छन् ।

नेता नेपालले यसबीचमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् भने उनी पक्षका नेताहरूले ओली पक्षका नेताहरूलाई भेटेका छन् । विष्णु पौडेलले योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायत नेताहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले पनि घनश्याम भुसाल र योगेश भट्टराईसँग छलफल गरेका छन् ।

यसैबीच प्रधानमन्त्री ओली र नेता नेपालबीच छलफल हुने तयारी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । ओलीनिकट नेताहरूका अनुसार शुक्रबार दुवै नेताबीच छलफल हुने तय भएको हो । तर, नेता नेपालको सचिवालयले भने ओलीसँगको भेट तय भइनसकेको जनाएको छ ।  कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय