‘आजभोलि त २–४ सय मात्र हात पर्‍यो भने पनि ठूलै यु’द्ध जितेजस्तो हुन्छ’

काठमाडौं ।

‘ठूला–ठूला रहर केही छैनन् । कमाउँला जमाउँला भन्ने पनि छैन । बस् बिहान बेलुकाको छाक टार्नु छ । जहान परिवार अनि एउटी बूढीआमाको पेट पाल्नु छ । बिहान बेलुकाकै चुलो बाल्नका लागि दुई हातका नङ्ग्रा खियाउँदैछु । थाहा छैन, अब कसरी बाँचिन्छ । अब त रोगले भन्दा पनि भोकले पो मरिन्छ कि भन्ने चिन्ता लाग्न थालेको छ ।’

यो कुनै चलचित्र छायाङ्कन गर्न तयार पारिएको डाइलग होइन । तर, यो कोभिड–१९ को सङ्क्रमण र सन्त्रासकै बीच सरकारले घोषणा गरेको निषेधाज्ञाको चपेटामा सडकमा भौतारिँदै गरेका श्रमजीवी भुइँमान्छेहरुको भोगाइ हो, बिहान बेलुकाको दुई छाक टार्न घामपानी नभनी सहरका गल्लीगल्लीमा रिक्साको पाउदानी खियाउँदै गरेका एक मजदुरको बिलौना हो ।

काभ्रेपलाञ्चोक पाँचखालका विराज तामाङ विगत तीन वर्षदेखि राजधानीमा रिक्सा खियाउँदैछन् । २०७२ सालको महाभूकम्पपछि घरबारविहीन भएका तामाङ ठूलो आशा बोकेर राजधानी छिरेका थिए । २१ वर्षको कलिलो उमेरमा काठमाडौँ छिरेका तामाङका केही आशा र परिवारप्रतिको जिम्मेवारी थिए । तर, नियतिले उनलाई रिक्सा चालक बनाइदियो ।

‘राम्रो काम गरौँला, छोरीलाई राम्रो स्कुलमा हालौँला, श्रीमती र आमाबुबालाई खुशीसाथ राखौँला भन्ने आशाको पोको बोकेर उनी काठमाडौँ छिरेको थिए । तर सोचेजस्तो हुन्न रैछ । नियतिले उनलाई रिक्सा चालक बनाइदियो । अहिले दुःखले रिक्सा चलाउँदैछु । यो काम पनि कोरोनाले चौपट पारेको छ । ग्राहक पाउनै मुस्किल छ, जसले अहिले बिहान बेलुकाको चुलो बाल्नै मुस्किल छ । अब त रोगले भन्दा पनि भोकले पो मार्छ कि भन्ने चिन्ता लाग्न थालेको छ,’ बिराजले दुखेसो पोखे ।

त्यसो त बिराज आजभोलि पनि निषेधाज्ञामा बिहानै रिक्सा डोर्‍याउँदै डेराबाट निस्कन्छन् । ग्राहकको खोजीमा वीर अस्पताल वरिपरि टहलिन्छन् । ग्राहक पाइहाले जसोतसो रिक्सा पेल्दै कलङ्की, बानेश्वर र भक्तपुरसम्म पनि पुग्ने गरेको उनी बताउँछन् ।

‘लकडाउनमा काम नै छैन । बजारमा मान्छे नभएपछि हामीले कसरी टिप पाउनु ? तैपनि अस्पताल छेउमा बसेपछि कहिलेकाहीँ झ्याप्पै टिप लागिहाल्छ । तर, निकै दुःख छ । पाउदानीको भरमा मान्छे बोकेर लामो–लामो बाटो तय गर्नुपर्दा पसिना छुट्छ । केही पाउन केही त गुमाउनैपर्‍यो नि हैन । सकी–नसकी रिक्सा चलाउँछु । कहिलेकाहीँ कलङ्कीदेखि भक्तपुरको सूर्यविनायकसम्म पुगेको छु । अरू त सामान्य ट्रिपहरू यहीँ वरपर बानेश्वरसम्म हुने गरेको छ,’ बिराज बताउँछन् ।

त्यसो त बिराज निषेधाज्ञाअघि ठमेल, इन्द्रचोक, असन, वसन्तपुर क्षेत्र आसपासमा रिक्सा चलाउने गर्थे । कोभिडको त्रासले लकडाउन भएपछि मात्र उनले वीर अस्पताल क्षेत्रमा ट्रिप गर्न थालेका हुन् । लकडाउनले बजार, व्यवसाय सबै बन्द हुँदा ग्राहक पाउनै मुस्किल भएपछि उनी वीर अस्पतालतिर भौँतारिन थालेका हुन् ।

‘निषेधाज्ञापछि ठमेल, इन्द्रचोक, रञ्जना गल्ली, वसन्तपुरतिर टिक्ने अवस्था थिएन । बन्दाबन्दीले सबै व्यापार व्यवसाय र बजार बन्द छन् । त्यसैले यी क्षेत्रमा मान्छेको आउजाउ नै छैन । उता ठमेल त गत वर्षको लकडाउनदेखि नै प्रायः शून्य अवस्थामा छ । पर्यटकको खासै आगमन छैन । यस्तो अवस्थामा हामीले काम कसरी पाउँछाँै र ? पछिल्लो पटकको लकडाउनले त झन् टिक्ने अवस्था नै रहेन,’ तामाङ भन्छन्, ‘अस्पताल एरियामा त कसो मान्छे नपाइला र ? भन्ने लाग्यो अनि वीर अस्पताल वरपर हानिएँ ।’

कोरोनाको डर छैन ? हाम्रो प्रश्नमा बिराज भन्छन्, ‘डराएर के गर्नु ? डरले पेट भरिन्न क्यार । काम त गर्नैपर्‍यो । ठूला–ठूला रहर केही छैनन् । कमाउँला जमाउँला भन्ने पनि छैन । बस् बिहान बेलुकाको छाक टार्नुछ । जहान परिवार अनि एउटी बूढीआमाको पेट पाल्नुछ । बिहान बेलुकाकै चुलो बाल्न दुई हातका नङ्ग्रा खियाउँदै छु । थाहा छैन, अब कसरी बाँचिन्छ । अब त रोगले भन्दा पनि भोकले मरिन्छ कि भन्ने चिन्ता लाग्न थालेको छ । हामीजस्ता भुइँमान्छेको पीडा कसले बुझिदिने ?’

‘घरपरिवारको अनुहार झलझली सम्झन्छु’

‘आजभोलि कामै छैन । पाइहालियो भने पनि त्यही हो, दिनमा एक दुई ट्रिप मात्र । नत्र त उही खाली हात । आजभोलि त २–४ सय मात्र हात प¥यो भने पनि ठूलै युद्ध जितेजस्तो हुन्छ’ बिराज भन्छन्, ‘त्यतिखेर घरपरिवार सम्झन्छु । गाउँमा रहेकी श्रीमती, छोरी अनि बूढीआमाको मुहार झलझली सम्झिन्छु ।’

गाउँमा बिराजकी श्रीमती, एउटी छोरी र बूढी आमा छिन् । बुबा भने गत वर्षको कात्तिकमा स्वर्गवास भएका हुन् । अहिले परिवारको लालनपालनको पूर्ण जिम्मेवारी बिराजकै काँधमा छ । त्यसैले बाध्यतामा उनी सकी–नसकी त्रासकैबीच पनि रिक्सा चलाइरहेका छन् ।

यतिखेर राजधानी पूर्णतः सुनसान छ । कोभिड–१९ को तीव्र सङ्क्रमणका बीच सरकारले रोगबाट बच्न कोभिडको ढाल निषेधाज्ञालाई बनाएको छ । तर, यही निषेधाज्ञाको ढाल यतिखेर बिराजजस्तै गरीब र बेसाहारा श्रमजीवी भुइँमान्छेका लागि ठूलो सङ्कट बन्दैछ । काम गरेर खाने श्रमजीवी वर्गलाई निषेधाज्ञाले सबैभन्दा ठूलो असर पारेको छ । रातोपाटी

२०७८ बैशाख २४, शुक्रबार ०७:५६ गते 0 Minutes 123 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार