बिहिबार , बैसाख ६, २०८१

काठमाडौं।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूलाई भेटेका छन्। निकटका नेताहरूसहित देउवा निवास बुढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीले सरकारलाई समर्थन गर्न आग्रह गरे। एमाले र कांग्रेस नमिलेसम्म प्रतिनिधिसभाले नयाँ सरकार दिन नसक्ने जनाउँदै ओलीले सहकार्यका लागि प्रस्ताव पनि गरे। कांग्रेस नेताहरूले भने ओलीको प्रस्ताव अस्वीकार गरेका छन्। कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरिसकेको छ।

सभापति देउवासहितका नेताहरूले प्रधानमन्त्रीबाट राजीनामा गरेर नयाँ सरकार गठनका लागि बाटो खोल्न ओलीलाई सुझाव दिए। वैशाख २७ गते संसद्मा विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री ओलीले राजीनामा गर्न कांग्रेस नेताहरूले गरेको आग्रहलाई खासै महत्व दिएनन्। बरु उनले लोकतन्त्रका लागि सँगै लडेका दल र नेता भएको भन्दै सहयोग गर्न आग्रह गरे। उनले नयाँ सरकार पनि गठन नहुने र विश्वासको मत पनि नपाउने अवस्थाले संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधान अप्ठेरोमा पर्ने धारणा राखे। संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि निर्वाचनमा जानु नै उपयुक्त विकल्प रहेको दोहो¥याउँदै प्रधानमन्त्री ओलीले स्वच्छ, निष्पक्ष निर्वाचन गराउने प्रतिबद्धता जनाए। उनले चुनावी सरकारमा सहभागी हुन पनि कांग्रेसलाई आग्रह गरेका थिए।

आगामी निर्वाचन कांग्रेसले जित्ने अवस्था रहेको आशायसहितको धारणा राखेका ओलीले भेटमा भनेका थिए, ‘प्रतिपक्षमै बसेर कांग्रेसले चुनाव जित्यो भन्दा तपाईंहरूलाई पनि राम्रो हुन्छ। तर होइन हामी पनि सहभागी हुनुपर्छ भन्ने लागेको छ भने तपाईंहरू पनि सहभागि हुनुहोस्, मिलेर चुनाव सम्पन्न गराऊँ। म त्यसका लागि खुला छु।’

उनले केपी ओली निरंकुश छ, समयमा निर्वाचन गराउँदैन भन्ने जस्ता कुराको पछि नलाग्न आग्रह गरे। आफू लोकतान्त्रिक शासन व्यवस्थाका लागि जेलनेल बसेको भन्दै आशंका नगर्न समेत उनले आग्रह गरे। आगामी मंसिरमा प्रतिनिधिसभाको निर्वाचन गराउने तयारीमा रहेका प्रधानमन्त्री ओलीले मिलेर सत्तासाझेदारी गर्न नसके त्यसअघि नै निर्वाचनमा जान प्रस्ताव गरेका थिए।

‘समयमा निर्वाचन गराउँछु। म त भन्दैछु केही समयअघि नै चुनावमा जाऊँ,’ ओलीलाई उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘सरकारबाहिर बसेर सहयोग गर्ने वा होइन, केके हो भन्ने लागेको छ भने सरकारमा सहभागी बनौं, मिलेर चुनाव गरौं। तपाईंहरूको बहुमत आउँछ। सरकार बनाउनुस्।’ जवाफमा कांग्रेस नेताले प्रधानमन्त्री ओलीको भनाइ र गराइमा फरक रहेको भन्दै विश्वास गर्न नसकिने धारणा राखेका थिए। एमालेसँग मिलेर संविधान निर्माण गरे पनि सरकारमा सहभागी भएपछि त्यसको मर्म र भावनाअनुसार काम नगरेको भन्दै सभापति देउवासहितका नेताले असन्तुष्टि जनाएका थिए।

प्रतिनिधिसभाको सभामुख र उपसभामुख अलग दलको हुनुपर्ने व्यवस्था कार्यान्वयन नगरेर ओलीले संविधानको मूल मर्ममा नै प्रहार गरेको गुनासो पनि उनीहरूले सुनाए। संविधानसभाबाट जारी संविधान र लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने, अपमानित गर्ने र निरन्तर प्रहार गर्ने काम गरेको भन्दै कांग्रेस नेताहरूले लोकतन्त्रका लागि संघर्ष गरे पनि ओलीको व्यवहार लोकतान्त्रिक नभएको तर्क गरेका थिए।

पार्टीभित्रको झगडा समाधान गर्न नसक्दा असंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै कांग्रेस नेताहरूले सर्वोच्च अदालतले विघटन बदर गरेपछि नैतिकताको आधारमा राजीनामा गर्नुपर्नेमा त्यसो पनि नगरेको औंल्याएका थिए। त्यसको साटो सत्तामै बसेर अदालत र संसद्लाई अपमानित गरेको टिप्पणी गर्दै उनीहरूले संवैधानिक अंगहरूलाई प्रधानमन्त्रीले पंगु बनाउने काम गरेको आरोपसमेत लगाए।

प्रधानमन्त्रीले विश्वासको मतका लागि सहयोग मागे पनि आफूहरूले सहयोग गर्न नसकिने बताएको जानकारी भेटपछि कांग्रेस नेता रामचन्द्र पौडेलले दिए। प्रधानमन्त्रीले लोकतान्त्रिक मूल्य र मान्यताका कुरा गरे पनि व्यवहारमा नदेखिएको बताउँदै पौडेलले भने, ‘उहाँको बोली एकातिर व्यवहार अर्कोतिर छ। सत्ता सहकार्य होइन, निष्पक्ष निर्वाचन गराउने कुरामै विश्वास गर्न सकिंदैन भन्यौं।’

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अहिले संविधान र सिस्टम नै अप्ठेरोमा परेकाले कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने प्रस्ताव कांग्रेस नेताहरूसँग राखेको जानकारी दिए। दिउँसो ४ देखि सवा ६ बजेसम्म भएको छलफलमा दुवै पक्षले आआफ्नो धारणा राख्दै वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिएपछि फेरि बसेर छलफल गर्दै अघि बढ्ने समझदारी भएको बताइएको छ।

भेटका लागि देउवासँग समय लिएर बुढानीलकण्ठ पुगेका ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता नेम्वाङ सहभागी थिए। कांग्रेसबाट सभापति देउवा, नेता पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत र नेता कृष्णप्रसाद सिटौला सहभागी थिए। नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय