बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाविरुद्ध अविश्वास प्रस्ताव ल्याउन जोडदार प्रयास भइरहेकोले कुनै न कुनै कदम चाल्नुपर्ने बाध्यात्मक अवस्थामा एक तीर तिन शिकार गर्न खोजेको देखिन्छ । माधवकुमार नेपालको ममाथि विश्वास गर्न मुस्किल भएको र, ह्वीप उल्लङ्घन नगरेसम्म या अर्कै पार्टीमा आवद्धता नजनाएसम्म सांसद पदबाट निष्काशन गर्न पनि नसकिने भएकोले प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेर एक तीर अनेक शिकार गर्न खोज्नुभएको देखिँदैछ ।

एकैपटक अविश्वासको प्रस्ताव सामना गरिँदा नेपाल पक्षका केही सांसदहरूले ‘फ्लोर क्रस’ गर्न सक्ने र परिणाम आइसकेपछिको कारबाहीले परिणाम नबदल्ने हुनाले त्यसअघि नै माधव नेपालहरूको परीक्षा लिन आवश्यक ठानिएको बुझिन्छ । वैशाख २७ गते संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि सबै पार्टीहरूले आफ्ना सांसदहरूलाई ह्वीप जारी गर्नेछन् र स्वभाविक रूपमा एमालेले पनि विश्वासको मतका पक्षमा ह्वीप जारी गर्नेछ ।

माधवसमर्थक सांसदहरूले विश्वासको मत दिए भने जसपाका बहुमत सांसदहरूले केपीको पक्षमा मतदान गर्न सक्ने सम्भावना छ । कदाचित्त माधव पक्षले ह्वीप उल्लङ्घन गरे भने उनीहरूलाई तत्काल पार्टीबाट निष्काशन गरिने निश्चित छ । ह्वीप उल्लङ्घन गरेमा सांसद पदबाट समेत निष्काशित हुनुपर्ने हुन्छ ।

माधव पक्ष केपीका विरुद्ध गए पनि जसपाभित्रको बलियो कित्ताले आफूलाई तटस्थ मात्र राखिदियो भने पनि प्रचण्ड(माधवहरू नयाँ सरकार गठन गर्न समर्थ हुने छैन । जसपाका नेता महन्थ ठाकुर तथा उहाँको पक्ष अगाडिको राजनीति केपीसँग समझदारी बनाएर अघि बढाउने र त्यसमा अड्चन आएमा तटस्थ रहने मानसिकतामा भएको बुझिन्छ । माधव नेपालसहित उहाँका समर्थकहरू कारबाहीमा परेको स्थितिमा जसपाको भूमिका सम्पूर्ण रूपले निर्णायक हुनेछ ।

महन्थ ठाकुर पक्ष मात्र तटस्थ बसिदियो भने पनि नयाँ सरकार गठन हुन नसक्ने स्थिति देखापर्ने छ । त्यस्तो अवस्थामा ठूलो दलको नेताको हैसियतमा केपी ओली पुनः प्रधानमन्त्री नियुक्त हुन सक्नुहुन्छ । त्यसपछि तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ र, विश्वासको मत हासिल नभएमा पुनः संसद् विघटन गरिने निश्चितता रहन्छ ।

यतिबेला केपी ओली सरकारको रक्षा गर्न केही नयाँ कदम चाल्दै हुनुहुन्छ र, त्यसको पहिलो पाइला वैशाख २७ को विश्वासको मत हो । माधव पक्षले केपीलाई साथ दिएमा सरकारलाई विश्वासको मत प्राप्त हुने निश्चितप्रायः छ । माधव नेपालले ह्विप उल्लङ्घन नगरेमा वा मतदानअगाावै सामूहिक राजीनामा नदिएमा महन्थ ठाकुर पक्षको मत थपिए सरकारलाई विश्वासको मत मिल्ने हुन सक्छ । त्यस्तो स्थितिमा संसद् विघटन नगरिकन डेढ वर्षसम्म ९२०७९ मङ्सिर० सरकारलाई निरन्तरता दिन पाउने विकल्प प्रधानमन्त्रीसँग सूरक्षित रहनेछ ।

तर जसपा एकजुट भएर सरकारविरुद्ध उभियो भने त्यस्तो अवस्थामा प्रधानमन्त्री पदबाट केपी ओलीको बहिर्गमन र शेरबहादुर देउवाको नेतृत्वमा नयाँ गठबन्धन सरकार बन्ने निश्चित हुन्छ । केपीकै नेतृत्वको सरकारमा सामेल हुँदा महन्थ ठाकुर पक्ष बलियो हुने जति सम्भावना छ देउवा नेतृत्वको सरकार गठन हुने अवस्थामा उपेन्द्र यादव पक्षको भूमिका बढ्ने स्थिति छ ।

जे होस्, अहिले केपीको चाहनाबमोजिम राजनीति अघि बढ्ने या नबढ्ने भन्ने कुरामा जसपाको निर्णयमा निर्भर छ र, जसपामा पनि महन्थ ठाकुर पक्षको भूमिका विशेष रहनेछ । त्यसैले अहिले प्रचण्ड र देउवाहरू जसपाको कार्यकारिणी समिति तथा संसदीय दलमा उपेन्द्र यादवको पक्षमा बहुमत जुटाइदिन लागिपरेका छन् । प्रधानमन्त्री ओलीले जोखिमको खेल शुरु गरिसक्नुभएको छ । दुवै पक्षका निमित जीवनमरणको विषय बनेको यो खेलमा को विजयी बन्ने हुन्, सो को जानकारी पाउन बढीमा दुई साता पर्खनुपर्ने भएको छ । दैनिक न्यूज नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय