शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले देशका अधिकांश भागमा जारी गरेको निषेधाज्ञामा सेवा दिइरहेका पेट्रोलपम्पमा कार्यरत मजदुरलाई (सवारीसाधनमा तेल भर्ने तथा पैसा लिने कर्मचारीहरू) कोभिड संक्रमण बढ्दै गएको छ ।

पेट्रोल पम्प सञ्चालकले पर्याप्त सुरक्षा सावधानी नअपनाई सेवा दिएको तथा सरकारले समेत खोप लगाउन प्राथमिकतामा नराखेको कारण आगामी दिनमा पम्पका मजदुर संक्रमण हुने दर झन् बढ्ने देखिएको छ । अखिल नेपाल पेट्रोलियम मजदुर संघका अध्यक्ष शिव पोख्रेलका अनुसार काठमाडौं उपत्यकामा मात्रै हाल ६ वटा पम्पमा कार्यरत १६ मजदुर कोरोना संक्रमण भई घरमै बसेका छन् । पम्पमा सकेसम्म सुरक्षाका सबै सावधानी अपनाएर सेवा दिइरहेका छौँ, तर यतिले मात्र संक्रमण रोक्न सकिँदैन,’ घिमिरेले भने, ‘मजदुरहरूलाई खोप लगाउन सरकारी निकायले अग्रसरता देखाए सेवा सञ्चालन गर्न हामीलाई धेरै सजिलो हुने थियो ।’

पेट्रोल पम्पमा कार्यरत मजदुरलाई खोप लगाउन पम्प व्यवसायीको छाता संगठन पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले ६ महिनादेखि पहल गर्दै आएको जनाएको छ । एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पम्पमा धेरै उपभोक्ता सेवा लिन जाने हुँदा कर्मचारी र मजदुर संक्रमणको उच्च जोखिममा रहेको बताए । ‘हाम्रा कर्मचारी र मजदुर त असुरक्षित हुने नै भए । उपभोक्ताहरूलाई समेत पम्पका मजदुरबाट कोरोनाको संक्रमण हुन सक्ने सम्भावना पनि उत्तिकै प्रबल हुन्छ,’ प्रधानले भने, ‘त्यसैले पम्पमा कार्यरत मजदुरलाई कोरोना भाइरसविरुद्धको खोप लगाइदिन हामीले ६ महिनादेखि पहल गर्दै आएका छौँ, तर सरकारले सुनेको छैन ।’

पछिल्लो समय पेट्रोल पम्पका मजदुरलाई कोरोनाविरुद्धको खोप लगाउन आयल निगमले समेत पहल थालेको छ । निगमले १२ वैशाखमा पेट्रोलियम व्यवसायीलाई पत्र पठाएर कति संख्यामा मजदुर रहेका छन्, त्यसको जानकारी दिन पत्राचार गरेको थियो । त्यसपछि एसोसिएसनले देशभरका पम्प व्यवसायीबाट तथ्यांक संकलन गरेको अध्यक्ष प्रधानले बताए ।

‘हामीले संकलन गरेको तथ्यांकअनुसार एक हजार चार सय ५२ पेट्रोल पम्पका सञ्चालक, कर्मचारी तथा मजदुर गरी कुल १० हजार तीन सय ४६ कार्यरत रहेको देखिन्छ । यति संख्यामा खोप उपलब्ध भए सबैलाई एक चरण लगाएर ढुक्क हुन सक्ने स्थिति बन्ने थियो,’ प्रधानले भने । उनका अनुसार प्रदेश १ मा दुई सय ४१ पम्पका लागि एक हजार सात सय ६३, प्रदेश २ मा दुई सय ७८ पम्पका लागि एक हजार नौ सय १३, बागमती प्रदेशमा तीन सय ८२ पम्पका लागि दुई हजार नौ सय ९८, गण्डकी प्रदेशमा ६८ पम्पका लागि चार सय ४०, लुम्बिनी प्रदेशमा चार सय दुई पम्पका लागि दुई हजार ६ सय ३४ र सुदूरपश्चिम प्रदेशकामा ८१ पम्पका लागि पाँच सय ९८ लाई खोप आवश्यक पर्ने विवरण एसोसिएसनले निगमलाई उपलब्ध गराएको छ ।

सरकारले पेट्रोलियम क्षेत्रका मजदुर र कर्मचारीलाई खोप लगाउन बेवास्ता गरे सेवा सञ्चालन गर्न आगामी दिनमा धेरै कठिनाइ हुने उनले बताए । ‘हामी अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले पम्प सञ्चालन गरेर सरकारलाई सहयोग गर्न तयार छौँ । तर, पम्पबाट संक्रमण फैलन नदिन र हाम्रा कर्मचारी र मजदुरलाई समेत खोप लगाएर निर्धक्क काम गर्ने वातावरण बनाइदिन सरकारले पनि पहल गर्नुपर्छ,’ उनले भने । देशभर संक्रमणको दर बढ्दै गर्दा पछिल्ला दिनमा पेट्रोल पम्पका मजदुरहरू काममा आउन डराउन थालेकोसमेत उनले गुनासो गरे ।

नयाँ पत्रिका

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय