सोमबार , अषोज ४, २०७८

काठमाडौं ।

कोरोनाको जिम्मा काठमाडौंका पशुपतिनाथ र ठोरीका रामचन्द्रलाई संयुक्त रूपमा दिइएको छ । राजनेताको परिचय भने अर्कै हुन्छ, उसले चुनाव हेर्दैन ।

मुलुकमा यस समय कहालीलाग्दो अवस्था छ । कोरोना महामारी नियन्त्रणमा छैन । आगामी महिनामा पनि महामारीको प्रकोप साम्य हुने छाँट देखिँदैन । राज्य र सरकारका जिम्मेवार ओहदामा आसिन महानुभावलाई आमजनताले दोष दिइरहेका छन् । मुख्य प्रतिपक्षसँगै नेकपा (एमाले) भित्र र बाहिरका अन्य विरोधीले पनि प्रधानमन्त्री ओलीलाई तारो बनाएका छन् । हाजिरीजवाफमा ओलीसँग पनि ओठेजवाफ छ । उनले भारतको दुरावस्था औँल्याउन सक्छन् । उनले यसै पनि वेलैमा भारतीय भाइरस चिनियाँ भारइरसभन्दा खतरनाक छ है भनेर चेताएका थिए । अनि उनको के दोष ?

आमजनता यसै पनि अहिले कोरोनाबाहेक अरूथोक सोच्ने, सम्झने, बुझ्ने मनस्थितिमा छैनन् । यस्तोमा ओली विस्थापित हुन्, हटाउनै नपरोस्, उनमा सद्बुद्धि आओस् । नैतिकताको एउटा नयाँ प्रतिमान देखाउँदै उनले मुलुकको हितका लागि बाटो छोडून् ।

यसबीच प्रधानमन्त्री ओलीले यही २७ वैशाखमा संसद्को आह्वान गर्नुभएको छ । दुई–चार दिनभित्रमै संसद्को बजेट अधिवेशन हुनैपर्ने थियो । त्यो हुँदाहुँदै अहिले विश्वासको मत लिने निहुँमा प्रधानमन्त्रीले के गर्न खोज्नुभएको ? प्रधानमन्त्री नेपाली उखानटुक्कामा पोख्त हुनुहुन्छ । राजनीतिमा ‘जसले हान्यो, त्यसले जान्यो’ भन्ने उहिल्यै चलेको हो । सामूहिक भाषामा सत्ताका खेलाडीले आक्रामक हुनुपर्छ, पहिलो चाल आफैँ चाल्नुपर्छ । नेता हुँ भन्नेले तत्काल तात्ने, अग्रसरता देखाउने, राजनीतिक पहल गरिहाल्ने खुबी देखाउनुपर्छ । यसो गर्दा विरोधी प्रतिरक्षात्मक अवस्थामा त्यसै पुग्छन्, किंकर्तव्यविमूढ हुन्छन् । सर्वोच्च अदालतले संसद्को पुनः स्थापना गरेर ओलीलाई ठूलो धक्का दिएको थियो । विरोधी पक्षका निमित्त विशेष गरेर माधव–प्रचण्डका निमित्त यो एउटा मौका थियो, उनीहरू चुके । सर्वोच्च अदालतले नै पछि नेकपा माओवादीलाई अलग्गै पार्टीको दर्जा दियो । त्यसमा पनि प्रचण्डले तत्काल ओलीसँग छुट्टिनुपर्थ्यो । बनियाको जस्तो हिसाबकिताब गरेर राजनीति चल्दैन । चक्रव्यूह तोड्न हिँडेको अभिमन्युले जितहार पनि हेर्दैनन् । प्रचण्डको एउटै रट थियो– काँग्रेस तात्नु पर्‍यो नि ! ताप्के तात्ने कि बिँड तात्ने अन्योल चलिरह्यो । प्रचण्डले मात्र अघि सरेर एक थोक गरेको भए त्यस समय विद्यमान लोकमतले सभापति देउवाका र अरू खेलाडीलाई पनि ठाउँमा पुर्‍याउँथ्यो ।

यताका वर्षमा जति छेलो छ, ओलीले नै हानेका छन् । नक्सा–अस्त्र, संसद् विघटन, नागरिकता विधेयक, राष्ट्रपतिका कृपाले समय–असमयका अध्यादेशका ताँती, पशुपतिमा स्वर्ण–जलहरी, अयोध्या अध्यायदेखि लिएर अहिलेको विश्वासको मतसमेतले प्रत्येक पल्ट प्रचण्ड–माधवलाई किंर्कतव्य बनाएको छ । रह्यो कांग्रेस सभापतिको कुरा, धेरै कमलाई थाहा छ, लन्डनप्रवासका दर्मियान देउवाजी सेक्सपियरको नाटक धेरै हेर्नुहुन्थ्यो । त्यस्ता नाटकमध्ये ह्यामलेट उहाँलाई प्रिय थियो । एउटा व्यक्तिगत मित्रका हिसाबले म यो जानकारी दिँदै छु । प्रचण्ड, ओली र माधवले यो कुरो थाहा नपाउनु स्वाभाविक हो ।

३ फागुन ०७४ का दिन ओलीले प्रधानमन्त्रीको शपथग्रहण लिनुभयो । चुनावी भाषणका दर्मियान जनतालाई फकाउँदा प्रत्येक नेताले, ‘त्यो तारा मात्र होइन, जून पनि झारिदिउँला’ भन्ने गीत गाउँछन् । त्यो नयाँ कुरा भएन । तर, प्रधानमन्त्री भएपछि पनि ओलीले उड्ने रेल र गुड्ने हवाईजहाजको आश्वासन दिए । भक्तगणले जयजयकार गरे । आमजनता रमाए । यसै पनि ओलीको उखानटुक्काले विरोधीलाई पनि रमाइलो बनाउँछ, बनाएकै छ ।

प्रधानमन्त्री ओलीले विकासको स्वर्णिम सपना देख्नुभयो । कांग्रेस र माओवादीसँग वैकल्पिक भाष्य थिएन । अर्को काल्पनिकी भएन । उनीहरू आफू सत्तामा पुगे झन् सक्कली, असली हवाईजहाज ल्याउने भए । आम सीमान्तकृत जनतालाई लक्ष्यमा राखेर हामी बेग्लै गर्छौं भन्ने सोच कसैले देखाएन । यसो हुनुको कारण खोज्न टाढा जानु पर्नेछैन ।

विकासका नाउँमा विश्वका उपर एकोहोरो रूपमा लादिएको एउटा खास मोडेलबाट नेपालका कुनै नेता पनि मुक्त छैनन् । सबै नेताहरूको कथनी र करणीको केन्द्रमा लोकरञ्जन निहित छ । उपभोक्तावादले लठ्ठिएका प्रजालाई झन्–झन् लोभिने नारा दिनमा हामी सबै अझै व्यस्त छौँ । यस्तै नाममा एक नम्बर भएर उभिनुभएका प्रधानमन्त्री ओलीले अरू थोक नै गर्नुहुन्छ भनेर सोच्नु व्यर्थ आशा गर्नु थियो ।

विकासका नाउँमा विश्वका उपर एकोहोरो रूपमा लादिएको एउटा खास मोडेलबाट नेपालका कुनै नेता पनि मुक्त छैनन् । सबै नेताहरूको कथनी र करणीको केन्द्रमा लोकरञ्जन निहित छ । उपभोक्तावादले लठ्ठिएका प्रजालाई झन्–झन् लोभिने नारा दिनमा हामी सबै अझै व्यस्त    छौँ ।

२१औँ शताब्दीको विश्वमा कुनै पनि प्रमुख कार्यकारीले सरलता, स्वच्छता, सादगी र सुशासनबाहेक थप केही गर्छु भन्छन् भने त्यसलाई शंकाको घेरामा राख्नैपर्छ । ओलीले त्यसतर्फ कुनै ध्यान दिनुभएन । कञ्चनपुरकी निर्मला पन्तदेखि मेचीको भ्युटावरसम्म आजका ओलीको पहिचान हो । तर, उनकै डाँको ठूलो छ । पहिलो चोट उनैले हानेका छन् । हाम्रा त प्रतिक्रिया मात्र भएका छन् ।

प्रधानमन्त्री ओलीका कुकृत्य–काण्ड राजनीतिक र प्रशासनिक क्षेत्रमा मात्र सीमित छैनन् । अन्य प्रधानमन्त्रीले पनि त्यस्तै गरेका उदाहरण छन् । मुख्य कुरो उहाँले नेपाली राजनीतिबाट नैतिकतालाई निर्वासित गर्नुभएको छ । परिणामतः भ्रष्टाचार, हिंसा, बलात्कारले संरक्षण पाएका छन् । सर्वोच्च अदालतले उहाँले भंग गरेको संसद्लाई पुनः स्थापना गर्‍यो । त्यस परिघटनापछि उहाँलाई एक क्षण पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार थिएन । अहिले आएर ओली पुनर्जीवित संसद्लाई सिध्याउन खोज्दै हुनुहुन्छ । संविधानले निर्दिष्ट गरेका संवैधानिक निकाय अझै बामे सर्दै छन् । संसद्को अकाल मृत्युले संविधानलाई खलबल्याउने खतरा छ । यस्तो भएमा प्रत्येक नागरिक अगाडि आउनुपर्छ ।

महाभारतको द्यूत पर्वमा शकुनीले पाण्डवलाई दुईपटक हराए । पहिलोपल्ट शकुनीले द्रौपदीलगायत यावत् पाण्डवलाई कमारा बनाए र द्रौपदीको धिक्कार र चीत्कारले सिंगो सभा तर्सियो । धृतराष्ट हत्तपत्त अघि सरे । पहिलो खेल बदर भयो । युधिष्ठिरलगायत आफ्ना हरुवा पतिलाई लिएर द्रौपदी इन्द्रप्रस्थतिर लागिन् । दुर्योधन–शकुनीले धृटराष्टलाई गुहारे । धृतराष्टको अनुरोधमा पाण्डवहरू दोस्रोपटक जुवा खेल्न बसे । महालोभी युधिष्ठिरले पासा समाते । यसपल्ट भने वनवास र गुप्तवासको बाजी थियो । युधिष्ठिर हारे । बाँकी कथा सर्वविदितै छ । नेपालमा पनि अहिले यस्तै जुवाको पुनरावृत्ति भइरहेको त छैन ?

महाभारत–रामायण दुवैमा आमजनतालाई राजनीतिमा चासो छैन । तुल्सीदासले मन्थराको मुखबाट भनाएका छन्– ‘कोउ नृप होइ हमैं तौ हानी’ नेपाली जनता यसै मनस्थितिमा त होइनन् ? होइन भने नेपाली राजनीति अस्थिरताको अर्को भुंग्रोमा धकेलिँदै छ ।

आमजनता यसै पनि अहिले कोरोनाबाहेक अरूथोक सोच्ने, सम्झने, बुझ्ने, बुझाउने मनस्थितिमा छैनन् । प्रधानमन्त्री ओलीलाई हटाएर आफू प्रधानमन्त्री बनेको खण्डमा चमत्कार गर्नेछु भन्ने धेरैलाई लागेको हुन सक्छ । पूर्वप्रधानमन्त्रीहरूलाई यस्तो लाग्नु त सर्वथा स्वाभाविक हो । तर, मुख्य कुरो कोरोना विभीषिकाका बीचमा जोसुकै प्रधानमन्त्री भए पनि के चमत्कार गर्लान् र ? कस्तो नीति र कार्यक्रम आउँला ? भानुभक्तकालीन डिट्ठा–विचारी यथावत् छन् । कोरोनाका रोगीहरू अक्सिजनको अभावमा मर्दै जाँदा ‘भोलि–भोलि भन्दैमा’ भन्ने कविता सार्थक छ । ओली विस्थापित हुन्, हटाउनै नपरोस्, उनमा सद्बुद्धि आओस् । नैतिकताको एउटा नयाँ प्रतिमान देखाउँदै उनले मुलुकको हितका लागि बाटो छोडून् । तर, योभन्दा पनि ठूलो कुरो अर्को छ ।

प्रधानमन्त्री ओली आफ्नै नेतृत्वमा छिटोभन्दा छिटो चुनाव चाहनुहुन्छ । त्यसमा आफ्नो जित सुनिश्चित देख्नुहुन्छ । त्यस विजयमा निहितार्थ दुष्परिणामसँग उहाँलाई चासो छैन । सभापति देउवा कम्युनिस्टहरू फुटेको समयमा चुनाव भएमा पाँचौँपटक प्रधानमन्त्री हुनेमा विश्वस्त हुनुहुन्छ । अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्रीद्वय छिटो चुनाव होस् भन्ने चाहनुहुन्न । तर, सबै छिटो चुनाव होस् भन्ने चाहन्छन् । चुनाव चुनाव चुनाव । पूर्वप्रधानमन्त्रीहरू पनि चुनावकै वरिपरि घुमिरहनुभएको छ । कोरोनाको जिम्मा काठमाडौंको पशुपतिनाथ र ठोरीको रामचन्द्रलाई संयुक्त रूपमा दिइएको छ । भनिन्छ, राजनीतिज्ञहरूले आगामी चुनावबाहेक केही देख्दैनन् । त्यस कसीमा आजका हाम्रा राजनीतिज्ञ खरा उत्रिन्छन् । राजनेताको परिचय भने अर्कै हुन्छ । उसले चुनाव हेर्दैन । उसको दृष्टिपथमा भावी पुस्ता हुन्छ । त्यस पुस्ताको आशा र आकांक्षाले उसलाई राजनीतिमा चलायमान राख्छ ।

नयाँ पत्रिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय