मंगलबार , बैसाख ४, २०८१

काठमाडौं, २३ वैशाख ।

जनता समाजवादी पार्टी एकतावद्ध भएर अब हुने संघीय, प्रदेश र स्थानीय निकायको चुनावमा जाने हो भने उसको स्थान अहिलेभन्दा पनि बलियो हुने निश्चितप्रायः छ । तर, त्यस अगावै जसपा फुटको नजिक पुगेको छ ।

जसपाको स्थापना नै फुटबाट बच्नका लागि आकस्मिक रुपमा भएको हो । तत्कालीन समाजवादी पार्टी नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीले रणनीतिक उद्देश्यका साथ ल्याएको दल विभाजन सजिलो बनाउने अध्यादेशले फुटको नजिक पुगेको थियो । सांसद डा. सुरेन्द्र यादवसँग जोडिएको अपहरण भनिएको घटनाले राष्ट्रिय राजनीतिमा समेत तरंग ल्याएको थियो । उक्त घटनामा समाजवादी पार्टीलाई फुट्न नदिन तत्कालीन राष्ट्रिय जनता पार्टीसँग रातारात एकता गरिएको थियो ।

ओलीका कारण समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी जुटेर जनता समाजवादी पार्टी बनेको थियो । तर, अहिले ओली सरकारलाई नै साथ दिने कि नदिने भन्ने विषयमा जसपा विभाजनको संघारमा छ ।जसपाभित्र अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ओलीलाई साथ दिने पक्षमा छन् । उनीहरुले १८ भन्दा बढी सांसद रहेको दाबी गरेका छन् ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई ओलीविरोधी समिकरण बनाउन सक्रिय छन् । उनीहरु जतिसक्दो ओलीलाई सरकारबाट बिदा गर्नुपर्नेमा जोड दिदै आएका छन् । उपेन्द्र-बाबुराम पक्षले पनि आफूसँग १८ सांसद रहेको दाबी गर्दै आएको छ । जसपाभित्र कुल ३२ सांसद मतदानका लागि योग्य छन् । २ सांसद निलम्बनमा परेका छन् ।

जसपा सांसदहरु अविश्वासको प्रस्तावको पक्ष-विपक्षमा विभाजित (को कुन पक्षमा सुचीसहित)  जसपाको कार्यकारिणीमा उपेन्द्र-बाबुराम पक्षको बहुमत देखिन्छ । तर, यो बहुमत केही संख्या बढीले मात्र हो ।

राजनीतिक घटनाक्रमले जसपाभित्र कुन पक्षको पल्लाभारी हुने हो यसै भन्न सकिदैन । जसपाका केही सांसदहरुले गुट स्पष्ट पारेका छैनन् । विशेषगरी प्रत्यक्ष निर्वाचित सांसदहरुको दाबी बलियो रहेको छ । उनीहरु मन्त्री बन्ने चाहना बढी देखाउन थालेका छन् ।

फुटको संघारमा पुगेको जसपाको कार्यकारिणीमा को कता (सूचीसहित)

प्रधानमन्त्री ओली २७ वैशाखमा विश्वासको मत लिन जाँदैछन् । विश्वासको मत लिने बखत या त्यसपछि संसदको अंकगणितले निकै अर्थ राखेको छ । उनी भरसक जसपाको साथ लिएर बहुमत सिद्ध गर्न लागेका छन् । नभए आफूविरोधी दल र पक्षको बहुमतको समिकरण बन्न नदिने पक्षमा छन् । त्यसका लागि उनले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने संकेतहरु पनि देखिएको छ ।

जसपामा तेस्रो गुट सक्रिय, महन्थ र उपेन्द्र दुवैमाथि चुनौती

जसपाको उपेन्द्र बाबुराम पक्ष बलियो भएमा उनले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर भएपनि महन्थ समूहलाई पार्टी विभाजनका लागि सजिलो बनाउने रणनीति बनाउन खोजेका छन् । त्यस्तो अवस्थामा ओलीइतरको समूहलाई बहुमत सिद्ध गर्न कठिन पर्न सक्छ । ओली फेरि प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतले प्रधानमन्त्री बन्ने संविधानको धारा ७६ को उपधारा ३ मा टेक्ने आधार बलियो बनाउन खोजिरहेका छन् ।

आफ्नै नेतृत्वको सरकारबाट आगामी निर्वाचन गर्ने ओलीको रणनीति सफल हुँदा जसपा विभाजित हुनसक्छ । त्यो असफल हुने हो भने जसपा एकता कायमै रहन्छ । जसपा एक भएर आगामी चुनावमा जाने हो भने तराई र जनजाति बाहुल्य क्षेत्रमा उसले उल्लेख्य सफलता हासिल गर्न सक्छ ।

अवस्था यस्तो भइदियो कि ओलीका कारण जुटेको जसपा ओलीकै कारण फुट्न पनि सक्छ । यो फुटबाट जोगाउन सजिलो भने छैन । यति फुटको खड्को टार्ने हो भने जसपा गैरकम्युनिस्ट शक्तिमा बलियो बनेर आउने निश्चितप्रायः छ ।

रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय