बुधबार , बैसाख १२, २०८१

काठमाडौं, २३ बैशाख ।

नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव कुमार नेपालसँग एकपटक निर्णायक वार्ता गर्ने भएका छन् । यही बैशाख २७ गते विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीले पार्टी एकता कायम राख्नको लागि अधिकतम प्रयास राखेको बताउँदै आएका छन् । तर, नेपाल पक्षले पार्टी एकता कायम राख्नको लागि २०७५ जेठ २ गते फर्किनुपर्ने बटमलाईन राखेको छ । यसअघि दुई नेताबीच यही बैशाख ९ र १० गते काठमाडौंको होटेल म्यारियटमा भेटवार्ता भएको थियो ।

उक्त भेटवार्तामा दुवै नेता आ–आफ्नो अडानबाट टसमस नभएपछि वार्ता निश्कर्ष सम्पन्न भएको थियो । तर, यो बीचमा पार्टी एकता कायम गर्नुपर्ने पक्षमा रहेका दुवै पक्षका दोस्रो तहका नेताहरुले भने निरन्तर सम्वाद जारी राखेका छन् । ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराई सक्रिय छन् भने नेपाल पक्षबाट योगेश भट्टराई र घनश्याम भुषाल छन् । एमालेको एकता जोगाउनको लागि दुवै नेताले आफ्नो अडान छोड्नुपर्ने उनीहरुको सुझाव छ । तर, दोस्रो तहका नेताहरुको सुझावलाई ओली र नेता नेपाल दुवैले ठोस रुपमा ग्रहण गरेका छैनन् ।

अब प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने घोषणा गरेसँगै नेपाल पक्षसँग वारपार गर्न खोजेको धेरै बुझेका छन् । तर, आज बसेको एमाले स्थायी कमिटी बैठकमा समेत अध्यक्ष ओलीले माधव नेपालसहित यसअघि कारबाही गरेका नेताहरुलाई फुकुवा गर्नेबारे छलफल थालेका छन् । म्यारियट होटेलमा भएको नेत नेपालसँगको एक्लाएक्लै भेटवार्तामा समेत ओलीले कारबाही फुकुवा गरिदिने वचन दिएका थिए ।

तर, नेता नेपालले कारबाही फुकुवा भन्दापनि पार्टीलाई २०७५ जेठ २ गते फर्किनुपर्ने अडान राखेका थिए । त्यसैले कुरा मिलेको थिएन । विश्वस्त सूत्रकाअनुसार ओलीले भोलि नै नेता नेपालसँग वार्ता गर्ने तयारी गरेका छन् । ओलीनिकट नेता महेश बस्नेत पनि दुई नेताबीच सहमति हुने र पार्टी एक ढिक्का भएर जाने दाबी गर्छन् । उनले पत्रकार ऋषि धमलसँगको कुराकानीमा भनेका छन्–‘म दाबीका साथ भन्छु, अध्यक्ष कमरेड र माधव कमरेडबीच सहमति हुन्छ । आज÷भोलि नै उहाँहरुबीच वार्ता हुन्छ ।’

यता, नेता नेपाल पक्षधरले भने ओली पार्टी एकता गर्नेगरि सहमतिमा नआए संयुक्त राजीनामा दिने चेतावनीयुक्त सन्देश बालुवाटारलाई पठाईसकेको छ । माधव नेपाल पक्षधर कम्तिमा पनि २० जना सांसदले बैशाख २७ गते अघि नै संयुक्त राजीनामा दिए ओलीलाई अप्ठ्यारो पर्ने आँकलन गरिएको छ । नेपाल पक्षलाई राजीनामा दिनबाट रोक्नको लागि पनि ओलीले नै बढि प्रयत्न गर्नुपर्ने नेपाल पक्षधर नेताहरुको भनाई छ ।

हिजोमात्रै ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँग भेटेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । यो विषयमा पनि पार्टी ओलीको आलोचना भैरहेको छ । आफ्नो घरमा भएको झगडा मिलाउन छोडेर ओली विपक्षीको घरदैलोमा धाउनु गलत भएको र कम्युनिष्ट पार्टीको लागि पनि शोभनीय नभएको एमाले नेताहरुले नै टिप्पणी गरेका छन् । रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय