शुक्रबार , बैसाख ७, २०८१

काठमाडौँ

दोस्रो लहरको कोरोना संक्रमण तीव्र बन्न नदिन सरकारले वैशाख १६ देखि निषेधाज्ञा गरेपछि केही दिन हरियो तरकारी तथा मासुको मूल्य छोइनसक्नु थियो । पर्याप्त आयात हुँदासमेत तरकारीको भाउ अकासिएको थियो ।

काठमाडौं उपत्यकाबाट धेरै मान्छे आआफ्नो जिल्ला गएपछि यहाँ खपत घट्दा पछिल्लो समय तरकारीको मूल्यमा गिरावट आएको छ । आयात परिमाण पनि घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ ।

तरकारीको भाउ निरन्तर घट्ने क्रममा रहेको समितिको भनाइ छ । ‘सुरुका दिनमा ९ सयदेखि साढे ९ सय टनसम्म तरकारी कालीमाटीमा भित्रिएको थियो । अहिले क्रमशः घट्दै गएर मंगलबार साढे ६ सय र बुधबार करिब ५ सय टन भित्रिएको छ,’ समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने, ‘आयातको परिमाण घट्दा पनि मूल्य बढेको छैन । घटिरहेको नै छ ।’

दुई साताअघि तने बोडी होलसेलमै प्रतिकिलो १३५ रुपैयाँ थियो । बुधबार घटेर प्रतिकिलो ३७ रुपैयाँमा झरेको समितिको तथ्यांक छ । मटरकोसा प्रतिकिलो १५५ बाट घटेर ९५ रुपैयाँ भएको छ । घिउ सिमीको मूल्य पनि १३० बाट २८ रुपैयाँ भएको समितिले जनाएको छ । तीते करेला किलोको ८७ बाट घटेर १८ रुपैयाँ, हरियो फर्सी ५५ बाट घटेर २८ रुपैयाँ भएको छ । ‘मुख्यतः खपतको अवस्था कमजोर देखियो । निषेधाज्ञाका कारण होटल, रेस्टुरेन्ट बन्द छन् । लाखौं सर्वसाधारणले उपत्यका छाडेका छन्,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘केहीले निषेधाज्ञाअघि नै नबिग्रने तरकारी ठूलो परिमाणमा सञ्चय गरे, जसले गर्दा अहिले भाउ घटिरहेको छ ।’ यसबाहेक अहिले तरकारी उत्पादन हुने सिजन पनि हो । किसानको बारीमा सिमी, बोडी, लौका, भिन्डी, गोलभेंडालगायत तरकारी पर्याप्त छन् । यसैले पनि मूल्य घटिरहेको समितिले जनाएको छ ।

समितिका अनुसार दुई साताअघि भिन्डीको मूल्य होलसेलमा प्रतिकिलो ८७ रुपैयाँ थियो । बुधबार प्रतिकिलो ३७ रुपैयाँ थियो । ८७ पर्ने ब्रोकाउली घटेर ५५ रुपैयाँ, ६५ पर्ने घिरौंला २८ रुपैयाँ, ७७ पर्ने हरियो खुर्सानी ५५ रुपैयाँ भएको छ । होलसेलमा ७५ पर्ने गाँजर घटेर ५५ रुपैयाँ, ३३ को बन्दा घटेर २७ रुपैयाँ र ५५ पर्ने स्थानीय काउलीको मूल्य ४५ रुपैयाँ भएको समितिले बताएको छ ।

उपत्यकामा तरकारी खपत नहुँदा स्वदेशी किसानलाई भने मर्का परिरहेको छ । केही किसानले नोक्सानी बेहोरेरै सस्तोमै बिक्री गरिरहेका छन् । ‘ठूलो बजार भएर कालीमाटीमै ल्याउने चलन हो । यहाँ खपत नहुँदा किसानलाई समस्या भयो । कतिपय किसानको तरकारी बारीमै बिग्रने अवस्था देखियो,’ श्रेष्ठले भने ।

यद्यपि होलसेलसरह खुद्रामा भने घटिसकेको छैन । खुद्रा पसलपिच्छे मूल्य फरक पाइन्छ । समितिका अनुसार अहिले भारतबाट पनि तरकारी आयात भइरहेको छ । भारतबाट मुख्यतः प्याज, आलु, कागती, फलफूललगायत आयात भएको जनाइएको छ ।

भारतबाट आयात भएको प्याजको मूल्य भने बढेको छ । दुई साताअघि प्रतिकिलो ३६ पर्ने सुकेको प्याज अहिले बढेर ३९ रुपैयाँ पुगेको छ । रातो आलु पनि ३३ बाट बढेर ३९ रुपैयाँ पुगेको छ । ‘स्वदेशी उत्पादनसँगै भारतबाट पनि तरकारी आइरहेको छ,’ समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले भने, ‘स्वदेशमा पनि तरकारी उत्पादन बढेको छ । कोरोनाले तरकारी बिक्री हुन नसकेको गुनासो बढ्दो छ ।’ कालीमाटीमा काभ्रे, पाँचखाल, धादिङ, मकवानपुर, चितवन, तनहुँलगायत जिल्लाबाट तरकारी आयात भइरहेको छ ।

यसैबीच ब्रोइलर कुखुराको मासुको मूल्य दुई सातामा एक सय रुपैयाँ घटेको छ । कुखुराको खपत ८० प्रतिशत घटेकाले मूल्य निरन्तर ओरालो लागेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीले बताए । ‘दुई साताअघि संघले प्रतिकिलो ४ सय ५० रुपैयाँ मूल्य तोकेको थियो । बुधबारको दर ३ सय ५० रुपैयाँ छ,’ उनले भने, ‘निषेधाज्ञाले होटल व्यवसाय बन्द भए । जसले गर्दा बजार पनि बिथोलियो ।’ कान्तिपुर दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय