शनिबार , बैसाख ८, २०८१

काठमाण्डौ

काठमाण्डौ उपत्यकामा तरकारीको भाउ घटेको छ । उत्पादन बढ्नुको साथै निषेधाज्ञाको कारण माग पनि घट्दा तरकारीको भाउ घटेको हो ।सबैजसो तरकारीको भाउ घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार धेरैजसो तरकारीको भाउ पाँचदेखि १० प्रतिशतसम्म घटेको छ भने केही तरकारीको भाउ निकै घटेको छ । १५ दिनअघि किलोको ८० देखि एक सय २० रुपैयाँसम्म रहेको सिमीको भाउ अहिले सिमीको प्रकार अनुसार २५ देखि ७० रुपैयाँँमा झरेको छ ।

घिरौँला ४० रुपैयाँँबाट घटेर २५ रुपैयाँँ खुद्रा मूल्यमा कारोबार भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । एक सय ५० देखि तीनसय रुपैयाँसम्म रहेको च्याउको मूल्य घटेर अहिले एक सयदेखि दुई सय २० रुपैयाँमा झरेको छ । यस्तै आलुको पनि मूल्य घटेको छ ।

अहिले कालीमाटी तरकारी बजारमा दैनिक ५ देखि ६ सय टन तरकारी भित्रिने गरेको छ ।सामान्य समयमा दैनिक सातदेखि नौ सय टनसम्म तरकारी खपत हुने गरेको थियो । कोरोना सङ्क्रमणबाट जोगिन बिहान नौ बजेसम्म कारोबार गरिसक्नुपर्ने हुँदा खपत कमजोर भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

कालीमाटीमा धादिङ, काभ्रे, मकवानपुर लगायत छिमेकी र तराईका जिल्लाबाट तरकारी भित्रिने गरेको छ ।माग घटेर मूल्य घटे पनि बजारमा अहिलेसम्म तरकारी खेर जाने अवस्था भने नरहेको समितिले जनाएको छ । तर बर्खे तरकारीको सिजन सुरु भएकाले उत्पादन बढी हुने र खपत कम हुने हुँदा तरकारी कुहिएर जाने किसान चिन्तामा रहेको श्रेष्ठको भनाइ छ । फलफूलको भाउ भने खासै घटबढ भएको छैन । सिधाकुरा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय