शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ‘बिचौलिया भूतप्रेत जागेका कारण’ भारतबाट खोप ल्याउन नसकिएको बताएका छन् । यसअघि ३ अर्ब ४८ करोडमा खरीद गरिएका स्वास्थ्य सामग्रीहरूमा अनियमितता भएकोसमेत स्वास्थ्यमन्त्री त्रिपाठीको भनाइ छ ।

भारतको सिरम इन्स्टिच्युटबाट ५० लाख डोज खोप खरिद गर्ने समझदारी भइसकेका बेला बिचौलिया भुतप्रेतहरु जागेर १० प्रतिशत कमिशन मागेका कारण समयमै खोप भित्रिन नसकेको मन्त्री त्रिपाठीको भनाइ छ ।

सिरमको पहिल्यैदेखिको लोकल एजेन्टले त्यसरी १० प्रतिशत कमिसन मागेको मन्त्री त्रिपाठीको भनाइ छ । भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्ट भनेको हुकाम डिस्ट्रिब्युटर्स एण्ड लजिस्टिक प्रालि हो । यो प्रालिमा विजय दुगड, अभिषेक दुगड, सुरज वैद्य र ऋतु सिंह वैद्यको संलग्नता देखिन्छ । यसमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडको पनि संलग्नता रहेको बुझिएको छ ।

बैशाख १५ गते हिमालखबर पत्रिकालाई दिएकोभिडियो अन्तरवार्तामा स्वास्थ्यमन्त्री त्रिपाठीले खोपको खरीद प्रकरणमा सिरमका स्थानीय (नेपाली) एजेन्टहरुको भूमिकालाई यसरी व्याख्या गरेका छन्–​

‘भारत सरकारले उपहारस्वरुप १० लाख डोज खोप दियो । त्यसपछि हामीले २० लाख डोज सहुलियत दरमा (४ डलरका दरले) खरिद गर्यौँ । त्यसमा १० लाख डोज आयो, १० लाख डोजचाहिँ आउन अझै पनि बाँकी नै छ । हामीले ५० लाख डोज उसैसँग खरीद गर्ने प्रस्ताव पनि मागिसकेका थियौं । अहिलेको अवस्था हेर्दाखेरि उसले साह्रै सस्तो रेट कोट गरेर हामीलाई पठाएको थियो ।

यहाँ मैले भन्नै पर्ने चिज के छ भने बीचमा त्यो कम्पनीले आफ्नो कारोबार अगाडि बढाउनका लागि पहिल्यैदेखि राखेको स्थानीय प्रतिनिधि, जसलाई लोकल एजेन्ट भन्छ, वहाँहरुको बढी सक्रियता भयो । र, उहाँहरुले १० प्रतिशत कमिसन लिन चाहनुभयो, जुन ४ डलरमा लिँदाखेरि पनि उहाँहरु आउनुभएको थियो, हामीले हटाइदिएका थियौं । किनभने सरकारले खरिद गर्ने, पैसा सरकारले तिर्ने, सरकारले जनतालाई निशुल्क खोप प्रयोग गर्ने अनि बीचमा १० प्रतिशत फोगटिया हामी दिँदैनौं भनेर हामीले हटाएका थियौं । फेरि ती भूतप्रेतहरु फेरि जागेर आए । अनि फेरि १० पर्सेन्ट….।

त्यो उहाँहरुको क्रियाकलापले गर्दा तीनहप्ता बढी, गनेर नै भनें मैले, २७ दिनसम्म अप्ठ्यारोमा परियो । यो २७ दिन यति क्रुसियल भयो कि भारतमा स्वाट्टै संक्रमणको दर बढ्न थाल्यो । र त्यो कारण ५० लाख डोजको खरीद प्रक्रिया अगाडि बढ्न सकेन । उ(कम्पनी) सँग त एउटा नेगोसिएसन भइसकेको थियो, खरीद मूल्य उसले दिइसकेको थियो । तर, जुन कमिसन १० पर्सेन्ट माग गर्नेहरु…. । र यो सही हो नेपालमा… अरुदेशमा पनि होला यसप्रकारका विचौलियाहरुको प्रभाव अलिकति बलियो नै हुन्छ । र त्यो पनि राष्ट्रिय सहमतिका आधारमा हिँड्छन् त्यस्ताहरु ।’

मन्त्री त्रिपाठीले कोरोना भ्याक्सिनका नाममा राजनीति भइरहेको बताएका छन् । उनले भनेका छन्, ‘हेर्दाखेरि खोप स्वास्थ्यको सामग्री हो, व्यवसायिक सामग्री हो । तर, मूलभूतरुपले यो राजनीतिक सामग्री भएर गएको छ । पोलिटिकल कमोडिटी भएर गएको छ । भ्याक्सिन पोलिटिक्सले ठूलो माने राख्दै गएको छ ।’

मन्त्री त्रिपाठीले खोप खरीद प्रकरणमा भएको कमिसनको खेललाई मात्रै उजागर गरेका छैनन्, विगतमा भएको स्वास्थ्य सामग्री खरीदमा पनि भ्रष्टाचार औंल्याएका छन् । उनले सो अन्तरवार्तामा प्रश्न गरेका छन्, ‘रू.३ अर्ब ८२ करोडको स्वास्थ्य सामग्री खरीद गरिएको छ, तर जडान गरिएको छैन । यसमा विभिन्न कालखण्डमा छ । यसमा मै हुँ भन्ने राजनीतिक दलका नेताहरु पनि छन्, तिनका नाम नलिऔँ । यो सर्वदलीय जस्तै छ, कोही बाँकी हुनुहुन्न त्यसमा । सबको कालखण्डमा त्यो भएको छ । यदि जरुरी थिएन भने खरीद किन गरियो ? खरीद गरियो भने जडान किन गरिएन ?’ रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय