शुक्रबार , चैत्र १६, २०८०

धनगढी

धनगढी उपमहानगरपालिका- ५ का यज्ञराज जोशीको परिवारका सबैलाई कोरोना पोजेटिभ देखिएको छ। उनीहरूले वैशाख १६ गते श्वाब दिएर परीक्षण गर्दा १९ गते सबै जनालाई कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो। अस्पताल गए झन् बढी बिरामी पो पर्ने हो की भन्ने चिन्ताले घरमै ख्याल गरेर बसेका छौं,’ जोशीले सेतोपाटीसँग भने।

उनका ७२ वर्षका बुबा, ६० वर्षकी आमा, श्रीमती र दुई छोराछोरी तागतिला खानाकुरा खाएर मनोबल उच्च बनाएर कोरोनालाई छिट्टै जित्ने आशामा होम आइसोलेसनमा बसेका छन्।परिवारका सबैलाई कोरोना देखिएपछि सुरूमा उनीहरू आत्तिएका थिए।

उनको घरमा वैशाखको पहिलो साता सप्ताह लगाइएको थियो। सप्ताहको भीडबाट कोरोना परिवारमा आएको हो कि भन्ने जोशीलाई लागेको छ।‘सुरूमा बाबुलाई खोकी लाग्यो, केही दिनपछि ज्वरो पनि आयो, एकएक गर्दै हामी अरूलाई पनि ज्वरो आएपछि सिटामोल खायौं, शंका लागेर जाँच्दा कोरोना पोजेटिभ आयो,’ उनले भने।

अहिले भने उनीहरू आत्तिन छोडेका छन्। ‘घरमा सबैजना संक्रमित छौं, रुघाखोकी ज्वरो आएको छ। हातगोडा पनि दुख्छन्, सबैलाई असहजै छ, गाह्रो परिस्थितिमा पनि मन बलियो बनाएका छौं। जे पर्ला पर्ला भन्ने हुने रैछ लागि हालेपछि,’ उनले भने। आफू हतोत्साहित भए बच्चाहरू झन् बढी तर्सिन्छन् कि भनेर सामान्य माहोल बनाएको जोशीले बताए।

‘अहिले पटक-पटक तातोपानी, नास्ता, झोलिलो पदार्थ खाने, व्यायाम र आराम गर्ने गरेका छौं,’ उनले भने, ‘यसो गर्दा केटाकेटी पनि भुल्छन्। संक्रमित भएपछि उनीहरूले सामाजिक सञ्जाल हेर्न छोडेका छन्। बरू बरन्डामा हिँडडुल गर्ने, टिभी हेर्ने, आपसमा कुराकानी गर्ने गरेको उनले बताए। समाजिक सञ्जालदेखि मिडियासम्मले अहिले सकारात्मकभन्दा नकारात्मक सूचना दिइरहेका छन् भन्ने उनलाई लागेको छ।

‘फेसबुक हेर्दा तनाव हुने, कोभिडले गर्दा मृत्यु भएको, अस्पतालका भिडिओ-फोटो आउँदा डरलाग्दो हुन्छ,’ जोशीले भने।उनकी श्रीमतीलाई भने कोरोनाले बढी असर गरेको छ। अफिस छुट्टी लिएकी उनले घरको काम गर्न सकेकी छैनन्।कोभिडको खोप लगाउन पाएका जोशीका आमाबुबालाई भने अवस्था सामान्य छ। ‘खोप लगाएका आमाबुवालाई असर कम छ, त्यसले गर्दा आमालाई कामको बोझ थपियो, उहाँ नै खाना-नास्ता बनाएर सबैको हेरचाह गरिरहनुभएको छ,’ उनले भने।

आर्थिक अवस्था राम्रै भएकाले खर्चको व्यवस्थापनमा उनीहरूलाई समस्या छैन, मनोवैज्ञानिक असर भने परेको छ।‘सबैलाई डर लाग्छ तर हामीलाई मात्रै होइन सबैलाई परेको छ,’ उनले भने,‘भोलिका बारे धेरै तनाव लिने गर्दैनौं। परिवारमा बेलाबेला औषधी खाने, तातोपानी खाने विषयमा चाहिँ कति खाइरहे भनेर चर्को स्वरले बोल्नुपर्छ,’ उनले भने।

घरमा केही अभाव भए सामान छिमेकीले ल्याइदिन्छन्। औषधी, सामान चाहिए छिमेकमा भएका साहुजीले पुर्‍याइदिन्छन्,’ उनले भने। केही छिमेकीले फोन, मेसेन्जरबाट पनि खबर लिन्छन् । स्थानीय तह वा सरकारी निकाय भने कसैले पनि उनीहरूको खबर बुझेका छैनन्।

‘अरू कसैले केही गरेको छैन। सरकारमा बसेकालाई सत्ता टिकाउनमै ध्याउन्न छ, जनताको समस्याको यस्तै छ। आफैं सजग रहनुपर्छ,’ जोशीले भने। संक्रमितले छिमेकीलाई सुरक्षित राख्न ख्याल गर्नुपर्ने र छिमेकीले संक्रमितलाई छिटो निको हुन सहयोग गर्नुपर्ने उनले बताए।

सेती प्रादेशीक अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टर शेरबहादुर कमरले घरमै आइसोलेसनमा बसेकाले जटिलता आउँछ कि भन्नेमा ध्यान दिनुपर्ने बताए। ‘ज्वरो आउने, सास फेर्न गाह्रो हुने र शरिरमा आक्सिजनको मात्रा घटेकोबारे सचेत हुने, खोकी लाग्ने, शरीर दुख्ने भयो भने स्वास्थ्यर्मीको सम्पर्कमा आउने वा अस्पताल जाने गर्नुपर्छ,’ डाक्टर कमरले भने।

परिवारका अरूलाई र समाजमा संक्रमण फैलिन नदिन ध्यान दिनुपर्ने उनले बताए। एकै परिवारका सबैलाई संक्रमण भए कसैलाई बढी र कसैलाई कम प्रभाव पर्न सक्छ। त्यसमा एकले अर्कालाई मद्दत गर्नुपर्ने हुनसक्छ।

धनगढी उपमहानगरपालिकामा संक्रमण भएका ९३२ जनामध्ये अधिकांश घरमै छन्। उपमहानरपालिकाले होम आइसोलेसनमा रहेकाको कन्ट्याक्ट ट्रसिङ गर्ने काम सुरू गर्न लागेको कोभिड फोकल पर्सन लक्ष्मीराज उपाध्यायले बताए। ‘बढी संक्रमित देखिएका समुदायका मान्छेको परीक्षण गर्ने, उनीहरूको अवस्थाबारे टेलिफोनबाट खबर लिने काम सुरू हुन्छ,’ उनले भने ।

उपमहानगरको वडा नम्वर ५ मा धेरै संक्रमण फैलिएको छ।‘यस वडामा एकै घरका सबै प्रभावित भएका पनि धेरै परिवार छन्,’ फोकल पर्सन उपाध्यायले भने। सुदूरपश्चिम प्रदेशमा बिहीबारसम्म दुई हजार एक सय ३३ जना कोरोना संक्रमित होम आइसोलसनमा बसेका छन्।  सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय