बिहिबार , अषोज ७, २०७८

काठमाडौं ।

विपत्तिको समयमा मानिसको मन बढी नै चल्ने गर्छ । मन जति चलायो त्यति नै शरीरलाई गाह्रो हुन्छ । यस बेलामा शरीरका ज्ञानेन्द्रीय बढी नै सतर्क हुने गर्छन् । कति बेला के सुन्न पर्ने हो, के देख्न पर्ने हो र के भोग्न पर्ने हो भन्ने जस्ता भावनाहरु मानिसको मनमा बारम्बार आइरहन्छ । समस्या आउन बाँकी नै हुन्छ । त्यसलाई आफूले झेल्न पर्छ या पर्दैन भन्ने पनि निश्चित हुँदैन । तर पनि त्यसकै कल्पनामा मानिसको मन आत्तिरहन्छ । विपत्तिको समयमा मन आत्तिनु, डर हुनु र चिन्ता लाग्नु स्वाभाविक हो । यसलाई असामान्य परिस्थितिको सामान्य प्रतिक्रियाहरू हुन् भनेर बुझ्नु पर्छ ।

तनाव भन्नाले कुनै अप्ठ्यारो अवस्थामा मानिसको मनमा आउने अस्थिरता र शरीरले देखाउने प्रतिक्रिया हो । तनाव भनेको हाम्रो वातावरणमा घटेको कुनै पनि घटनाहरू प्रतिको मानिसहरुको प्रतिक्रिया हो । जसले तनाव अन्तर्गत शरीरको अप्ठ्यारो अवस्थालाई जनाउँछन् । परिस्थिति अनुसार मानिसको मनस्थिति परिवर्तन भइरहेको हुन्छ ।

परिस्थिति परिवर्तन गर्न सक्दैनौं जुन हाम्रो नियन्त्रणभन्दा बाहिरको कुरा हो । तर हाम्रो मनस्थिति भने परिवर्तन गर्न सक्छौँ । हामीले जे सक्छाैं त्यही गर्ने हो । त्यसैले यस्तो बेलामा मनस्थितिलाई बलियो बनाउन प्रयास गर्नुपर्छ । मन सकारात्मक कुरामा भन्दा पनि नकारात्मक कुरामा बढी जान्छ । नकारात्मक कुराले हामीलाई थप पीडा दिन्छ र असहज बनाउँछ । जे सोच्छौँ त्यस्तै हुन्छौँ । सोचाई अनुसार शरीरले पनि प्रतिक्रिया जनाउँछ ।

सोचाई जहिले पनि सकारात्मक लिनुपर्छ । मन शान्त भएन भने शरीर पनि शान्त हुँदैन । त्यसैले मनलाई शान्त बनाउनु नै उत्तम विकल्प हो । हामीले यस्तो खालको विपद् महसुस नै गरेका थिएनौँ, त्यसैले बढी डराएका हौँ भनेर आफूले आफूलाई नै सम्झाउनु र सम्झनुपर्छ । हल्ला तथा डर त्रासका पछिभन्दा पनि वास्तविकतामा आधारित भएर व्यवहार देखाउने प्रयास गर्नुपर्छ ।

मन मनले आफूले आफैलाई म शान्त छु, यस्तो बेलामा आत्तिनु हुँदैन भनेर भन्नुपर्छ । पहिला पनि मनमा गाह्रो हुँदा हामीले हाम्रो मन हामी आफैँले सम्हालेको हो त्यसैले सतर्क रहने हो तर आतङ्कित हुने होइन । सबैले सम्झौँ हाम्रो अहिलेको भोगाई तथा अनुभव कुनै पनि प्रकोपप्रतिको सामान्य प्रतिक्रिया हो । सबैलाई नआत्तिन र डरलाई साहसका साथ सामना गर्न हौसला दिने गरौँ ।

उज्यालो अनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय