काठमाडौं, २३ वैशाख ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे र उपमेयर जगेश्वरीदेवी चौधरीले आफु चढ्ने गाडीलाई एम्बुलेन्स बनाई बिहीबार बिहानदेखि कोरोना संक्रमित र अन्य बिरामीलाई अस्पताल ओसार पसारमा प्रयोग गरेका छन् ।

मेयर घिमिरेको लु १ झ ३६० नम्बर र उपमेयर चौधरीको लु १ झ ३२६ नम्बरको स्कर्पियो गाडीमा अक्सिजन सिलिन्डर जडान गरी एम्बुलेन्स सेवा सरहको बनाएर सर्वसाधारण बिरामी ओसारपसार गर्न लागिएको हो ।

मेयर घिमिरेले भने, ‘नगरवासीले चौबिसै घण्टा सवारी साधनका लागि हारगुहार गर्न थाल्नु भयो । भनेको समयमा अस्पतालसम्म लैजाने सवारी साधन नहुँदा अकालमा ज्यान जान सक्ने अवस्था पनि आउन थाल्यो । उपमेयर जी र मैले सल्लाह ग¥यौं र हामी दुवैजनाको गाडीलाई एम्बुलेन्समा रुपान्तरण गरेर अहिले बिहानदेखि बिरामी बोक्न पठाउँदै छौं ।’

उनले आफुहरु बरु स्कुटी वा साइकल मै हिँड्ने उनले बताए ।लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा छ । त्यसमा पनि बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिका थप जोखिममा छ ।

बुटवलमा बुधबार दिउँसो साढे ४ बजेसम्म १४६ महिला र १८६ पुरुषसहित ३३२ जना संक्रमित छन् भने तिलोत्तमामा ७४ महिला र ८४ पुरुषसहित १५८ जना संक्रमित छन् ।बुधबार साँझसम्म जिल्लाभर ७९७ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

यो पनि

काठमाडौं, २३ बैशाख। नेकपा एमालेको आन्तरिक विवादका कारण अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आफ्नैबाट अप्ठ्यारोमा परेका छन्। जेठ २ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एमालेको नेपाल समूहले हातेमालो गर्न खोजेपछि आगामी आमनिर्वाचनमा पनि यही समीकरण बने पार्टी धराशयी हुने ओली निकटका नेताहरूको चिन्ता छ। यही कारण उनीहरूले विवाद मिलाउन दबाब दिँदा ओली अप्ठ्यारोमा परेका हुन्।

त्यस्तै नेपाल पक्षभित्र सामूहिक राजीनामाभन्दा ओलीलाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिएर एकपटक हेर्ने, त्यति गर्दा पनि पार्टीभित्र बस्ने अवस्था बनेन भने मात्र राजीनामा दिने धारणा आएपछि नेपाल पनि अप्ठ्यारोमा परेका छन्। कांग्रेस, माओवादी केन्द्र, नेपाल पक्ष र जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षले बुधबार राष्ट्रियसभा सदस्यका लागि साझा उम्मेदवारका रुपमा वाग्मती प्रदेशबाट डा खिमलाल देवकोटालाई अघि सारेका छन्।

उनीहरूले यो गठबन्धन आगामी निर्वाचनमा पनि कायमै राख्ने संकेत गरेपछि ओली दबाबमा परेका छन्। देशभरका नेता–कार्यकर्ताले ओलीलाई पार्टी मिलाउन दबाब दिइरहेका छन्। उनीहरूले एमालेकै एउटा पंक्तिलाई बाहिर राखेर अन्त मत माग्न जानु शोभनीय नहुने सन्देश ओलीलाई दिएका छन्। ‘अहिले एमालेको एउटा पंक्ति बाहिर छ। यो पंक्ति बाहिर रहँदा प्रतिपक्षीले खेल्ने मौका पाएको हामीले बुझेका छौं।

साथै कांग्रेस, एमालेको नेपाल पक्ष, माओवादी केन्द्र र जसपाको संयुक्त गठबन्धन आगामी निर्वाचनसम्म कायम रहे त्यसले राष्ट्रिय राजनीतिमा ओली पक्षको उपस्थिति न्यून बनाउने भएकाले पनि पार्टीलाई एक ढिक्का बनाउनुको विकल्प छैन भनेर हामीले भनेका छौं’, ओली निकटका एक नेताले भने। ओलीलाई उनीनिकट नेता प्रदीप ज्ञवाली र विशाल भट्टराईले पार्टीलाई मिलाएर लैजान आग्रह गरेको स्रोतको भनाई छ।

उता नेपाल पक्ष पनि ओलीलाई अन्तिम धक्का दिनेगरी अगाडि बढेको छ। पार्टी मिलाउन ओलीलाई धक्का दिने, विवाद नमिलाए त्यही सन्देश लिएर कार्यकर्तामाझ जाने नेपाल पक्षको तयारी छ। नेपाल पक्षमा अहिले दुईवटा मत देखिएको छ। एकथरी नेताहरू प्रधानमन्त्री ओलीलाई एकपटक विश्वासको मत दिने, त्यति गर्दा पनि नसच्चिए सांसद पदबाट तत्काल राजीनामा दिएर जनतामाझ जानुपर्ने पक्षमा छन्।

सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट, योगेश भट्टराई, सोमप्रसाद पाण्डे, गणेश पहाडी, यज्ञराज सुनुवारलगायतले अघि सारेको यो मत समूहभित्र बलियो बन्दै गएको छ। अर्को समूह भने जसरी पनि ओलीले कारबाही गर्ने भएपछि पहिला नै राजीनामा दिएर सरकार ढाल्नुपर्ने पक्षमा छ। यो मतको पक्षधरमा भीम रावल, झपट रावल, कल्याणी खड्का, नारायण खतिवडा, राजबहादुर बुढालगायत छन्। नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय