बिहिबार , बैसाख ६, २०८१

काठमाडौं ।

नेकपा एमालेको आन्तरिक विवादका कारण अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आफ्नैबाट अप्ठ्यारोमा परेका छन्। जेठ २ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एमालेको नेपाल समूहले हातेमालो गर्न खोजेपछि आगामी आमनिर्वाचनमा पनि यही समीकरण बने पार्टी धराशयी हुने ओली निकटका नेताहरूको चिन्ता छ। यही कारण उनीहरूले विवाद मिलाउन दबाब दिँदा ओली अप्ठ्यारोमा परेका हुन्।

त्यस्तै नेपाल पक्षभित्र सामूहिक राजीनामाभन्दा ओलीलाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिएर एकपटक हेर्ने, त्यति गर्दा पनि पार्टीभित्र बस्ने अवस्था बनेन भने मात्र राजीनामा दिने धारणा आएपछि नेपाल पनि अप्ठ्यारोमा परेका छन्। कांग्रेस, माओवादी केन्द्र, नेपाल पक्ष र जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षले बुधबार राष्ट्रियसभा सदस्यका लागि साझा उम्मेदवारका रुपमा वाग्मती प्रदेशबाट डा. खिमलाल देवकोटालाई अघि सारेका छन्।

उनीहरूले यो गठबन्धन आगामी निर्वाचनमा पनि कायमै राख्ने संकेत गरेपछि ओली दबाबमा परेका छन्। देशभरका नेता–कार्यकर्ताले ओलीलाई पार्टी मिलाउन दबाब दिइरहेका छन्। उनीहरूले एमालेकै एउटा पंक्तिलाई बाहिर राखेर अन्त मत माग्न जानु शोभनीय नहुने सन्देश ओलीलाई दिएका छन्। ‘अहिले एमालेको एउटा पंक्ति बाहिर छ। यो पंक्ति बाहिर रहँदा प्रतिपक्षीले खेल्ने मौका पाएको हामीले बुझेका छौं। साथै कांग्रेस, एमालेको नेपाल पक्ष, माओवादी केन्द्र र जसपाको संयुक्त गठबन्धन आगामी निर्वाचनसम्म कायम रहे त्यसले राष्ट्रिय राजनीतिमा ओली पक्षको उपस्थिति न्यून बनाउने भएकाले पनि पार्टीलाई एक ढिक्का बनाउनुको विकल्प छैन भनेर हामीले भनेका छौं’, ओली निकटका एक नेताले भने। ओलीलाई उनीनिकट नेता प्रदीप ज्ञवाली र विशाल भट्टराईले पार्टीलाई मिलाएर लैजान आग्रह गरेको स्रोतको भनाई छ।

उता नेपाल पक्ष पनि ओलीलाई अन्तिम धक्का दिनेगरी अगाडि बढेको छ। पार्टी मिलाउन ओलीलाई धक्का दिने, विवाद नमिलाए त्यही सन्देश लिएर कार्यकर्तामाझ जाने नेपाल पक्षको तयारी छ। नेपाल पक्षमा अहिले दुईवटा मत देखिएको छ। एकथरी नेताहरू प्रधानमन्त्री ओलीलाई एकपटक विश्वासको मत दिने, त्यति गर्दा पनि नसच्चिए सांसद पदबाट तत्काल राजीनामा दिएर जनतामाझ जानुपर्ने पक्षमा छन्। सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट, योगेश भट्टराई, सोमप्रसाद पाण्डे, गणेश पहाडी, यज्ञराज सुनुवारलगायतले अघि सारेको यो मत समूहभित्र बलियो बन्दै गएको छ। अर्को समूह भने जसरी पनि ओलीले कारबाही गर्ने भएपछि पहिला नै राजीनामा दिएर सरकार ढाल्नुपर्ने पक्षमा छ। यो मतको पक्षधरमा भीम रावल, झपट रावल, कल्याणी खड्का, नारायण खतिवडा, राजबहादुर बुढालगायत छन्।

‘दुवै मत सशक्त रुपमा आएका छन्। निर्णय भने सर्वसम्मत र सामूहिक हुन्छ। ओलीले यो बीचमा कस्तो नीति अख्तियार गर्छन्, निर्णय त्यसैमा भर पर्छ। ओलीलाई निसर्त मत दिने धारणाका पछि नेपाल पक्षलाई नेताकार्यकर्ता र जनतामाझ जान सजिलो होस् भन्ने अभिप्राय रहेको छ’, नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने। उनका अनुसार अहिले विश्वासको मत दिए पनि ओलीले पुरानै अवस्था दोहोर्‍याए विपक्षीलाई अविश्वासको प्रस्ताव ल्याउने बाटो पनि खुला हुने र त्यति बेला सांसद पदबाट राजीनामा दिएर बाहिरिन सक्नेबारे छलफल भइरहेको छ।

तीन दिनअघि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई फोन गरेर भेट्ने प्रस्ताव गरेको ती नेताले बताए। तर नेपालले पहिले फागुन २८ को निर्णय सच्याउनुस् अनि भेटघाट गरौंला भनेका थिए। उनले ‘हामीले ठूलो चिज केही मागेको छैन। पार्टीलाई २०७५ जेठ २ भन्दा अघिको अवस्थाबाट अगाडि बढाऔं, त्यही केन्द्रीय कमिटीको बैठकबाट कसकसलाई केके जिम्मेवारी दिने हो, कसलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने हो, गरौं भनेको हो। तपाईं पहिले त्यही गर्नुस्’ भनेर फोन राखेको स्रोतको दाबी छ।

ओली पक्षका केन्द्रीय सदस्य आनन्द पोखरेलले अध्यक्षले संवाद र सहमतिबाटै विवाद निरुपण गर्ने जानकारी दिएको बताएका छन्। उनले सबैतिरबाट नेताहरूलाई दबाब आएको दाबी गर्दै अध्यक्षलाई आफ्नै पार्टीका नेतासँग छलफल गर्न कुनै समय नचाहिने तर पार्टी विभाजन नै गरेर जाने मनस्थितिमा पुगेको भए संवादको अर्थ नहुने बताए। ‘संवादको प्रयास भइरहेको छ। पार्टी मिल्नुपर्छ। हिजो जे भयो त्यसलाई दुवै पक्षले बिर्सेर एकताबद्ध एमाले बनाउनुपर्छ भन्ने आम कार्यकर्ताको धारणा छ। त्यसलाई पार्टी अध्यक्षले सम्बोधन गर्नुहुन्छ। उहाँहरूसँग कुनै न कुनै तहबाट संवाद भएकै छ। माधव नेपालतिर रहेका अधिकांश साथी पार्टी फुटाउनु हुन्न भन्ने पक्षमा छन्, संवादमै छन्। हामी पनि

त्यस्तो अप्रिय कदम नहोस् भन्ने पक्षमा छौं। त्यसकारण प्रधानमन्त्रीज्यूले संवाद गर्नुहुन्छ। आशा गरौं, परिणाम सकारात्मक आउनेछ’, उनले भने। नेपाल पक्षका केन्द्रीय सदस्य ठाकुर गैरे पनि विवाद मिलाउने जिम्मा अध्यक्ष ओलीकै भएको बताउँछन्। ‘अहिले पनि केही बिग्रेको छैन। पार्टी एक ढिक्का होस्, दुई नेताबीच संवाद होस्, पुराना गल्ती कमजोरी सच्चिने कुरा होस् र पार्टी पुरानै अवस्था फर्काउने काम होस् भन्ने हाम्रो कुरा छ। पार्टी विभाजनको कुनै कुरा छैन तर पनि पार्टीभित्र पस्ने गेट बन्द गर्नेजस्ता कामले बर्बादीतिर धकेलेको हो’, गैरेले भने, ‘अझै पनि सम्भावना सकिएको छैन। संवादबाट सहमति खोज्न सकिन्छ। त्यसका लागि पार्टी अध्यक्षकै भूमिका महत्वपूर्ण हुन्छ।’ उनका अनुसार अनौपचारिक संवाद भइरहे पनि ठोस प्रगति छैन। कुराकानी मिलाउनेतिर भन्दा पनि एकअर्काको अवस्थाबारे जानकारी लिने हिसाबले मात्र भएको कुराकानीको अर्थ नरहने उनले बताए।

पोखरेल–भट्टराई भेट

दुई समूहबीच आन्तरिक विवाद उत्कर्षमा पुगेको अवस्थामा ओली पक्षका नेता ईश्वर पोखरेलले नेपाल पक्षका नेता योगेश भट्टराईलाई बोलाएर छलफल गरेका छन्। उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले भट्टराईलाई बुधबार आफ्नै कार्यकक्षमा बोलाएर विवाद निरुपण गर्ने उपायबारे सोधेका थिए। भेटमा गणेश पहाडी पनि सहभागी थिए।

त्यस क्रममा भट्टराईले ओलीले चाहे पार्टीभित्रको विवाद एकै मिनेटमा मिलाउन सकिने बताएका थिए। यसका लागि वातावरण बनाउन भट्टराईले पोखरेललाई आग्रहसमेत गरे। भट्टराईले पार्टी मिलाउने जिम्मेवारी पोखरेलको समेत भएको बताए। स्रोतका अनुसार पोखरेलसँगको कुराकानीमा भट्टराईले भने, ‘तपाईंलाई विवाद सुल्झाउन नदिने नेताका रुपमा चित्रण भइरहेको छ, त्यो दाग मेटाउनुस्।’ पोखरेलले बिहीबार बसेर थप कुराकानी गर्ने भन्दै बुधबारको डेढघण्टे वार्तालाप टुंग्याएका थिए। नागरिकन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय