शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले फागुन दोस्रो साता नागरिकलाई दिएको अन्तर्वार्तामा समयमै खोप ल्याउन बाधा पुर्‍याउनेहरूबारे सांकेतिक खुलासा गरेका थिए। उनले कमिसन लोभका कारण खोप ल्याउन अवरोध गरेकाहरूलाई लक्षित गर्दै भनेका थिए, ‘यसबीच केही भूतप्रेत जागृत भए।’ यी भूतप्रेत को हुन्, मन्त्री त्रिपाठीले त्यति बेला नखुलाए पनि अहिले आएर खुलासा भएको छ। ती भूतप्रेत अरु कोही नभएर प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेर काम गर्दै आएका व्यापारी र कमिसन एजेन्टहरू हुन्। नेपालले सेरम इन्स्टिच्युटद्वारा उत्पादित अक्सफोर्ड अस्ट्राजेनेका खोप खरिद प्रक्रिया अघि बढाएको थियो। त्यसमा १० प्रतिशत कमिसन माग गर्दै खोप भित्रिन नदिइएको हो।

मन्त्री त्रिपाठीले त्यो बेला नै यी शक्तिशाली व्यक्तिहरूका कारण खोप आयातमा अवरोध भएको संकेत गरेका थिए। सेरमको स्थानीय एजेन्ट हुकुम इन्टरप्राइजेजका साझेदार विजय दुगड र ऋतुसिंह बैद्यले सरकारले खरिद गरिसकेको र भविष्यमा खरिद गर्ने खोपमा १० प्रतिशत कमिसन माग गर्दै आएको खुलेको छ। सरकारले निजी क्षेत्रलाई खोप खरिद गर्न बाटो खुलाउँदै १० प्रतिशत कमिसन लिन पाउने व्यवस्था गरिसकेको छ। सरकार आफूले फ्याक्ट्रीबाट खरिद गरेको खोपमा कमिसन दिन तयार नभएपछि देशभित्रै र बाहिरका विभिन्न माध्यमसमेत प्रयोग गरी खोप आयातमा अवरोध गरिएको हो।

नेपालले सेरमसँग खरिद गरेको २० लाख डोज खोपमध्ये १० लाख पाए पनि बाँकी १० लाख डोज पाउन सकेको छैन। कमिसन एजेन्टहरूले फ्याक्ट्री नेतृत्वलाई समेत प्रभावमा पारेपछि पैसा बुझाइसकेको खोप पनि नेपालले नपाएको हो। पछिल्लो कालखण्डमा धेरैजसो भारतको मुम्बईमा बस्दै आएका दुगड सेरम इन्स्टिच्युटका प्रवद्र्धक अदर पुनावालाका छोराका साथी हुन्। उनीहरूले सँगै पढेका हुन्। त्यही सम्बन्धलाई प्रयोग गर्दै हुकुम इन्टरप्राइजेज सेरमको एजेन्ट बन्न सफल भएको हो। त्यसैगरी हुकुमकी अर्की साझेदार ऋतुसिंह बैद्य एमाले निकट व्यापारी सुरज बैद्यकी पत्नी हुन्। प्रधानमन्त्री ओलीसँग निकट सम्बन्ध रहेका सुरज नेपाल भ्रमण वर्ष २०२० का संयोजकसमेत रहिसकेका छन्।

उनीहरूले सेरम नेतृत्वलाई पनि प्रभावित गर्न सकेको मन्त्रालय स्रोतले नागरिकलाई पहिल्यै संकेत गरेको थियो। यो प्रकरणले कोरोना महामारीको अघिल्लो चरणमा ओम्नीले गराएको काण्ड जसरी अहिलेको सत्ता निकट पुगेर सार्वजनिक भएको थियो, अहिले पनि ठीक त्यही स्थिति देखिएको छ। पछिल्लो कालखण्डमा महामारी भयावह भएपछि भारत सरकारले सेरमलाई खोप निर्यात गर्न बन्देज लगाएको छ। तर भारतमा महामारी सुरु हुनुअघि नै बाँकी १० लाख मात्रा खोप नेपाललाई प्राप्त नहुनुमा कमिसनको खेल जोडिएको स्वास्थ्यमन्त्री त्रिपाठीले त्यही बेला बताएका थिए।

भारतले अनुदानमा दिएको १० लाख डोज अस्ट्राजेनेका खोपबाट सुरु भएको अभियान त्यसपछि खरिद गरिएको १० लाख डोज खोपबाट अघि बढेको थियो। तर सेरमसँग खरिद गरिएको खोपको १० लाख डोज नआउँदा नेपालको खोप अभियान रोकिन पुगेको छ। पहिलो डोज लगाएकाले दोस्रो डोज पनि सोही खोप लगाउनुपर्ने भएकाले अन्योल भइरहेको छ।

मन्त्री त्रिपाठीले नागरिकसँगको उक्त अन्तर्वार्तामा भनेका थिए, ‘सुरुको खरिदमा भारत सरकारले हस्तक्षेप गरेर सहुलियत दरमा नेपालले खोप पाएको हो। तर त्यहींनेर के देखियो भने केही भूतप्रेतहरू जागृत भए र तिनको इच्छा के भने यसमा १० प्रतिशत कमिसन लिने भन्ने थियो। नेपालका केहीले यस्तो प्रयास गरे। तिनलाई बडो मेहनतका साथ हटाइयो। अहिले जुन ५० लाख डोज खरिद गर्ने प्रयास भइराखेको छ, त्यसमा पनि मूल्यमा १० प्रतिशत कमिसन लिने प्रयास भएकाले यो प्रस्तावित सम्झौतालाई विकृत बनाइरहेको छ।’ नागरिकन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय