बिहिबार , बैसाख १३, २०८१

काठमाडौं, २३ वैशाख ।

कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा नेकपा एमालेबाट फ्लोर क्रस भयो । एमालेका प्रकाश ज्वालासहित ४ प्रदेश सांसदले फ्लोर क्रस गरे । ती सबै माधव नेपाल पक्षका थिए । फ्लोर क्रसले शाही मुख्यमन्त्री कायमै रहे । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट यामलाल कँडेल मुख्यमन्त्री बन्नबाट रोकिए ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो । सत्ता जोगाउन गुरुङ्गले जनमोर्चाका खिमविक्रम शाहीलाई कोभिड आइसियू वार्डमा पुर्याएको चर्चा चल्यो । दिपक मनाङेलाई मन्त्री बनाए । तर, त्यहाँ माधव नेपालले अविश्वासको प्रस्ताव अगाडि बढेमा फ्लोर क्रससम्मको तयारी गरेका छन् ।

लुम्बिनी प्रदेशमा ओलीका विश्वासपात्र शंकर पोखरेललाई उनकै गृहजिल्ला दाङबाट धक्का लाग्यो । विमला खत्रीले एमाले छाडेर माओवादी रोजिन् । तर, पोखरेलले सुर्य चिन्ह लिएर उम्मेदवार बनेकाले एमाले छाड्न नमिल्ने जिकिर गरे । उनले एकल बहुमत दाबी नै गरे । त्यसपछि दाङकै एमाले सांसद अमरबहादुर डाँगीले राजीनामा दिए । डाँगी माधव नेपाल निकट हुन् । उनको राजीनामाले मुख्यमन्त्री पोखरेल अल्पमतमा परे । अब उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । यसरी माधव नेपालले कुनैपनि रणनीति चालेर ओली र उनीनिकटलाई विफल बनाउन लागिपरेको सन्देश दिइसकेका छन् ।

संघीय संसदमा ओली विश्वासको मत लिन बढेका छन् । तर, उनले विश्वासको मत पाउन कठिन छ । ओलीले सबैभन्दा ठूलो दलको हैसियतले फेरि प्रधानमन्त्री बन्ने रणनीति बनाएका छन् । तर, त्यो अवस्था अगावै उनलाई हटाउन माधव नेपालले १५ देखि २१ सांसदलाई राजीनामा दिन लगाएर भएपनि ओलीलाई रोक्ने तयारी गरिसकेका छन् । उनी पक्षधर प्रत्यक्ष निर्वाचित १५ सांसद सम्मले राजीनामा दिएमा काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र समूहबीच समिकरणलाई बहुमत पुग्छ ।

उनले त्यसको सन्देश कर्णाली र लुम्बिनी प्रदेशमा दिइसकेका छन् । उनी कुनै हालतमा ओलीलाई प्रधानमन्त्री रहन नदिने गरी राजनीतिक जीवनकै कठोरतम कदम चाल्ने तयारीमा छन् । एमालेको सांसद भएर पनि एमालेकै संसदीय दलका नेताविरुद्ध मत दिन समेत तयारी अवस्थामा माधव नेपाल समूह सक्रिय भएको छ । जे गरेर भएपनि ओलीलाई पराजित गर्ने बढेका छन् ।  रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय