बिहिबार , चैत्र १५, २०८०

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी कांग्रेससमक्ष ‘अर्ली इलेक्सन’को प्रस्ताव गरेका छन्। यसका लागि प्रधानमन्त्री ओलीले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूसँग सहकार्य गर्ने प्रस्ताव अघि सारेका हुन्।

प्रधानमन्त्री ओलीले आवधिक निर्वाचनसम्मै सहकार्य गर्नुपर्ने बताए। तर, समयभन्दा अलिकति अगाडि पनि निर्वाचनमा जाने सकिने भन्दै ओलीले कांग्रेस नेताहरुलाई सहमत गराउने प्रयास गरेका थिए। उनले निर्वाचन तोकिएकै समयमा स्वतन्त्र र निष्पक्ष ढंगले गराउने प्रतिबद्धता जनाएका थिए।

‘निर्वाचन हुँदा तपाईंहरूकै स्थिति राम्रो हुने हो। यो अवस्थामा तपाईंहरू नै मुख्य शक्ति भएर उदाउनु हनेछ’, उनले भनेका थिए। उनले चुनावी सरकारमा कांग्रेसको सहभागिताको प्रस्तावसमेत गरे। ‘तपाईंहरू पनि चुनावी सरकारमा संलग्न हुन सक्नुहुनेछ’, उनले भने।

उनले संविधानबमोजिम आफूले वैशाख २७ गते विश्वासको मत लिन लागेको सुनाएका थिए। तर, ओलीले विश्वासको मतभन्दा पनि राष्ट्रिय सन्दर्भलाई जोड दिएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले बताए। ‘हामी (एमाले र कांग्रेस) लोकतन्त्रका लागि निरन्तर लडिरहेका शक्ति हौं। कति आन्दोलन गरियो, जेलनेल भोगियो। अब यसलाई निश्कर्षमा पुर्‍याउनु पनि हाम्रो दायित्व हो। यसैले एक भएर अघि बढ्न आग्रह र प्रस्ताव गर्छु’, ओलीको भनाइ उद्धृत गर्दै नेता नेम्बाङले भने, ‘२७ गतेको विषय मुख्य होइन। यो त संविधानबमोजिम भइहाल्छ। मुख्य प्रश्न र चुनौती लोकतन्त्रको रक्षा हो।’

ओलीले लोकतन्त्र र संविधानप्रति आफू पूर्ण प्रतिबद्ध रहेको भन्दै कांग्रेस नेताहरूलाई आश्वस्त पार्न खोजेका थिए। लोकतन्त्र र संविधानमा अलिकति पनि धब्बा लाग्न नदिने उनको भनाइ थियो। देउवासहित कांग्रेस नेताले सरकारको प्रतिबद्धता कार्यान्वयनमा आए मात्रै विश्वासको वातावरण बन्ने बताएका थिए। उनीहरूले राष्ट्रिय सन्दर्भमा प्रधानमन्त्रीले विपक्षी दलका नेताकहाँ आएर खुलस्त कुरा राख्नु सकारात्मक भएको बताएका थिए। ‘प्रधानमन्त्रीले राष्ट्रिय सन्दर्भमा विपक्षी दलका नेताकहाँ आएर खुलस्त कुरा राख्नुभयो। यो नेपालको इतिहासमा ऐतिहासिक घटनाको रुपमा दर्ज हुनेछ’, कांग्रेस नेताहरुको भनाइ छ, ‘अलि चाडो आउनुभएको भए अझ राम्रो हुन्थ्यो। ढिलै भए पनि यो राम्रो सुरुवात हो। तपाईंको प्रस्तावको विषयमा हामी छलफल गर्छौं। निष्कर्ष बताउँछौं।’

उनीहरूले विपक्षीको हैसियतले विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका थिए। तत्काल सत्ता सहकार्य सम्भव नरहेको कांग्रेस नेताको मत छ। विश्वासको मतको परिणामपछि थप विषयमा छलफल गर्न सकिने धारणा कांग्रेस नेताले राखेका थिए।

उक्त पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले दुवै पक्षबीच सौहार्दपूर्ण रूपमा कुराकानी भएको बताए। ‘विश्वासको मतमा उहाँले सहयोगको अपेक्षा गर्नुभयो। हामीले स्वाभाविक रूपमा विपक्षी पार्टी हौं र हामीले तपाईलाई सहयोग गर्ने अवस्था छैन भन्ने स्पष्ट राख्यौं’, बैठकपछि सहमहामन्त्री डा. महतले भने।
ओलीले भने कांग्रेस र एमाले नमिल्दासम्म संसदले नयाँ सरकार दिने सम्भावना नरहेको भन्दै ‘मिलेर जानुपर्ने’ प्रस्ताव गरेका थिए। प्रधानमन्त्री ओलीले लामै कुरा राखेको डा. महतले बताए। ‘सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका साथै लुम्बिनी र गण्डकी प्रदेशमा भएको गतिविधिबारे प्रश्न उठायौं’, डा. महतले भने, ‘प्रधानमन्त्रीज्यूले जे भनिरहनुभएको छ, त्यसअनुसार व्यवहारमा आउनुपर्‍यो।’

कांग्रेस नेताहरुले कोराना भाइरसको महामारी रोकथामका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थिए। विपक्षी भए पनि कोराना महामारी नियन्त्रणमा सहकार्य गर्न तयार रहेको उनीहरूको प्रस्ताव थियो। उनीहरूले कोरोना महामारीमा बेड, अक्सिजन नपाएर जनता पीडामा रहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

ओली कांग्रेस नेताहरुसँग भेटवार्ता गर्न अपराह्न ४ बजे देउवा निवास बूढानीलकण्ठ पुगेका थिए। त्यहाँबाट ६ बजेर १५ मिनेटमा फर्किएका थिए। प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, दलका उपनेता नेम्बाङ, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल देउवा निवास पुगेका थिए। छलफलमा कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, नेता कृष्णप्रसाद सिटौला सहभागी थिए।

एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव प्रधानमन्त्रीविरुद्ध एकजुट हुँदै छन्। उनीहरु देउवालाई मनाउन हरसम्भव प्रयास गरिरहेका छन्। उनीहरुले महाराजगञ्जस्थित एक घरमा देउवालाई बोलाएर छलफल गरेका थिए।

ओलीविरुद्ध कांग्रेस, माओवादी, एमाले नेपाल र जसपा यादव समूहको गठबन्धन
एमाले शीर्ष नेतासहित प्रधानमन्त्री ओली देउवा निवास बूढानीलकण्ठमा
बूढानीलकण्ठमा प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्ष नेताको छलफल सकियो : के कुरा भयो ?
कोरोना त्रास : प्रतिनिधिसभा अधिवेशनमा दुई कुर्सी खाली रहने
ओली सरकार निरन्तर रहे लोकतन्त्र र राष्ट्रियताकै मुद्दा खतरामा : माओवादी केन्द्र

annapurna post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय