बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली केही मन्त्री र पार्टीका नेताको साथमा बुधबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पुगेर फर्किए।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल र सुवास नेम्वाङलाई लिएर प्रधानमन्त्री ओली देउवा निवास पुगेर कांग्रेस नेताहरूसँग छलफल गरेका थिए।

उक्त छलफलमा कांग्रेसका शीर्ष नेता पनि सहभागी थिए।

वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सहमहामन्त्री प्रकाशशरण महत रहेको उक्त छलफल मुख्यगरी ‘सत्ता सहकार्य’बारे केन्द्रीत थियो।

दुई पार्टीका शीर्ष नेताहरूबीच करिब एक घण्टा कुराकानी भएको थियो। कुराकानीको सुरूवात गर्दै प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए।

सहमहामन्त्री प्रकाशशरण महतका अनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै सहकार्यको प्रस्ताव पनि गरेका थिए। तर सभापति देउवाले प्रधानमन्त्री ओलीको प्रस्तावलाई स्वीकार गर्न नसकिने बताए।

‘म विश्वासको मत लिन गइरहेको छु, त्यसमा तपाईंहरूको सहयोगको अपेक्षा गरेको छु,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै महतले भने, ‘कांग्रेस र एमाले लोकतन्त्रका लागि सँगसँगै लड्दै आएको हो। म लोकतन्त्रप्रति प्रतिवद्ध छु।’

प्रधानमन्त्री ओलीको सहकार्य प्रस्तावबारे सभापति देउवाले आफूहरू विपक्षी पार्टी भएकोले पनि विश्वासको मत दिन नसकिने बताएका थिए।

‘तपाईंहरूलाई सहयोग गर्ने अवस्था छैन भन्ने कुरा सभापतिले राख्नुभयो,’ महतले भने, ‘व्यवहारिक रूपमा लोकतन्त्रप्रति तपाईं प्रतिवद्ध देखिनुभएको छैन। तपाईं प्रधानमन्त्री निर्वाचित भएदेखि नै संविधानका प्रावधान राम्रोसँग पालना गरिएका छैनन्।’

संवैधानिक परिषदलगायत अध्यादेश संसद छलेर ल्याइएकोमा देउवाले प्रधानमन्त्री ओलीसँग असन्तुष्टि जनाए।

‘संसदलाई छलेर संवैधानिक परिषदलगायत अध्यादेश ल्याइएका छन्,’ उनले भने, ‘लोकतन्त्रप्रति प्रतिवद्ध भएको व्यवहारत देखिँदै गयो भने भोलिका दिनमा सहकार्य गर्न तयार नै छौं।’

तर प्रधानमन्त्री ओलीले अपेक्षा गरेजस्तो संसदबाट विश्वासको मत दिएर अहिले जान सक्ने अवस्थामा कांग्रेस नरहेको देउवाले प्रष्टाएका छन्।

‘तपाईंलाई विश्वासको मत दिने अवस्था अहिले छैन,’ बैठकमा देउवाले राखेका कुराबारे महतले भने, ‘सत्ता सहकार्यका कुरा हामीले अहिले गर्ने अवस्था पनि छैन। विपक्षी दलका हिसावले पनि यो कुरा सम्भव छैन।’

कांग्रेसले वैशाख २७ मा संसदमा प्रधानमन्त्री ओलीका विरूद्ध मतदान गर्ने पनि महत बताउँछन्।

‘हामी प्रधानमन्त्रीलाई मत दिँदैनौं। अरू दललाई पनि भन्छौं,’ उनले भने। ओलीबाट कांग्रेस नेतृत्वमा सरकार बनाउने प्रस्ताव भने नआएको महतको दाबी थियो।

महतका अनुसार कोरोना महामारी नियन्त्रणमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण आज पनि कांग्रेसले गरेको छ। सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय