शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

कोरोना संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले उद्योग तथा व्यक्तिलाई होल्ड गरेका अक्सिजन सिलिण्डर फिर्ता गर्न निर्देशन दिएको छ।

अस्पतालमा अक्सिजन आवश्यक पर्ने बिरामीको चाप बढेको र सिलिण्डरको अभाव हुन थालेको भन्दै प्रशासनले होल्ड गरिएका सिलिण्डर फिर्ता ल्याएर उपचारमा प्रयोग गर्ने निर्णय गरेको हो।

बुधबार सम्पन्न कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले अक्सिजन उत्पादन गर्ने उद्योग तथा सप्लायर्सले उद्योग तथा व्यक्तिलाई दिएका अक्सिजन सिलिण्डरहरू फिर्ता कोरोना संक्रमितको उपचारमा प्रयोग गर्नेगरी फिर्ता ल्याउने निर्णय गरेको हो।

‘फिर्ता लिनमा कुनै कठिनाइ भए प्रहरीको समेत सहयोग लिइनेछ,’ बैठकको निर्णयमा लेखिएको छ।

चितवनका उद्योग तथा सप्लायर्सहरूले उत्पादन तथा विक्री वितरण गर्नेमध्ये ५० प्रतिशत अक्सिजन सिलिण्डर उद्योगहरूमा प्रयोग हुन्छ। बाँकी ५० प्रतिशत सिलिण्डर अस्पताल र बिरामीका लागि भनेर घरमा राखेर प्रयोग हुने गरेको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले प्रशासन कार्यालयको स्वीकृतीबेगर अन्य जिल्लामा अक्सिजन विक्री गर्न नपाउने निर्णय पनि बैठकले गरेको बताए।

‘जिल्लास्थित अक्सिजन उत्पादन गर्ने उद्योग, अस्पतालहरूले पूर्ण क्षमतामा अक्सिजन उत्पादन गरी मौज्दात राख्ने निर्णय गरेका छौं,’ लामिछानेले भने, ‘अक्सिजनको अभावमा कोही पनि उपचारबाट बञ्चित हुनु नपरोस् भन्नेमा हामी सचेत छौं।’

बैठकले अक्सिजन विक्री वितरणको अभिलेख दैनिक अद्यावधिक गर्ने र अक्सिजनको अभावमा उपचार प्रभावित हुने भए समयमै केन्द्रमा जानकारी गराउनुपर्ने निर्णय गरेको उनले बताए।

कोभिड १९ संकट व्यवस्थापन केन्द्रले कोरोना संक्रमितको उपचारका लागि अस्पतालहरूमा अक्सिजन सिलिण्डर कम रहेकाले स्थानीय तहहरूलाई कम्तीमा आफ्नो तहलाई आवश्यक पर्ने सिलिण्डर खरिद गर्न आग्रह गरेको छ।

चितवनमा अक्सिजन उत्पादन गर्ने एउटामात्रै उद्योग छ। त्यसबाहेक यहाँका चार वटा अस्पतालहरूका आ-आफ्नै अक्सिजन प्लान्ट छन्।

भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका आ–आफ्नै अक्सिजन प्लान्ट छन्। ती प्लान्टहरुले उत्पादन गर्ने अक्सिजन चितवनका लागि पर्याप्त भएपनि अक्सिजन भर्ने सिलिण्डर भने चाहिने भन्दा कम हुँदा समस्या भएको अस्पतालहरूले जनाएका छन्।

कोरोना संक्रमितको उपचार गराइरहेका भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा एक–एक सयवटा अक्सिजन सिलिण्डरहरू छन्।

जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ६ सय नाघेको छ। केही दिनयता दैनिक २०० भन्दा बढी संक्रमित थपिएका छन्।

जिल्लामा रहेको उद्योग र अस्पतालका प्लान्टले उत्पादन गर्नेबाहेक नवलपरासी र काठमाडौंमा उद्योग रहेका केही सप्लायर्सहरूले पनि चितवनमा अक्सिजनको विक्री वितरण गर्ने गरेका छन्। सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय