आइतबार , कार्तिक ७, २०७८

जनकपुरधाम उपमहानगरपालिका- ६ का कासिम अन्सारी १० वर्षदेखि जानकी मन्दिरको छेउमा रहेको अरगज्जा पोखरीको डिलसँगै जोडिएको फुटपाथमा कपडा बेच्छन्। यही व्यापारमा नि’र्भर छ उनको ६ जनाको परिवार।

कोरोना महामारीको दोस्रो लहर आएपछि मंगलबारदेखि स्थानीय प्रशासनले जनकपुरधामसहित धनुषाका १८ वटै स्थानीय तहमा नि’षेधाज्ञा जारी गरेको छ। नि’षेधाज्ञासँगै कासिमको व्यापार पनि बन्द भएको छ।

कासिम घरमा कमाउने एक्ला व्यक्ति हुन्। निषेधाज्ञापछि कासिमलाई आफ्नोसँगै परिवारका अरू पाँच जनाको बिहान-बेलुका हातमुख कसरी जोड्ने होला भन्ने पीरले सताउन थालेको छ।

‘निषेधाज्ञाअघि दिनभर पसल चलाउँथे। त्यसैको आम्दानीले घर चलेको थियो। आजदेखि त्यो पनि बन्द भयो। अब कसरी यो १० दिन कट्छ कुन्नि,’ अन्सारीले मंगलबार सेतोपाटीसँग भने, ‘व्यापार नचल्दा त केही दिन कसैले मेरो समस्या बुझिदेला तर पेटलाई कसरी मनाउने?’

कासिमका तीन छोरी र एक छोरा छन्। छोरालाई उनले मदरसाको होस्टेलमा राखिदिएका छन्। छोरीहरूलाई सामुदायिक विद्यालयमा पढाइरहेका छन्। व्यापार नचले अब मदरसालाई बुझाउनु पर्ने पैसा कहाँबाट ल्याउने होला भन्ने चिन्ताले अचेल उनलाई राति राम्ररी निद्रा लाग्दैन।

छोराको पढाइका लागि कासिमले वर्षको २० देखि २५ हजार रुपैयाँसम्म मदरसालाई बुझाउनु पर्छ।

उनलाई फेरि आफ्नो अवस्था पोहोरजस्तै हुने हो कि भन्ने पीर उनलाई छ।

पोहोरको लकडाउनको नमीठो अनुभव अहिले पनि कासिमको दिमाग ताजै छ।

गतवर्ष कोरोनाको पहिलो लहरमा सरकारले निरन्तर ६ महिनासम्म लकडाउन गरेपछि परिवारको गर्जो टार्न उनले साहुबाट ऋण लिएका थिए। त्यो ऋण अहिले पनि तिरिसकेका छैनन्।

‘पोहोर ६ महिनासम्म बन्द हुँदा परिवार पाल्न ८० हजार ऋण लिनु परेको थियो,’ उनले भने, ‘ऋण त तिर्न सकिनँ यस वर्ष फेरि त्यस्तै हुन लागेको देख्दा मेरो शरीर का’म्न थालेको छ।’

उनको गुजारा चलाउने माध्यम नै व्यापार हो। त्यो पनि ठप्प भए ऋण तिर्न जम्मा गरेको पैसा खाएर सकिन्छ।

‘यसपटक समेत ऋण लिनुको विकल्प छैन मसँग,’ उनले भने।

‘भीडभाड नियन्त्रण तथा सरसफाइमा ध्यान दिएर बजार खोलेको भए फुटपाथमा व्यवसाय गर्नेलाई भार पर्दैनथ्यो,’

कासिमजस्तै जानकी मन्दिरको प्राङ्गणमै जनकपुरधाम उपमहानगरपालिका- ५ का वीरेन्द्र भण्डारी पनि फुटपाथमा फूलमाला बेच्छन्।

उनले मलेसियाबाट कमाएर ल्याउन सकेका थिएनन्। परिवारले बिहान-बेलुका सजिलै हातमुख जोड्न सकून् भनेर फर्केर आएपछि उनले पुर्ख्यौली पेशा फूलमालाको व्यापार थाले।

सन् २०२० जनवरी महिनामा घर फर्केका भण्डारीले वैदेशिक रोजगारीमा जाने क्रममा लिएका ऋणको ५० हजार रुपैयाँलाई बुझाउन अझ पनि बाँकी नै छ।

फूलमाला बेचेर ४ जनाको परिवार चलाउँदै आइरहेका भण्डारीका लागि निषेधाज्ञापछि आम्दानीको सबै स्रोत नै बन्द भएको छ। उनलाई पनि परिवार पाल्न फेरि ऋण लिनु पर्ने चिन्ताले सताइरहेको छ।

‘ऋण नलिएपछि त परिवार चलाउने अर्को विकल्प छैन,’ भण्डारीले भने, ‘लकडाउन सकिएपछि ती दुबै ऋण तिर्छु।’

निषेधाज्ञापहिले वीरेन्द्र फूलमाला बेचेर दिनको १५ सयसम्म कमाउँथे। निषेधाज्ञापछि बाँकी रहेका फूल अब फाल्नुपर्ने भएको छ।

‘अहिले विवाहको सिजनसमेत छ, कमाइ हुने बेला थियो तर सबै चौपट भयो,’ उनले भने।

व्यापार जे भए पनि सरकारले लगाएको निषेधाज्ञाको पूर्ण पालना गर्ने उनी बताउँछन्।

आफूजसरी सानोतिनो व्यापार गरेर परिवार चलाउनेलाई सरकारले सहयोग गरेको भए हुन्थ्यो भन्ने उनको अपेक्षा छ।

जनकपुरधामकै रविकुमार साह लड्डु, पेडालगायत मिठाइ बेच्छन्। उनको यो व्यवसाय पहिले जानकी मन्दिरको प्राङ्गणभित्रै थियो। त्यहाँबाट हटाएपछि उनको पसल ठेलामा छ।

रविका अनुसार उनको पुर्खाले नै यो व्यवसाय गर्दै आएका हुन्। उनको परिवारले जनकपुरमा लड्डु-पेडाको व्यापार गरेको ५० वर्ष भइसक्यो।

‘बाजेले यो व्यापार सुरू गरेर जानुभयो। पछि बुवा र दाइले पनि यही काम गर्नुभयो,’ रविले भने, ‘जनकपुरमा हाम्रो पसलबारे सायदै कसैलाई थाहा नहोला।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय