बिहिबार , चैत्र १५, २०८०

काठमाडौं, २२ वैशाख ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका अहेव ठगुराम भण्डारी वैशाखीबिना उभिन सक्दैनन्। गत चैत २२ मा उनी सवार मोटरसाइकललाई बाटो खनिरहेको डोजरले ठक्कर दियो।

त्यतिबेला उनी सर्वसाधारणलाई कोरोनाविरूद्धको खोप लगाइदिएर फर्किँदै थिए।

घोराही उपमहानगरपालिका(२ रामपुर चोकमा बाटो खनिरहेको डोजरले ब्याक गर्ने क्रममा उनको मोटरसाइकललाई ठक्कर दियो।

डोजरको ठक्करले उनी लडे र दायाँ खुट्टाको फिबुला भाँच्चियो। अस्पताल पुगेर खुट्टामा प्लाष्टर गरे।

२३ गते फेरि उनी फेरि काममा नगई भएन।

प्रतिष्ठानमा कोभिड(१९ विरूद्धको खोप लगाउने तालिम तीन जनाले मात्रै लिएका थिए। भण्डारी, प्रसुति वार्डकी राधा बुढा र शोभा आलेले मात्रै सर्वसाधारणलाई खोप लगाउन सक्ने थिए।प्रसुति वार्ड छोडेर बुढा कोरोनाको खोप लगाउन टाढा जान नमिल्ने।

त्यही भएर भण्डारी ड्युटीमा नआई भएन। वैशाखीमै उनी ड्युटीमा खटिए। खोप लगाई सकेपछि चैत २४ गते एकदिन बिदा भयो। २५ गतेदेखि भण्डारी फेरि ड्युटीमा जानै पर्ने भयो।

त्यतिबेला कोरोनाका बिरामी धेरै बढे। इमरजेन्सी वार्ड हेर्ने अहेबको अभाव भयो। त्यो कुराले भण्डारीको मन आत्तियो।

शरीरलाई आराम चाहिएको भए पनि उनी घरमा बसिरहन सकेनन्।‘कोभिडका कारण मभन्दा धेरै अप्ठेरो अवस्थामा सर्वसाधारण छन्,’ भण्डारीले भने, ‘मेरो सेवाको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भनेरै म काममा फर्किएको हुँ।’

उनले आफू अहिले पनि उच्च मनोबलका साथ काममा खटिएको प्रतिक्रिया दिए।

‘मलाई अफिसले काममा आउनै पर्छ भनेर निर्देशन दिएको हैन,’ उनले भने ‘यो महामारीका बेला हामीजस्ता स्वास्थ्यकर्मी सकभर घरमा बस्नुहुन्न, सेवामा खटिनुपर्छ भन्ने मेरो मान्यता हो।’

अहिलेको अवस्थामा कतिपय कर्मचारीलाई संक्रमण भएको हुँदा कर्मचारी अभाव रहेको र सीमित कर्मचारी मिलेर सिफ्ट सञ्चालन गरिरहेको उनले बताए।

‘हामी दैनिक १० देखि १२ घन्टा ड्युटी गरिरहेका छौं,’ उनले भने, ‘पाँच दिन दिउँसो र बाँकी रातिको समय मिलाएर ड्युटी गरिरहेका छौं।’

परिवारले पनि सकभर आफूले केही कष्ट उठाएर भए पनि महामारीको समयमा अरूको ज्यान जोगाउनु पर्छ भनेर हौसला थप्ने गरेको ४२ वर्षीय भण्डारीले बताए।

सबैले आ-आफ्नो ठाउँबाट सक्रिय भएर सकारात्मक पहल गरे कोभिड(१९ विरूद्धको लडाइँ जित्न सजिलो हुने उनको विश्वास छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७ बेडको अक्सिजनसहितको आइसोलेसन रहे पनि अहिले २७ बिरामीको उपचार भइरहेको अस्पतालको प्रेस संयोजक निशान भट्टराईले बताए।

उनका अनुसार हाल प्रतिष्ठानमा १२ जना दमका बिरामीको पनि उपचारमा अक्सिजन प्रयोग हुँदै आएको छ।

बिरामीलाई दिन अक्सिजन सिलिन्डर अभाव भएपछि दाङ उद्योग वाणिज्य संघ घोराहीले प्रतिष्ठानलाई ५० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई ५० वटा खाली सिलिन्डर दिएको छ।  दैनिक न्यूज नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय