बिहिबार , चैत्र १५, २०८०

काठमाडौँ, २२ वैशाख।

कोरोना भाइरसको जोखिम बढेपछि सरकारले निषेधाज्ञा थप कडा पारेको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञामा पनि सवारी साधान र आवतजावत बाक्लो देखिएपछि कडाई शुरु गरिएको हो ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रजिअले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ । सोही अधिकार प्रयोग गरी आज जारी आदेशानुसार फुटपाथ, खुला ठाउँ, ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यापार÷व्यवसाय एवं कवाडी सङ्कलनमा समेत रोक लगाइएको छ ।

यसअघि यस्ता पसल निर्बाध रुपमा सञ्चालन भएको थियो । आदेशमा उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्य रुपमा १० दिनको क्वारेन्टिनमा राख्ने प्रतिबद्धतासहितको सिफारिशका आधारमा गन्तव्यस्थलमा जान दिने भनिएको छ । सूचना विभागको पास नभएका पत्रकारको विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाएर मात्रै काममा खटिने व्यवस्था गरिएको छ ।

सबै पास रद्द
यसअघि वितरित सबै पास रद्द भएको छ । कार्यालयको पास जाँचमा कडाइ गरिने भएको हो । अब कुनै पनि कार्यालयले एकचौथाइ कर्मचारीलाई मात्रै पास उपलब्ध गराएर काम गर्नुपर्नेछ ।

केन्द्रीय बैंक तथा वित्तीय संस्थाहरूले पनि २० प्रतिशत कर्मचारी राख्न पाउनेछन् भने २५ प्रतिशतमात्रै शाखा कार्यालय खोल्न पाइने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुखहरू बसेर गरिएको निर्णयबारे भट्टराईले भने, ‘यसअघि जारी गरिएका सबै पास रद्द गरिनेछ ।’ प्रजिअ भट्टराईका अनुसार अत्यावश्यकबाहेक अरूलाई पास जारी गरिनेछैन ।

सभासम्मेलन
आदेशमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, दर्शकसहितको खेलकूद सञ्चालन गर्न पाइने छैन । यस्तै मानिसको भीडभाड हुने सबै प्रकारका कार्यक्रमसमेत सञ्चालन गर्न नपाइने काठमाडौँ प्रशासनले जनाएको छ ।

आवतजावत
सर्वसाधारणले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैन । अत्यावश्यक काममा निस्किँदा पनि दुई व्यक्तिबीच कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्ने छ । अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, पटकपटक साबुन पानीले हात धुन र सेनिटाइजरको प्रयोग गर्न आदेशमा भनिएको छ ।

सवारी साधन सञ्चालन
सार्वजनिक एवं निजी सवारी साधन वैशाख २९ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा ९बढीमा दुई० बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन उपत्यका प्रवेशमा रोक लगाइएको छ ।

अत्यावश्यक सेवा एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको पोका, कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन, खाना पकाउने ग्यास, दूरसञ्चार इन्टरनेट, क्वारेन्टिन, आइसोलेशन, फोहरमैला व्यवस्थापन सरसफाइमा प्रयोग हुने साबुन, स्यानिटाइजर, कुरियर तथा डाँक सेवा, प्रिन्ट तथा सरकारी छापाखानालगायत ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ ।

विकासनिर्माणका सम्बन्धमा सम्बन्धित आयोजनाले नै आवासीय कामदार राखी अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गरी कार्य सञ्चालन गर्ने गराउने र निर्माण सामग्री ढुवानीमा राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्र आवतजावत गर्न पाइने छ ।

अन्तराष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, राहदानी र प्रवेशाज्ञा हुनेलाई सीधै विमानस्थल जाने सवारी साधनका हकमा सहजीकरण गरिने छ । यीबाहेकका अन्य अत्यावश्यक काम ९अस्पताल आउने जाने बिरामी, कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रुपमा उपस्थित हुनुपर्नेको हक०मा सवारी साधन प्रयोग गर्नुपर्ने भएमा प्रजिअबाट अनुमति पास लिनुपर्ने जनाइएको छ । औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा सञ्चालन गर्न पाइने छ ।

अत्यावश्यक खाद्य सामग्री
अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्टल स्टोर ९खाद्य सामग्री बिक्री गर्ने मात्र० भने बिहान ९ बजेसम्म मात्र खुला गर्न पाइने छ । यसअघि बिहान १० बजेसम्म र साँझ ४ देखि ७ बजेसम्म खुला गर्न पाइने व्यवस्था थियो । स्थानीय ढुवानीका हकमा बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।

खाद्य सामग्री, ग्रोसरी पसल, औषधि पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने छ ।

विवाह ब्रतबन्ध र पूजा
विवाह व्रतबन्धका हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्नेगरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्रै आवतजावत गर्न पाइने छ । नित्य पूजाबाहेक सबै धार्मिक, सांस्कृतिक गतिविधि सञ्चालन गर्न पाइने छैन । यसअघि वैशाख १६ देखि बुधबार राति १२ बजेसम्मका लागि निषेधको आदेश जारी गरिएको थियो । नयाँ आदेश भोलीदेखि लागू हुनेछ । रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय