शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

दोस्रो लहरको कोरानाको नयाँ भेरियन्टको संक्रमण ह्वात्तै बढेर जटिल प्रकारका संक्रमितले अस्पताल भरिभराउ भएका छन्। अक्सिजनको सर्पोट चाहिने संक्रमितको संख्या बढ्दै जाँदा सीमित अक्सिजन उत्पादन रहेको सुदूरपश्चिम प्रदेशका अस्पतालमा अक्सिजनको चरम अभाव भएको छ। अक्सिजन नपाएर कयौं संक्रमितको ज्यान गएको छ। छटपटाइरहेका संक्रमितको अक्सिजन नपाएर ज्यान बचाउन धौधौ परेको चिकित्कसले बताएका छन्। अक्सिजनका सिलिण्डर आएका बेला संक्रमितका आफन्तको लुछाचुँडी गर्ने गरेका छन् भने संक्रमितले अक्सिजन नपाएर ज्यान बचाउन नै गाह्रो भएपछि अक्सिजनका लागी संक्रमितका आफन्तले सोर्सफोर्स तथा सबैतिर याचना गर्ने गरेका छन्।

‘अक्सिजनको अभाव छ, राति १२, १ बजे पनि अक्सिजन खोजिदिनुपर्‍यो भनेर फोन आउने गरेका छन्,’ जिल्ला कोभिड संकट व्यवस्थापनका संयोजक रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अक्सिजन अभावले उत्पन्न अवस्थाबारे भने, ‘अक्सिजनको अभाव हटाएर संक्रमितलाई अक्सिजन सहज बनाउन हामी लागिरहेका छाैं।’ सुदूरपश्चिमको सबैभन्दा ठूलो मानिएको सेती प्रादेशिक अस्पतालमा जडान भएको अक्सिजन प्लान्ट चौबिस घण्टामा जम्मा ७ सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको छ।

विद्युत्को गडबडीलगायतले अहिले ५५, ६० सिलिण्डर मात्र उत्पादन भइरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। सेती प्रादेशिक अस्पतालमा अहिले दिनहुँ डेढ सय जति अक्सिजन सिलिण्डर आवश्यक रहेको उनले बताए। यसैगरी, महाकाली प्रादेशिक अस्पतालमा जडान भएको अक्सिजन प्लान्टको क्षमता २४ घण्टामा १२ सिलिण्डर अक्सिजन उत्पादन गर्ने मात्र रहेको अस्पातलका मेडिकल सुपरिटेन्डेन्ट हरि श्रेष्ठले बताए। ‘हामीलाई अस्पतालमा कम्तीमा प्रत्येक दिन ४०, ५० सिलिण्डर अक्सिजन चाहिन्छ,’ उनले भने, ‘संक्रमितको चाप बढेमा अझै बढी खपत हुन्छ।’

यसैगरी डडेल्धुरा अस्पताल, टीकापुर अस्पताललगायतमा पनि अक्सिजनको कमी छ। सुदूरपश्चिमका ६ वटा पहाडी जिल्लामा अहिलेसम्म अक्सिजनको सहायतामा उपचार गर्न नै सुरु गरिएको छैन। सुदूरपश्चिमभरिमा एक मात्र निजी ग्यास उद्योग रहेको छ। निजी उद्योगले पनि ७०, ८० मात्र अक्सिजन सिलिण्डर अस्पताललाई उपलब्ध गराईरहेको छ। नेपालगन्जबाट पनि आवश्यकता अनुसार अक्सिजन सिलिण्डर नआएकाले समस्या भएको सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीले बताए। ‘अक्सिजनको धेरै समस्या भएको छ,’ उनले भने, ‘अक्सिजन नपाएर बिरामी छटपटाइरहेका छन्।’ प्रदेश सरकारले तदारुकताका साथ काम नगर्नाले समस्या भैरहेको उनी बताउँछन्।

सुदूरपश्चिममा दिनहुँ ५ सय अक्सिजन सिलिण्डर खपत रहेको उनी बताउँछन्। बाँकेमा रहेको उद्योगले पनि अहिले कम अक्सिजन सिलिण्डर आपूर्ति गर्ने र सुदूरपश्चिममा उत्पादन नै कम भएकाले अक्सिजनको ठूलो समस्या भएको उनले बताए। खाली सिलिण्डरको नै अभाव अक्सिजनका खाली सिलिण्डरको नै अभाव भएको छ। डेढ सय अक्सिजन सिलिण्डर खपत हुने ठाउँमा ३ सय सिलिण्डर आवश्यक पर्छ। सेती प्रादेशिक अस्पतालमा जम्मा १ सय १० पुराना र अहिले नयाँ ३५ किनेको सूचना अधिकारी श्रेष्ठ बताउँछन्। भेरीबाट अक्सिजन सिलिण्डरको संख्या बढाउन पहल भइरहेको प्रजिअ रिजालले बताएका छन्।

सुदूरपश्चिम प्रदेश सरकारका समाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले कोरोना संक्रमणको अहिलको अवस्था असमान्य रहेकोले क्षमता अभाव भएको बताए। ‘अहिलेको असमान्य अवस्था हो, हामी क्षमता विस्तार गर्नमा लागिरहेका छौं,’ उनले भने। अक्जिन सिलिण्डरको अभाव रहेकाले सिलिण्डर खरिद गर्ने प्रक्रिया थालिएको उनले बताए। सेती प्रादेशिक अस्पतालका कोराना उपचार विभाग प्रमुख डा. शेरबहादुर कमरले निमोनिया देखिने, श्वास फेर्न गाह्रो हुने, अक्सिजन कम हुनेलगायतका लक्षण भएका अस्पतालमै राखेर उपचार गराउनुपर्ने जटिल संक्रमितहरूको संख्या बढी भएकाले संक्रमितको उपचारका लागी अक्सिजन अनिवार्य हुनुपर्ने बताए। पहिलेको भन्दा शक्तिशाली नयाँ भेरियन्टको कोराना भएकाले अस्पताल आएका प्रायः सबैजसो संक्रमितलाई अक्सिजनको सर्पोट चाहिने उनले बताए। अहिले सुरुवाती अवस्थामै संक्रमितले बेड नपाउने, अक्सिजन नपाउने अवस्था आएकोमा चिन्ता गर्दै उनी संक्रमण बढेपछि कल्पना गरेभन्दा जटिल अवस्था हुने संकेत देखिएको बताउँछन्।

‘अहिले सुरुवातमै यस्तो समस्या देखिदैछ, पिकमा पुग्न बाँकी छ, दुई चार महिना हताहती हुने संख्या धेरै हुनसक्छ,’ उनले भने, ‘अक्सिजनलगायतको साधनस्रोत, बेडको समस्या हुन नदिन ध्यान दिइनुपर्छ,’ प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा ४ हजार १ सय ६५ सक्रिय संक्रमित रहेका छन्। सबैभन्दा कैलालीमा १९ सय ३८ सक्रिय संक्रमित छन् भने कञ्चनपुरमा ८ सय ९५ सक्रिय संक्रमित रहेका छन्। सुदूरपश्चिममा कोरोना संक्रमणको दोस्रो लहर चलेपछि वैशाख महिनामा मात्र ७ जनाको ज्यान गएको छ। अहिलेसम्म जम्मा १ सय ३२ जनाको मृत्यु भएको छ। नागरिकन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय