बुधबार , बैसाख १२, २०८१

सिन्धुली

जिल्ला कारागार निर्माणमा ठेकेदारले लापरवाही गरेको पाइएको छ । ८ करोड ८८ लाख रुपैयाँको लागतमा निर्माणाधिन कारागारको गुणस्तरहीन काम भएको पाइएपछि मंगलबार कमलामाई नगरपालिकाका मेयर र प्रमुख जिल्ला अधिकारी (सिडियो) ले निर्माण गरिएको पर्खाल भत्काइ दिएका छन् ।

मंगलबार संचारकर्मीसहित अनुगमनमा पुगेका मेयर खड्गबहाद्र खत्री र सिडियो सुरेश न्यौपानेले कारागारको कम्पाउण्ड वाल लात्ताले हानेर भात्काइ दिएका हुन् ।

डाँफे–धुलीखेल संजीव एण्ड ब्रदर्श जेभिले निर्माण गरेको वालमा गुणस्तरहीन सामग्रीको प्रयोग गरी कम सिमेन्ट हालेर पर्खाल निर्माण गरेको स्थानीयको गुनासोपछि अनुगमनका क्रममा पर्खाल भत्काइ दिएका हुन्।

मेयर खत्रीले करोडौं मुल्यको निर्माणमा गुणस्तरमा ध्यान दिन पटक–पटक अनुरोध गर्दा पनि निर्माण कम्पनीले लापरबाही गरेको बताए । ‘कारागार भवन निर्माण गर्दा समेत गुणस्तरहीन सामग्रीको प्रयोग भएको पाइएको छ । हामीले प्रमुख जिल्ला अधिकारीमार्फत गुणस्तर चेक गर्न भनेका छौं । गुणस्तरहिन काम भत्काएर पुनः निर्माण नगरेसम्म काम रोक्न भनेका छौं,’ खत्रीले भने ।

भवन निर्माण गर्दा स्टमेट अनुसार समेत नभएको पाइएको छ । निर्माण सामग्री तथा पुराना तारहरु सडकमै जथाभावी छाडिदिँदा स्थानीय दुर्घटनामा पर्ने गरेको समेत गुनासो आएपछि अनुगमन गरिएको र अनुगमनका क्रममा निर्माणमा गम्भीर लापरवाही गरिएको पाइएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए ।
‘अनुगमनमा देखिएको गुणस्तरहीन कामलाई तत्काल रोकेर ठकेदारलाई प्रशासन कार्यालयमा उपस्थित हुन भनेका छौं । काममा सुधार नगरे भुक्तानी रोकेर कारवाही गछौं,’ उनले भने ।

उता कारागारको शौचालयको ढल ग्वाङ खोलामा मिसाउँदा पुरै बस्ती दुर्गन्धित भएको भन्दै स्थानीयले चर्को विरोध समेत गरेका छन् । कारागारबाट ढल खोलामा मिसाउँदा खानेपानी खान, नुहाउन र गाई वस्तुलाई पानी खुवाउन समेत समस्या भएको स्थानीय गणेश श्रेष्ठले बताए ।

सो विषयमा समेत तत्काल समस्याको समाधान गर्न र शौचालयलाई व्यवस्थित गर्न निर्देशन दिइएको छ । कारागार प्रमुख (जेलर्स) मात्रीका पौडेलल कारागार भवन निर्माण कम्पनीलाई स्टिमेट अनुसारका निर्माण सामग्री प्रयोग गरेर काम गर्न पटकपटक भनिएको भएपनि आफूबाट कुनै लापरवाही नभएको बताए ।

‘मेरो तर्फबाट कुनै कमजोरी भएको छैन । मैले आज नै काम बन्द गरेर प्रमुख जिल्ला अधिकारीसमक्ष स्पष्टीकरण दिन भनि पत्रचार गर्ने छु । अन्य विषय नियमानुसार हुने छन्,’ उनले भने ।

कारागारको ढलका विषयमा भने कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी भएका कारण दैनिक सेफ्टी ट्यांकी सफा गर्नुपर्ने भएपछि यस्तो समस्या आएको उनले बताए । उता निर्माण कम्पनीका प्राविधिक श्याम पहरीले निर्माणमा केही कमजोरी भएको स्वीकार गर्दै निर्माणाधीन पर्खाल भत्काएर पुन:निर्माण गर्ने प्रतिवद्धता जनाए ।
‘हामीले मिस्त्रीलाई गुणस्तरीय काम गर्न धनेका थियौं । तर हामीहरु नभएका बेला मिस्त्रीले लापरवाही गरेर पर्खाललगायतका निर्माणमा लापरवाही गरेको पाइयो हामी त्यस्ता सबै काम पुनःनिर्माण गर्नेछौं,’ पहरीले भने ।

जिल्ला कारागार ८० जना कैदी बन्दीको क्षमता भएको भएपनि हाल ५ सय ८ जना कैदीबन्दी राखिएको छ । २०७६ पुसबाट निर्माण थालिएको कारागार भवन २०७८ असार मसान्तभित्र सक्ने गरी ठेक्का संझौता भएको थियो ।

annapurna post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय