
सुमन महतारा, गुल्मी ।
पछिल्लो समय युवाहरु पनि कृषि तथा पशुपालनमा आर्कषित हुन थालेका छन् । अहिले गाउँगाउँमा आधुनिक प्रविधिको प्रयोग गरी कृषि तथा पशुपालन गरेको देख्न प्रशस्त देख्न सकिन्छ ।
त्यस्तै गुल्मीमा पनि आधुनिक प्रविधिको प्रयोग गरी कृषि तथा पशुपालनमा युवाहरुको आर्कषण बढ्न थालेको छ ।
नेपालका युवाहरु जिविकोपार्जनका लागि बिदेश बाहेकको विकल्प देख्दैनन् । तर, पछिल्लो समय बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसले बिदेशको बिकल्पलाई तुहाइदिएको छ ।
गुल्मीको मालिका गाउँपालिकाका २५ वर्षीय युवा शाहिल खड्काले ५ वर्ष सम्म बिदेश परिश्रम गरेपछि स्वदेशमै फर्की आफ्नै गाउँ ठाँउमा अहिले आधुनिक प्रविधिबाट कुखुरा पालन व्यवसाय सुरु गरेको उनले बताए ।
अहिले उनको फर्ममा तीन हजार लेर्यस जातका कुखुरा रहेका छन् । जसबाट उनले मासिक ७५ हजार भन्दा बढीको कारोबार गर्ने गर्दछन् । उनको फर्ममा दुई जनाले रोजगार समेत पाएका छन् । गाउँमा आधुनिक प्रविधिको प्रयोग गरी कुखुरा पालन गरेपछि स्थानीयले उनको प्रशंसा गर्दै आएका छन् ।
सधै विदेशमा दु:ख गर्नु भन्दा स्वदेशमै केही गरौं भन्ने उदेश्यले नयाँ संरचना बनाएर कुखुरा पालन व्यवसाय सुरु गरेको उनी बताउँछन् ।
बिहानदेखि रात अबेर सम्म उनको समय कुखुरा फर्ममै बित्ने गर्दछ । उनको फर्म बाट उत्पादित अण्डा मालिका गाउँपालिकासंगै छिमेकी स्थानीय तहमा समेत खपत हुने गर्दछन् ।
स्थानीय सरकारबाट सहयोग साथ पाए व्यवसाय बढाउने उनको मनसाय रहेको छ ।अन्य युवाहरुलाई पनि स्वदेशमै केही गर्न उनी सुझाउँछन् ।
युवाहरु कृषि पेसा तर्फ आर्कषित हुनु सकरात्मक पक्ष भएकोले युवाहरुलाई यीनै पेसामा टिकाई राख्नु स्थानीय सरकारको दायित्व भएको जनप्रतिनिधि बताउँछन् । युवाहरुले यसरी गाउँमा आधुनिक प्रविधि भित्राएर कृषि तथा पशुपालन गरेपछि स्थानीय सरकारले पनि सहयोग गरिरहेको र गर्ने प्रतिबद्धता रहेको मालिका गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शोभाखर गिरिले बताए ।
पछिल्लो समय कृषि र पशुपालनमा आर्कषित भएका युवाहरुलाई स्थानीय सरकार देखी केन्द्र सरकारले विभिन्न अनुदान, तालीम, ज्ञान, सिप प्रदान गरी युवालाई उत्पादनमा प्रेरणा प्रदान गर्नु आवश्यक देखिन्छ । सेतोमसी