काठमाडौँ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मङ्गलादेवी बर्थिङ सेन्टरमा रहेको कोभिड वार्डको बाहिरपट्टि पेटीमा श्वास फुलिएर स्याँस्याँ गर्दै घोप्टो परेर भुइँतर्फ फर्किएर एकोहोरो हेरिरहेका थिए, राम श्रीवास्तव (नाम परिवर्तन) । कहिले जुरुक्क उठ्थे तर एकै छिनमा पेटीमा थचक्क बस्थे । बस्दा पनि उनलाई जिउ थाम्न निकै गाह्रो भएको देखिन्थ्यो । श्वास बढ्न केही कम हुँदा उनी दुई तीन मिनेट आँखा बन्द गर्थे । तर, फेरि स्वाँ स्वाँ भइहाल्थ्यो ।

उनी आत्तिएको देखेर बेड कुरेर बसिरहेका अर्का सङ्क्रमितले पिल्लरको आड लागेको ठाउँ छाडिदिन्छन् । अडेस लागेर बसेको केहीबेरमा खोकी र स्वाँ स्वाँले उनलाई झन् गाह्रो बनाउँछ । त्यसपछि खोक्दा आएको कफ, सिँगान त्यही खुल्ला ठाउँ थुक्छन् ।

उनको अवस्था देखेर पीसीआर परीक्षण गर्न अस्पताल पुगेकामध्ये एकले ढोकामा पुगेर स्वास्थ्यकर्मीलाई ‘उहाँलाई धेरै गाह्रो भए जस्तो छ, जसरी भए पनि बेड मिलाइदिनुहोस्’ भनेर भनेपछि मात्र एक स्वास्थ्यकर्मी सोधपुछ गर्न आएका थिए ।

त्यसपछि पनि उनी बेडको प्रतीक्षा कायमै रह्याे । उनी पुन: पिल्लरको आड लागेर बसिरहे । केही घण्टापछि उनकी श्रीमती पनि अस्पताल आइपुगिन् । ८ दिनदेखि बिरामी परेका श्रीवास्तव निको हुन्छ कि भनेर घरमै बसेका रहेछन् । सुगरका समेत बिरामी उनलाई धेरै गाह्रो भएपछि कोरोना सङ्क्रमण भएको आशङ्कामा पीसीआर गर्दा कोभिड पुष्टि भएको रहेछ । अनि मात्र उनी अस्पताल भर्ना हुन आएका थिए ।

अस्पताल आउने बित्तिकै उनकी श्रीमती आफ्नाे पतिको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै बेड मिलाइदिन ढोकाबाहिर निस्कने हरेक चिकित्सक र नर्सलाई बिन्ती गर्न थालिन् ।

त्यहीबीचमा एक चिकित्सक आएर ‘अहिले अक्सिजनयुक्त बेड खाली छैन, भित्र सबै बेड भरिएका छन्’ भन्ने जवाफ दिन्छन् । बरु उनलाई पेटीमा राखिएको बेडमै घोप्टो परेर पल्टन लगाउँछन् । त्यहाँ केही नहुने देखेर श्रीवास्तावकी श्रीमती बेड मिलाइदिन आफन्तलाई फोन लगाउन थाल्छिन् ।

यता, उनीजस्तै बेड कुरेर बसेका धेरै बिरामीलाई चिकित्सक तथा नर्सले अक्सिजन नाप्दै होम आइसोलेसन बस्नुस् भनेर फिर्ता पठाइरहेका थिए ।

घोप्टो परेर पल्टिएको करिब दुई घन्टापछि बल्ल ‘बेड पाइयो’ भनेर उनको भाइको फोन आयो । उनलाई लिएर चक्रपथसम्म आउनुस् भनेर भाइले बोलाएको भन्दै श्रीमान्लाई लिएर उनी त्यहाँबाट हिँडिन् ।

यो त एउटा अस्पतालको दृश्य हो । यसरी बेड र अक्सिजनको पर्खाइमा उपत्यकाका सरकारी अस्पतालको प्रतीक्षालय तथा भुइँमा धेरै सङ्क्रमित बस्न बाध्य छन् ।

सोमबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरे । देशवासीका नाममा सम्बोधन गर्दा प्रधानमन्त्री ओलीले कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट वञ्चित हुनु नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा आफू संवेदनशील रहेको बताएका थिए । तर, उनले गरेको भाषण र अस्पतालको ग्राउन्ड रियालिटी कहीँ मेल खाँदैन ।

जनशक्ति र पूर्वाधारको अभाव

श्रीवास्तवजस्तै दैनिक ११/१२ जना कोभिडका बिरामी बेड र अक्सिजन कुरेर अस्पतालको पेटीमा बस्ने गरेको अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दास बताउँछन् । ‘अबको दुई हप्तामा भुइँमा राखेर कोभिड बिरामीलाई उपचार गर्ने स्थिति आउँछ,’ डा. दास भन्छन् ।

आईसीयू, भेन्टिलेटर र वार्डमा २४० बिरामी अस्पताल भर्ना भएका छन् । ‘कोरोना सङ्क्रमण निको नभए पनि अक्सिजनबिना सहज बस्न सक्ने बित्तिकै बिरामीलाई घर पठाउँछौँ,’ उनले भने, ‘एउटा बिरामी कम्तीमा हप्ता १० दिन अस्पताल बस्नुपर्ने हुन सक्छ । कोरोना पोजेटिभ भए पनि घर पठाएपछि अर्को बिरामीले बेड त पाउँछ ।’

अस्पताल धाउने कोभिड बिरामीका आधार जनशक्ति र पूर्वाधार अब न्यून भएको डा. दास बताउँछन् । बिरामीको चाप बढेसँगै एक सय जना नर्स र २० जना चिकित्सकको माग गरिएको छ । मागअनुसार नर्स र डाक्टरको आवेदन नआएको उनी बताउँछन् । कोभिड बिरामीका लागि थप एक सय बेड थप्ने कार्य भइरहको बताए । मङ्गलबार, बुधबारदेखि ती बेड सङ्क्रमित बिरामीका लागि सञ्चालन गरिने उनले सुनाए । ‘आज बिहानसम्म अस्पतालमा उत्पादन भएको अक्सिजनले पुगेको थियो,’ उनले भने, ‘बिरामीको सङ्ख्या बढेपछि आजदेखि बाहिरबाट अक्सिजन खरिद सुरु गर्‍यौँ ।’

अस्पतालबाट बिरामी फर्काउँँदा ज्यान जाने खतरा

गल्कोपाखाका ६९ वर्षीय रेसम लामा (नाम परिवर्तन) लाई कोभिड भएपछि खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, अक्सिजन मात्रा पनि कहिले बढ्ने कहिले घट्ने भयो । एक्सरे रिपोर्टमा निमोनियासमेत देखिएको थियो ।

होमआइसोलेशनमा बसेका उनलाई एम्बुलेन्समार्फत टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्‍याइयो । तीन दिनअघि टेकु अस्पताल पुगेका उनलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था छैन भनेपछि उनी घर फर्किए ।

अस्पतालबाट घर फर्किएको एक दिनपछि अक्सिजनको लेबल घट्ने, बढ्ने, श्वासप्रश्वासमा समस्या भयो । पूर्ण रूपमा गन्ध थाहा नपाउने भएर गाह्रो भएपछि परिवारका सदस्यले उनलाई अस्पताल भर्ना गर्न भनेर आइतबार साँझबाट उपत्यका विभिन्न अस्पतालमा सम्पर्क गरे । तर अक्सिजन सहितका बेड कहीँ पाइएन ।

आफन्तले कुरा गरिदिएपछि मात्र सोमबार बिहान टिचिङ अस्पतालमा ६९ वर्षीय वृद्धले भर्ना हुन पाएको उनका आफन्तले सुनाए । ‘टेकु अस्पतालले तीन दिनअघि बाबालाई भर्ना गरिदिएको भए बुवाको अवस्था जटिल हुने थिएन,’ उनका छोराले रातोपाटीसँग भने, ‘बिरामीको अक्सिजन लेबल हेरेर मात्र अस्पताल भर्ना गर्दा अहिले बाबाको अवस्था जटिल छ ।’

रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय