
काठमाडौँ
अवस्था सामान्य थियो भने यतिबेला उनी सेतो वस्त्रमा हुने थिए । परिवारसँगै बाबुको मृत्यु संस्कारमा जुटिरहेका हुन्थे । तर उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेढ साताको बसेर शनिबार साँझमात्रै घर फर्किएका छन् ।
कोरोनाबाट निको भएको खुसीभन्दा बढी उनमा वियोगको घाउ छ । ‘बुबाको मृत्युको खबर आमालाई कसरी सुनाऊँ ?’ टेकुका डिकेन सुवालले भने, ‘अझ काजकिरिया गर्न पनि बाँकी नै छ ।’ आफू कोरोनामुक्त भए पनि सुक्खा खोकी लाग्ने गरेको उनले सुनाए ।
अघिल्लो शुक्रबार उनले बुबा शंकरराज सिंह सुवाललाई कोरोना संक्रमणकै कारण टेकु अस्पतालमा गुमाए । डिकेनकी आमा, श्रीमती र छोरालाई समेत संक्रमण भयो । ‘अस्पताल ल्याएको चार/पाँच दिनपछि बुबा बित्नुभएको खबर पाए पनि चुपचाप मन दह्रो बनाएर बसें,’ उनले भने, ‘मेरो छोरा र आमालाई अझै बुबा बित्नुभएको खबर थाहा छैन ।’
बुबाको मृत्युको खबर सुन्नुबाहेक अरू केही गर्न नसकेकोमा उनले दुखेसो पोखे । ‘हामी सबै हस्पिटलमै थियौं । हस्पिटल, वडा अध्यक्ष र एक जना दिदीले बुबाको दाहसंस्कार गर्नुभयो भन्ने सुनें । बुबाको नाममा हामीले केही पनि गर्न सकेका छैनौं,’ उनले भावुक हुँदै सुनाए । उनका अनुसार सुवाल केही वर्षदेखि मुटुका बिरामी थिए । मुटुमा पेस मेकर राखिएको उनलाई कोरोनाको लक्षण देखिएको थियो ।
संक्रमण भएको थाहा पाएपछि त्रिवि शिक्षण अस्पताल पुर्याएको डिकेनले बताए । ‘फोक्सोमा संक्रमण बढिसकेकाले बुबालाई तत्काल आईसीयूमा राख्नुपर्ने भयो । बल्ल टेकुमा आईसीयू वार्ड पाएपछि बुबासहित हामी पनि भर्ना भएका थियौं,’ उनले भने । पाँच दशकभन्दा बढी कला सिर्जनामा बिताएका सुवाल पछिल्लो समय पनि उत्तिकै सक्रिय थिए ।
ललितकला प्रज्ञा प्रतिष्ठानको स्थापनादेखि नेपालमा आधुनिक चित्रकला विकासमा योगदान पुर्याएका उनको मृत्युमा छोराले अन्तिम संस्कारसमेत गर्न पाएका छैनन् । सुवाल ‘मेम्बर अफ आर्टिस्ट सर्कल’ का सदस्य तथा आधुनिक कलाकार समाज (सोमा) का अध्यक्षसमेत थिए ।
डिकेनकी आमा र श्रीमतीलाई सुवालको निधनपछि तुरुन्तै ललितपुरस्थित स्टार अस्पतालमा सारिएको थियो । शय्या अभावका कारण डिकेनलाई भने पुनः टेकुमै ल्याइयो । अस्पतालमा दैनिक देखिने भयावह अवस्थालाई उनले नजिकैबाट नियालिरहेका छन् । घरमा अब अभिभावकत्व बहन गर्नुपर्ने भएकाले मनलाई बलियो बनाउने प्रयास गरिरहेको उनले बताए ।
निको भएर उनकी आमा र श्रीमती शुक्रबार घर फर्किएका छन् । छोरा होम आइसोलेसनमा छन् । भर्खर तंग्रिएकी ७० वर्षीया आमाले आफ्ना श्रीमान्को मृत्युको खबर कसरी सहलिन् भन्ने चिन्ताले उनलाई अझै सताइरहेको छ । उनले सुनाए, ‘शरीर र अन्य रोगका कारण आमाको स्वास्थ्य अवस्था ठीक छैन । त्यही भएर हामीले अझैसम्म केही भनेका छैनौं । अब बिस्तारै सबै मिलाउनुपर्छ भन्ने सोचमा छु ।’
मृत्युसँग लडिरहेको सिंगो परिवार र आँखै अगाडि बुबाको जीवनको अन्तिम समयलाई बेहोरेका डिकेन कोरोनाले लाचार बनाएको सुनाउँछन् । यसलाई कमजोर नठान्न सबैप्रति उनको आग्रह छ । लक्षण देखिनेबित्तिकै अस्पताल पुर्याउन पाएको भए बुबालाई बचाउन सकिन्थ्यो कि भन्ने उनलाई थकथकी लागिरहेको छ । ‘अहिलेको अवस्थामा कोरोना भएको थाहा पाएपछि घरमा नै निको होला कि भनेर बस्नु हाम्रो ठूलो गल्ती हो,’ उनले भने, ‘अहिले मेरो परिवारले भोगेर थाहा भयो । भोलि अर्को परिवारले पनि यस्तै भोग्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन ।’ कान्तिपुर