काठमाडौँ

विराटनगर सिटी एफसीका प्रशिक्षक यान लले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो चरणमा बुटवल लुम्बिनीविरुद्ध २–२ को बराबरी गरेपछि भनेका थिए, ‘मैले नेपालको जस्तो तल्लो स्तरको रेफ्री कहीं देखेको थिइनँ । यहाँका रेफ्रीमा कुनै पनि राम्रो कुरा छैन । मैले आई लिग खेलेको छु, एएफसी कप खेलेको छु, बाहिर देशको फुटबल हेरेको छु । तर, यहाँको जस्तो खत्तम रेफ्री देखेको छैन । हामीले जितेको भए पनि यही भन्ने थिएँ ।’

यी भारतीय प्रशिक्षक सोमबार भने चुप रहे, जहाँ विराटनगर सिटी २–० ले एफसी चितवनलाई हराएर शीर्षस्थान पुग्यो । दशरथ रंगशालामा पहिलो गोल स्पेनी फरवार्ड पेड्रो मान्जीले गरे । उनले ७३ औं मिनेटमा गरेको गोल विवादरहित भएन । मैदानको मध्यभाग नजिकबाट सुनील बलले प्रहार गरेको फ्रि–किकमा १८ यार्ड लाइनमा मान्जीले दायाँ खुट्टाले नियन्त्रण गरे । अनि बल उनको बायाँ हातमा लागेर तल झर्यो । र, त्यही बललाई मान्जीले जाली चुमाउँदै विराटनगर सिटीलाई अग्रता दिलाए ।

हातले रोकेको क्षणलाई बिर्सिने हो भने मान्जीको त्यो गोल उत्कृष्ट थियो । उनले झण्डै उस्तै किसिम र उस्तै दूरीबाट बुटवल लुम्बिनीविरुद्ध पनि गोल गरेका थिए । उनले एनएसएलमा आफ्नो दोस्रो गोलमा बल हातले रोकेको भिडियोमा पनि प्रस्टै देखिन्छ । चितवनका खेलाडीले पनि ‘ह्यान्डबल’ को अपिल गरे । तर, त्यो क्षण नजिकै रहेका रेफ्री प्रकाशनाथ श्रेष्ठले भने अपिल अस्वीकार गर्दै गोलको मान्यता दिए ।

चितवनका सहायक प्रशिक्षक शैलेश कर्माचार्यले मान्जीको त्यो गोलले खेलको मोड नै परिवर्तन गरेको बताए । ‘रेफ्रीको निर्णय निष्पक्ष भएन । विराटनगरका प्रशिक्षकको भनाइले दबाब भएजस्तो लाग्यो,’ उनले भने, ‘पहिलो गोल (मान्जीको गोल) मा बल हातमा लागेर गएको थियो । त्यो गोलले खेलाडीको मनोबल गिरायो । हामीलाई जसरी पनि जित्नैपर्ने खेल थियो । हामी खेलमा आउँदै थियौं । तर, त्यो गोल बाधक बन्यो ।’ मुख्य प्रशिक्षक मेघराज केसी पारिवारिक कारण घर गएपछि उनले ‘टचलाइन’ सम्हाल्ने अवसर पाएका थिए ।

दुई दिनअघि मात्रै नेपाली रेफ्रीलाई सबैभन्दा खराब भएको आरोप लगाएका विराटनगरका प्रशिक्षक यान ल भने तीन अंक जोडेपछि रेफ्रीप्रति उदार देखिए । ‘रेफ्रीले राम्रो काम गरे । त्यो गोल टप क्लास (उत्कृष्ट) थियो,’ रेफ्रीलाई दबाब दिएको चितवनका प्रशिक्षकको आरोपबारे उनले भने, ‘रेफ्रीलाई कुनै दबाब दिएको छैन । रेफ्री पनि मानव हुन् । उसले पनि राम्रो काम गरे ।’

उनको टिमले शनिबार बुटवल लुम्बिनीविरुद्ध दुईपल्ट पछाडि परेको स्थितिमा सुधार्दै २–२ को बराबरी गरेको थियो । त्यसमा रेफ्री प्रज्वल क्षत्री थिए भने सहायकमा युनाल मल्ल र किसन यादव ।

सन्तोषको उत्कृष्ट गोल

सानो कदका एट्याकिङ मिडफिल्डर सन्तोष तामाङले ८९ औं मिनटमा लोभलाग्दो गोल गर्दै विराटनगर सिटीको दोस्रो जित निश्चित गरेका थिए । उनले पेनाल्टी क्षेत्रनजिक पाएको बललाई विपक्षीका दुई खेलाडीलाई उछिन्दै पेनाल्टी क्षेत्रको ठीकबाहिरबाट प्रहार गरे, जुन उत्कृष्ट गोलमा परिणत भएको थियो ।

विराटनगरलाई २–० को अग्रता दिलाएको सन्तोषको गोलमा मनीष डाँगीको मिहिनेत पनि उत्तिकै थियो । रजिन धिमालको फ्रि–किकमा बाहिर जान लागेको बललाई मनीषले हेडद्वारा भित्र ल्याएका थिए, जुन अशोक थापाका लागि पास बन्यो । अशोकले नियन्त्रण गरेको उक्त बललाई चितवनका डिफेन्डर जोनाथन रुडीले हेडद्वारा क्लियर गर्ने प्रयास गरे । त्यही बल भेट्टाएपछि सन्तोषले सुन्दर गोल गरिदिए ।

एनएसएलमा सन्तोषको यो व्यक्तिगत दोस्रो गोल हो । उनले पहिलो खेलमा धनगढी एफसीविरुद्ध हात पारेको ३–० को जितमा पनि गोलकिपर किरण चेम्जोङविरुद्ध दोस्रो हाफमा उत्कृष्ट गोल गरेका थिए । उनकै चलाखीपूर्ण फ्रि–किकमा सुनील खड्काले इन्ज्युरी समयमा गोल गरेपछि विराटनगरले बुटवल लुम्बिनीविरुद्ध अंक जोडेको थियो । उनले एक महिनाअघि एएफसी कप २०२१ प्रारम्भिक छनोटको पहिलो खेलमा श्रीलंका पुलिसविरुद्ध आर्मीले निकालेको ५–१ को जितमा पनि पेनाल्टी क्षेत्रबाहिरैबाट प्रहार गर्दै एक उत्कृष्ट गोल गरेका थिए ।

सन्तोषले ५८ औं मिनेटमा प्रहार गरेको बलमा भने चितवनका गोलकिपर विशाल सुनारले उत्कृष्ट बचाउ गरेका थिए । पूरा खेलमा नै विराटनगरले प्रभाव देखाएको थियो । मान्जीको पासमा पेनाल्टी क्षेत्रमा अनमार्क सुनील बलले २३ औं मिनेटमा प्रहार गरेको बल सीधै पोस्टबाहिर गएको थियो । त्यसको एक मिनेटअघि चितवनले पनि गोलको खाता खोल्ने अवसर गुमाएको थियो । अमित तामाङको क्रसमा पेनाल्टी क्षेत्रमा रहेका गोरान जर्कोभिच र जर्जप्रिन्स कार्कीले बल प्रहार गर्न सकेनन् । जर्जप्रिन्सले सुनील श्रेष्ठको पासमा ८४ औं मिनेटमा गोलकिपर किशोर गिरिलाई वान भर्सेस वानमा पनि उछिन्न सकेनन् । यसमा उनले बल पोस्टबाहिर प्रहार गरे ।

‘खेलाडीहरूले निकै राम्रो गरे । नब्बे मिनेट नै उत्कृष्ट प्रदर्शन गरे । नतिजा पनि उत्कृष्ट रह्यो र हामी शीर्षस्थानमा पुगेका छौं,’ दोस्रो जितपछि विराटनगर सिटीका प्रशिक्षक यान लले भने । उनको टिम ७ अंक बनाएर हेड टु हेडमा धनगढीलाई उछिन्दै शीर्षस्थानमा उक्लियो । विराटनगरले लिगमा काठमाडौं रेजर्स र ललितपुर सिटीविरुद्ध प्रतिस्पर्धा गर्न बाँकी छ । बुटवल लुम्बिनी र पोखरा थन्डर्सको ५–५ अंक छ । यद्यपि बुटवल लुम्बिनीले एक खेल कम खेलेको छ ।

आईएमई ग्रुपको लगानी रहेको चितवन लगातार दोस्रो हारसँगै एनएसएलको लिग चरणबाटै बाहिरिने सम्भावना बढेको छ । धनगढीविरुद्ध ३–० ले हार्नुअघि चितवनले ललितपुर सिटी (१–१) र बुटवल लुम्बिनी (२–२) साग बराबरी खेलेको थियो । लिगमा दुई खेल खेल्न बाँकी रहेको चितवन २ अंकसहित पुछारमा छ । पोखरा थन्डर्स र काठमाडैं रेजर्सविरुद्ध खेल्न बाँकी रहेको उसको अब शीर्ष चारमा रहेर प्लेअफमा पुग्ने सम्भावना गणितीय रूपमा मात्रै बाँकी छ । सात टिममध्ये ३ अंकसहित छैटौंमा रहेको ललितपुर सिटी एफसीले लगातार चार खेलसम्म जितविहीन रहेपछि मुख्य प्रशिक्षक प्रदीप हुमागाईंलाई आइतबार बर्खास्त गरेको थियो । कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय