शुक्रबार , चैत्र १६, २०८०

रतुवामाई(मोरङ),वैशाख २१ गते ।

वैदेशिक रोजगारमा डेढ दशक पसिना बगाएर स्वदेश फर्किएका कार्की दाजुभाइले मोरङको रतुवामाई–८ झुनावारीमा सात करोड २५ लाख रुपियाँ लगानी गरी बहुउदेश्यीय कृषि फार्म सञ्चालनमा ल्याएका छन् ।

झुनाबारीको दुई बाली धान फल्ने नौ विगाहा खेत प्रति बिघा ४२ लाख रुपियाँका दरले खरिद गरेर उहाँहरूले सोही जग्गामा कृषि तथा पशुपालन उद्यम सुरु गर्नु भएको हो । अहिले एक हजार बङ्गुर, छसय बोयर बाख्रा, छसय टर्की, दुईसय स्थानीय कुखुरा, छसय कडकनाथ पाल्न सकिने गरी अलग अलग बिशाल गोठ निर्माण भइरहेका छन् ।

गत वर्ष काम सुरु गरेपछि देशमा सुरु भएको बन्दाबन्दीले उहाँहरूलाई ६ महिना पछि थकेल्यो । बङ्गुरका पाठा गोठमा हाल्न ढिलो भयो । यतिबेला सम्ममा पाठा पाठी उत्पादन गरेर बजार पठाउने लक्ष्य थियो । तर, गोठको संरचना बनाउन बन्दाबन्दीले पाइएन भने पाठापाठी सप्लायर्सले पाठापाठी पनि दिन सकेन ।

सञ्चालक शैलेन्द्र कार्कीले भन्नुभयो–अष्ट्रेलिया र दक्षिण अफ्रिकाबाट शत प्रतिशत बोयर बाख्रा र बोका माग गरेका थियौं । बन्दाबन्दीका कारण सप्लायर्सले ल्याइदिन सकेन ।

त्यस्तै एक विगाहा जग्गामा दुई वटा माछा पोखरी निर्माण गरिएको छ । पोखरीमा विभिन्न ६ प्रजातिका माछा हालेको सञ्चालक शैलेन्द्र कार्कीले बताउनुभयो । १० वर्ष भारतमा होटल ब्यवसाय गरेर फर्कनु भएका कार्कीले भन्नुभयो–फेरि भारत नफर्किने निर्णय गरें । दाजुभाइ मिलेर कृषि र पशुपालनका क्षेत्रमा रोजगार सिर्जना गर्ने गरी ब्यावसाय थालेका हौं ।

उहाँका भाइ टेकराज कर्कीले १२ वर्ष न्युजिल्याण्ड बसेर कमाएको सबै पैसा कृषि उद्यममा लगानी गर्नुभएको छ । उहाँले भन्नुभयो– ३ वर्ष भित्र १२ करोड लगानी पु¥याउने र वार्षिक एक करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य छ । टेकराज र शैलेन्द्रसँगै साइला भाइ सुमन कार्कीले पनि कृषि र पशुपालनबाटै आर्थिक रुपमा समृद्ध बन्ने सपना देख्नुभएको छ । ११ वर्ष दुवई ,कतार र मलेसिया बसेपछि उहाँको वैदेशिक रोजगारको यात्रामा पूर्णविराम लागेको छ ।

उहाँले भन्नुभयो – विदेशमा दैनिक १४ घण्टा सम्म काम गरियो । स्वदेशमा त्यति नै समय लगानी गर्दा यहीँ दुई÷चार लाख कमाउन सकिन्छ होला । उहाँले विदेशमा कमाएको सबै पैसा बहुदेश्यीय कृषि फर्ममा लगानी गरेको बताउनु भयो । गतवर्षको माघमा फर्म दर्ता गरेर ब्यवसाय सुरु गर्नु भएका कार्की दाजुभाइलाई उहाँहरूका मामा राजेन्द्र बुढाथोकीले समेत साझेदारको रुपमा सहयोग गर्नुभएको छ । बुढाथोकी पनि आठ वर्ष साउदीअरवमा पसिना बगाएर फर्किनु भएको हो ।

उहाँहरूले बोयर बाख्रा आइहाल्छ भनेर गत वर्ष नै तीन विगाहा जमिनमा सुपर नेपियर जातको घाँस लगाउनु भएको थियो ,। अहिले उहाँहरू त्यही घाँस बिक्री गरिरहनु भएको छ । अढाई लाख रुपियाँका घाँसका बिरुवा बिक्री गरिसकेको सञ्चालक सुमन कार्कीले बताउनु भयो ।

उहाँहरूले अहिलेसम्म बैंकबाट ऋण लिनुभएको छैन । शैलेन्द्र कार्कीले भन्नुभयो – बन्दाबन्दीले बाख्रा र बङ्गुर हाल्न ढिलाई भयो । त्यसैले केही घाटा ब्योहोर्नु प¥यो । फेरि बन्दाबन्दी सुरु हुँदा उहाँहरूलाई पुन काम रोकिएला कि भन्ने चिन्ता छ । यद्यपि सबै लगानी आफ्नै भएकोले बैंकले पत्र पठाउँला भन्ने डर छैन् । बन्दाबन्दीले काम रोकिएन भने जेठको पहिलो साता बोयर बाख्रा,बङ्गुर र टर्की गोठमा हालिसक्ने शैलेन्द्र सुनाउनुभयो । गोरखापत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय