बुधबार , बैसाख १२, २०८१

कञ्चनपुर

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर १ को रैकुवाबिचवा गाउँको नवोदय आधारभुत विद्यालय । केही दिनदेखि यो विद्यालयलाई गाउँपालिकाले कोरोना संक्रमितहरूका लागि आइसोलेशन सेन्टर बनाएको छ । आइसोलेशनमा नौ दिनदेखि कल्पना (उनको अनुरोधमा नाम परिवर्तन गरिएको छ) बस्दै आएकी छिन् । उनीसंगै दुई वर्षको छोरा र छ महिने छोरी पनि संगै बस्छन् । छ महिने दुधे बालक छोरीलाई छिनछिनमा पखाला लाग्छ । केही दिनदेखि ज्वरो आएको छ । दुई वर्षको छोरा छेउमै रोइरहेको छ ।

कल्पनालाई सात दिनदेखि रुघाखोकी र ज्वरोले सताएको छ । ‘मलाई कोरोना संक्रमण देखिएको सात दिन भयो’ शनिबार रिपोर्टिङका क्रममा त्यहाँ पुग्दा उनले भनिन– छोराछोरीको कोरोना चेक गरेको छैन । यी दुवै सानै भएकाले मसंगै बस्दै आएका छन् ।

उनी आफु कोरोना संक्रमित भए पनि आफ्ना छोराछोरीहरू सुरक्षित होउन् भन्ने चाहन्छिन् । तर, अवोध छोराछोरीहरू आमा बिना घरमै बस्न सक्ने कुरै भएन । त्यसैले उनले आफू कोरोना संक्रमित भए पनि छोराछोरीलाई आफूसंगै आइसोलेशन सेन्टरमा राखेकी छिन् ।

‘छोराछोरीहरू अलग्गै बसेको भए सायद उनीहरूमा कोरोना संक्रमण हुँदैन थियो होला ?’ कल्पनाले निराश हुँदै भनिन– तर, अहिले उनीहरूमा पनि कोरोनाको लक्षण देखिन थालेको छ । अहिलेसम्म उनीहरूको कोरोना परीक्षण त गरेका छैनौ, तर म संगै बसेकोले उनीहरूमा पनि जोखिम बढेको हुनसक्छ ।

उनको गाउँमा शुरुमा (१३ दिनअघि) एक जना शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएको थियो । ती शिक्षक होम आइसोलसनमा बसे । उनले भनिन– तर, उनले सावधानी अपनाएनन् । र, अहिले उनको परिवारका सबै सदस्य र गाउँका अरु १८ जनालाई कोरोना संक्रमण भएको छ ।

उनीसंगै उनका श्रीमान पनि आइसोलेशनमा बसेका छन् । उनका श्रीमान दिनभरी मोबाइल चलाउँछन् । फेसबुक चलाउँछन् । फोनमा साथीभाईहरूसंग कुरा गर्छन् । तर, उनका लागि भने त्यस्तो अवसर छैन ।

आइसोलेशन सेन्टरमा सुद्ध पिउने पानीको पनि व्यवस्था छैन । हेन्डपम्पको गन्हाउने पानीमा नै संक्रमितहरूले गुजारा चलाइरहेका छन् । कल्पना कोरोना भाइरस संक्रमित भएसंगै बेरोजगार पनि बनेकी छिन् । उनी आइसक्रिम बेचेर परिवारको लालनपालन गर्दै आएकी थिइन । आइसक्रिम बेचेर दैनिक प्राप्त हुने आम्दानी अहिले गुमेको छ ।

कञ्चनपुर जिल्लामा पनि अहिले कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लागू गरिएको छ । उनलाई केही दिनमा कोरोनाबाट मुक्ति पाइने आशा छ । तर, निषेधाज्ञा भएकाले आइसक्रिम बेच्ने काम जारी राख्न पाउनेमा शंका छ । त्यसैमा कोरोना मुक्त भए पनि गाउँका मानिसले उनीप्रति कस्तो व्यवहार गर्लान् ? भन्ने आशंका पनि छ ।

कल्पनाजस्तै त्यो आइसोलेशनमा बालबच्चासहित अन्य दुई जना महिला पनि बसिरहेका छन् । त्यो आइसोलेसनमा तीन जना बालबालिका पनि आमासंगै बस्दै आएका छन् ।नवोदय स्कूलको आइसोलेशन सेन्टरमा बसिरहेकी अर्की महिला रमा (नाम परिवर्तन) ले भनिन– गाउँमै सानोतिनो काम गरेर गुजारा चलाउँदै आएको हामीहरूलाई पनि कोरोनाले छोडेन । सुरुमा कोरोना संक्रमित भएका एक जनाले सावधानी नपाउँदा अहिले हामी र हाम्रो बालबच्चाले यो समस्या झेल्नुपरेको छ ।

रमासंगै उनको तीन वर्षको छोरा पनि आइसोलेशनमा बसिरहेका छन् । उनलाई आफ्नो भन्दा पनि छोराको चिन्ताले निकै सताइरहन्छ ।उनी भन्छिन– म त जे पनि सहन सक्छु, तर छोरालाई ज्वरो, रुघाखोकी, झाडापखालाले सताएको देख्दा मन सम्हाल्न निकै गाह्रो हुन्छ । छोरो बिरामी छ, तर उसलाई पोषिलो खानेकुरा, फलफूल, गेडागुडीको झोल केही पनि खुवाउन सकेकी छैन ।

रमा भन्छिन– बालबच्चासहित आइसोलेसनमा बस्नु पर्दा निकै गाह्रो हुँदोरहेछ । आइसोलेशनका कोठाहरू निकै साँघुरा छन् । एउटै कोठामा आठ जनासम्म बस्नु परेको छ । त्यो आइसोलेसनमा एउटा मात्र शौचालय रहेको छ । आइसोलेसनमा बस्ने बालबालिका, महिला, पुरुषले त्यही सौचालय प्रयोग गरिरहेका छन् ।

लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले कोरोना संक्रमण गाउँमै भित्रिसकेको देखिएको बताए । उनले भने– संक्रमण बढ्न थालेकोले हामीले स्कुललाई आइसोलेशन सेन्टर बनाएर व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौं ।

अध्यक्ष बडायकले आइसोलेसन सेन्टरमा आमाहरूसंगै बालबच्चाहरू पनि बसिरहेकोले उनीहरूको खानपिनको व्यवस्था गर्न कठिनाई भइरहेको बताए । उनले भने– हामीले आइसोलेसन सेन्टरमा बस्नेहरूका लागि खानाको व्यवस्था गर्न सकेका छैनौ । हामीले अहिलेका लागि क्वारेन्टिन बनाउने र त्यहाँ आवश्यक परेको खण्डमा स्वास्थ्यकर्मी खटाउने काम वाहेक अरु केहि गर्न सक्ने अवस्था छैन ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालका डाक्टर शेरबहादुर कमरले आमा संक्रमित भएपछि उनका बालबच्चाहरू पनि संगै आउने गरेको बताए ।डाक्टर कमरले भने– गर्भवती महिला, सुत्केरी महिला, बृद्धबृद्धा संक्रमित भएमा उनीहरूमा जोखिमको मात्रा बढि हुन्छ । उनीहरूसंगै बालबालिकाहरू बढि जोखिममा पर्न जाने खतरा हुन्छ ।

‘आमा संक्रमित भएमा सकभर बालबच्चाहरूलाई अलग राख्नु राम्रो हुन्छ । उनीहरूसंग दूरी कायम गर्नु पर्छ । आमाले दुधे बच्चालाई दुध चुसाउँदा सुरक्षा अपनाउनु जरुरी हुन्छ’ डाक्टर कमरले भने ।
उनले यदि कुनै पनि हालतमा बच्चालाई छुट्टै राख्न नसकिने भएमा र सामाजिक दूरी कायम गर्न सकिदैन भने रोगसंग लड्न सक्ने पोषिला खानेकुरा बढिभन्दा बढी सेवन गर्नुपर्ने बताए । यसले नै आमा र बच्चालाई रोगसंग लड्न सक्ने क्षमतामा बृद्धि गर्ने उनले बताए ।

सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सुदूरपश्चिममा अहिलेसम्म चार हजार पाँच सय १९ जना महिलाहरू कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये दुई हजार छ सय आमाहरू कोरोना संक्रमित भएका छन् ।

त्यस्तै, नौ वर्ष मुनिका आठ सय ३३ जना बालबालिका कोरोना संक्रमित भएका छन् । कोराना संक्रमित आमाहरूसंगै यतिवेला आइसोलेशन, क्वारेन्टिन तथा अस्पतालहरूमा कम्तिमा २० जना बालबालिका पनि रहेका प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रघुराम बिष्टले पनि बालबालिकाहरूलाई कोरोना संक्रमणबाट जोगाउन विद्यालयहरू बन्द गरिएको बताए । मन्त्रालयका सचिव बिष्टले भने– बालबालिकाहरूका लागि भनेरै विशेष रुपमा त्यस्तो कुनै व्यवस्था गरिएको छैन । हामीसंग उपलब्ध स्रोत साधन तथा जनशक्ति परिचालन गरेर काम गरिएको छ ।

उनले बालबालिकाहरूका लागि उपचार गर्न प्रदेशमा अहिलेसम्म छुट्टै अस्पतालन नरहेको बताए । उनले भने– कोरोना संक्रमित बालबालिकाहरूको उपचारका लागि सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म छुट्टै अस्पताल छैन । यदि बालबालिका संक्रमित भए भने अहिले भएका अस्पतालहरूमा नै उपचार गरिरहेका छौं । केटिएम दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय