मंगलबार , बैसाख ४, २०८१

काठमाडौं

गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले यसअघि नै राजीनामा दिन खोज्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोकेको बताएका छन्।

पदमुक्त भएपछि मंगलबार पोखरास्थित प्रदेश प्रमुख निवासमा पत्रकार भेटघाटको मार्फत उक्त कुरा बताएका हुन्।

‘मैले पहिले नै राजीनामा लिएर काठमाडौं गएको थिए, प्रचण्डजीले रोक्नुभयो’, उनले भने, ‘अहिले एकपटक जानकारी पनि नपाई पदमुक्त गरियो।’

आफूलाई पदमुक्त गरेको कुरा संचार माध्यमबाट मात्रै थाहा पाएको उनले बताए।

प्रदेश प्रमुखमा नियुक्त हुने बेलामा समेत आफू असन्तुष्ट रहेको उनले बताए।

प्रधानमन्त्री केपी ओलीले प्रदेश प्रमुखमा प्रस्ताव गर्दा आफूले अस्वीकार गरेको भन्दै उनले तत्कालिन नेकपाले निर्णय गरेपछि बाध्यताले प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेको बताए।

प्रदेश प्रमुखबाट पदमुक्त गरिदिएकोमा उनले सरकारलाई धन्यवाद दिएका छन्। ‘अधिकारविहीन खुला जेलबाट मुक्त गरिदिनु भएकोमा धन्यवाद’, उनले भने।

गण्डकी प्रदेशको दोस्रो प्रदेश प्रमुखका रुपमा शेरचनले १८ महिना काम गरे। प्रदेश सरकारले आफूलाई कुनै असहयोग नगरेको भन्दै उनले संविधानले दिएको कार्यभार पूरा गरेको उनले बताए।

प्रदेश सभाको विशेष अधिवेसन बोलाउने सन्दर्भमा कतैबाट पनि दबाब नआएको समेत उनले बताए। यसअघि प्रदेशको हिउँदे अधिवेशन अन्त्य गर्ने प्रदेश सरकारको निर्णय आफूले बिदाको दिन पनि स्विकृत गरेको शेरचनले बताए।

शेरचनले जारी गरेको विज्ञप्ति:

आदरणीय पत्रकार साथीहरु,

प्रदेश प्रमुखको पद ग्रहण गरेको आज १८ महिना २ दिन पुगेछ। यसबीचमा मलाइ साथी सम्झेर माया गर्ने सबैप्रति आभार प्रकट गर्दछु।

कार्यालयका कर्मचारी, सुरक्षामा कार्यरत सबै जवान र सचिवालयका सबै साथीहरुबाट सहयोग र सम्मान पायौँ। यहाँहरुप्रति आभार व्यक्त गर्दछौँ।

पदमुक्त भएकोमा अत्यन्तै खुशी छु। मुरीमुरी धन्यबाद छ, राष्ट्रपतीज्यूलाई। पहिला ओलीजी र पुन: प्रचण्डजीमार्फत् ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो।

पछि पार्टीको निर्णय सुनाएपछि अनुशासीत कार्यकर्ताको नाताले बाध्य भै स्वीकारेको पद हो यो। अधिकारविहिन खुला जेलबाट मुक्त गरिदिनु भएकोमा पनि धन्यबाद।

म पदको लागि राजनीति गरेको व्यक्ति होइन। पूर्वराष्ट्रपती डा. रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपतिको लागि मलाई प्रस्ताव आयो, मैले अस्वीकार गरे।

त्यस्तै ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनी ठाडै इनकार गरेको व्यक्ति हुँ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल, क. यज्ञदेव आले, क.निर्मल आले र क. मोहनविक्रम सिहंजस्ता शीर्ष नेताहरुको निकटमा रहेर सक्रिय राजनीतिक संर्घषमा आफ्नो जीवन समर्पीत गरे।

पदका लागि कुनै प्रकारको बार्गेनिङ गरिनँ। सन्त नेता क. मनमोहन अधिकारीको निधनपछि एमाले पार्टीको अध्यक्ष पदमा आउन प्रस्ताव गर्दा पनि मैले स्वीकार गरिनँ। पद र सत्ताको लागि असंवैधानिक पद्धति र अपच्य दृष्यहरु थोर्पाने पद जोगाउने व्यक्ति म होइन, न त पदकै लागि वैचारिक आस्था बम्बैको कोठीमा विक्री गर्ने व्यक्ति हुँ। म मार्क्सवाद ,लेनिनबाद र माओ विचारधारामा अटल विश्वास राख्ने एक निष्ठावान पहरेदार नागरिक हुँ।

श्रमजीवि सर्वहराजीविको इमान्दार साथी हुँ र वर्ग संघर्षमा जीवन समर्पित गर्ने योद्धा कार्यकर्ता पनि हुँ। राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि बारम्बार हस्तक्षेप र अतिकरण गर्ने भारतीय विस्तारवाद र साम्राज्य विरुद्वको संघर्ष पञ्चायत कालदेखी गणतन्त्रकालसम्म राष्ट्रघाती र असमान सन्धी सम्झौता विरुद्धको संघर्षहरुमा मैले कुनै प्रकारका सडयन्त्र र गद्धारी गरेको छैन।

न त अर्बौं कमिशन र भ्रष्टचारमा डुवेको छु। बरु म मन्त्री हुँदा घुस खुवाउन खोज्ने डिजीलाई पदबाट वर्खास्त गरेको जिउँदो उदाहरण छ मसँग।

भ्रष्टचार र कमिशनहरुको खेलमा दंगदंगी बनाउने आरोप लाग्दा पनि भ्रष्टचार शुन्यमा झार्छु भन्ने ढोगीं व्यक्ति पनि होइन। म बरु वैदेशिक हस्तक्षेप सन्धी सम्झौता र भ्रष्टचार विरुद्धका संघर्षहरुमा चार वर्षजति जेलयाताना र हजारौंपटक गिरफ्तार र हिरासतमा थुनिएको व्यक्ति हुँ।

संघर्षको दौरानमा तत्कालिन सरकारको तानासाही दमनबाट मेरो खुट्टा हात करड र ढाड फुटेको छ भने गर्धन दुई टुक्रा हुँदा र पटक-पटक कैयौं दिनसम्म वेहोस हुँदा पनि वैचारिक आस्थामा विचलन नभएको व्यक्ति हुँ, स्मरण रहोस कमरेड मदन भण्डारीको सुनियोजित हत्याकोविरुद्ध संयुक्त आन्दोलन गर्दा प्रहरी दमनबाट मेरो गर्दन दुई टुक्रा भयो भने सत्रदिनपछि होसमा आएको थिएँ।

आज देश कोभिडबाट आतंकित र अक्रान्त बनेको छ। दैनिक मृत्युदर बढिरहेको छ, यस्तो अवस्थामा सम्पूर्ण राजनीतिक दलहरुको साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जिउ धनको रक्षा गर्नुपर्ने अहम बेलामा पार्टीपार्टी बीचको फुट, पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुवाइएको छ।

एकपटक सबैले निधार खुम्चाएर सोचौं, दैनिक सयौंको खुन बगिरहेको अवस्थाबाट घोर निरंकुश प्रतिगमनका विरुद्धका संघर्षमा तात्कालिन आन्दोलनकारी पार्टीहरुको बीचको सहकार्य र समझदारीबाटै सामन्तवादी सत्ताको अन्त्य र गणतन्त्र स्थापना गर्न सफल हुन सकेको हो।

यस पदमा आएपछि मैले संवैधानीक मर्यादालाई पूर्ण पालना गरेको थिए। कुनै पनि पार्टी विशेषको प्रभाव र छाँयामा काम गरिनँ। सरकारले जे प्रस्ताव ल्यायो त्यसलाई संवैधानिक नियमअनुसार निर्णय गर्ने गरेर माननीय सांसदहरुबाट जे-जे प्रस्ताव आए त्यसलाई पनि संवैधानिक नियम बमोजिम नै निर्णयतार्थ सम्पादन गरेको थिए।

यसबाट कसैको लागि अप्रिय भएको भए त्यो संविधान हेरेर चित्त बुझाउन अनुरोध गर्दछु। अन्तमा, लोकतन्त्र संघीयता धरापमा नपरोस् यसका लागि पक्षधरता बीचको सहकार्य र एकतामा अगाडि बढौँ मेरो हार्दिक अपील छ। सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय