शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं

अहिले विश्व कोभिड-१९ को महामारीले आक्रान्त छ। यो महामारीबाट नेपाल पनि अछुतो रहन सकेको छैन।

कोरोनाभाइरसको महामारी रोक्न सरकारले २०७६ चैत ११ गतेदेखि नेपालमा लकडाउन गर्‍यो। यातायात, उद्योग, कल-कारखाना, बजार, होटल सबै बन्द भए। अवस्था यस्तो आयो कि अस्पतालका बिरामी, कुरुवा र डाक्टर-नर्सलगायत कर्मचारीले पनि खाना खान नपाउने भए।

दिनभरि मजदुरी गरेर साँझ-बिहानको छाक टार्नेलाई त ज्यान जोगाउनै हम्मे भयो।

पश्चिम नेपालकै एक प्रमुख व्यापारिक केन्द्र नेपालगञ्जले पनि ती सबै सकस झेल्यो। त्यसमाथि भारतसँगको जमुनाहा नाकाबाट नेपाल फर्किने हजारौंलाई पनि नेपालगञ्जले भरथेक गर्नुपर्थ्यो।

मानिसहरूले एक छाक खाना पनि नपाउने अवस्था देखेपछि नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले स्थानीय ‘हनुमान भजन मण्डली’को टिमसँग सल्लाह गरे। उपमहानगरपालिकाको कार्यालयनजिकै हनुमान गढी मन्दिर छ। त्यहाँ भण्डरा टिम थियो। ‘अञ्जली माता’को नाममा उनीहरूले भण्डरा चलाउँथे।

मण्डलीका संरक्षक विजय गुप्तालगायतलाई भेटेर मेयर राणाले भने- तपाईंहरू यो विपदका बेला अप्ठेरोमा परेकालाई सहुलियतमा खाना खुवाउनुस्, म उपमहानगरपालिकाको तर्फबाट मासिक सहयोग गर्छु।

मेयरको कुरा भजन मण्डलीलाई गज्जब लाग्यो। उनीहरू ‘विपदमा परेकालाई सेवा गर्नु नै सबैभन्दा ठूलो मानवीय धर्म हो’ भन्ने निष्कर्षमा पुगे।

त्यसपछि उनीहरू भेरी अस्पताल पुगे। अस्पताल प्रशासनलाई आफ्नो योजना सुनाए। अस्पतालले आफ्नो हाताभित्रै खाना पकाउने र खुवाउने ठाउँ उपलब्ध गरायो।

गत वर्ष फूलपातीको दिनदेखि खाना खुवाउने काम सुरू भयो। अस्पतालभित्रको उक्त ठाउँमा गएर जो कोहीले २० रुपैयाँमा पेटभरी दाल, भात, तरकारी (साकाहारी) खाना पाउँछन्।

‘खाना खान आउने कसैसँग पनि हामी परिचय पत्र माग्दैनौं, हेर्दैनौं,’ संरक्षक गुप्ताले भने, ‘अमिर (धनी) होस् वा गरिब, जो आए पनि २० रुपैयाँको टोकन काट्छन् र पेटभरी खाना खाएर जान्छन्।’

गुप्ताका अनुसार सुरूमा अस्पतालका नर्स, डाक्टर, कर्मचारी र गार्डले मात्रै त्यहाँ खाना खान्थे। अस्पतालभित्रै २० रुपैयाँमा खाना पाइन्छ भन्ने चर्चा केही दिनमै फैलियो। त्यसपछि मजदुरी गर्नेदेखि लकडाउनमा हातमुख जोड्न समस्या भएका नेपालगञ्जभरिका मानिस त्यहाँ खाना खान जान थाले। गुप्ताका अनुसार गत आइतबार बिहानमात्रै ४०० जना बढी मानिस खाना खान आएका थिए।

बिहान १० देखि दिउँसो १ बजेसम्म खाना खान पाइन्छ।

‘हामीले खुवाउने खाना एकदमै हाइजेनिक हुन्छ,‘ संरक्षक गुप्ताले भने, ‘अस्पतालका सिनियर डाक्टर राजन पाण्डेले नियमित हाम्रै खाना खाँदै आउनुभएको छ।’

आफूहरूले व्यापार नगरी सेवा भावले काम गरिरहेकाले जति सक्यो राम्रो खाना कसरी खुवाउने भनेर निरन्तर प्रयास गर्दै आएको उनले बताए।

६ महिनादेखि भेरी अस्पतालभित्र बिहानमात्रै खाना खुवाउँदै आइएको थियो। अहिले बाँके फेरि कोभिड-१९ को हटस्पट बन्न पुगेको छ। त्यो नियन्त्रण र रोकथामका लागि स्थानीय प्रशासनले दुई साता अगाडिदेखि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञाले होटल तथा रेष्टुँरा बन्द भएका छन्।

निषेधाज्ञा भएपछि अस्पतालका स्टाफ र सर्वसाधारणले साँझ र शनिबार पनि खाना खुवाउन आग्रह गरे। आग्रहअनुसार पछिल्लो समय शनिबार र साँझमा पनि खाना खुवाउन थालिएको छ। पहिला हप्तामा ६ दिनमात्र खाना खुवाइन्थ्यो।

साँझको खाना ६ देखि ८ बजेसम्म खाइसक्नु पर्छ। साँझको खानाको रेट पनि फरक छ। एक जनाको ८० रुपैयाँ लाग्छ। बिहानभन्दा साँझ खाना खान आउनेको संख्या कम हुन्छ। आइतबार बेलुका ९५ जनाले साँझको खाना खाएको संरक्षक गुप्ताले जानकारी दिए।

सर्वसाधारणलाई खाना खुवाउन ८ जना कुक राखिएको र उनीहरूलाई मासिक १५ देखि २० हजारसम्म तलब दिने गरेको गुप्ताले बताए।

‘हाम्रो तलबमा मात्रै मासिक डेढ लाख खर्च हुन्छ,’ गुप्ताले भने, ‘हाम्रो एउटा खानालाई ५० रुपैयाँ खर्च पर्न जान्छ।’

संरक्षक गुप्ताले विभिन्न व्यक्तिहरू बेलाबेलामा सक्दो दान र सहयोग गर्ने गरेकाले खाना खुवाउन सकिएको बताए।

‘विभिन्न अवसरमा मानिसहरू खाद्यान्न, फलफूल तथा नगदसमेत दान गर्न आउनुहुन्छ,’ गुप्ताले भने ‘उपमहानगरपालिकाले ५० हजार रुपैयाँ दिन्छ र बाँकी एक लाख हामी स्वेच्छिक दानबाट संकलन गर्छौं।’

दानबाट एक लाख जति संकलन नभए मण्डलीका २५ जना सक्रिय सदस्यबाट सहयोग उठाउने गरेको गुप्ताले बताए।

किन २० रुपैयाँ लिनुहुन्छ? सित्तैमा खाना खुवाए हुँदैन? भन्ने प्रश्नमा गुप्ताले भने, ‘नि:शुल्क पाउने कुनै पनि कुराको भ्यालु हुँदैन, खाना पनि त्यस्तै हो। कतिपय धार्मिक मानिसले नि:शुल्क खाना खान मान्दैनन्, उनीहरूका लागि पनि त्यसो गरिएको हो।’

गरिब तथा माग्ने मान्छे भए पनि २० रुपैयाँ सजिलै मागेर ल्याउन सक्ने हुँदा त्यस्ता व्यक्तिलाई समेत ध्यानमा राखेर २० रुपैयाँमा सफा र मीठो खाना खुवाउने अभियान सुरू गरेको गुप्ताले बताए।

‘हाम्रो उद्देश्य मागेर खाने मानिसले पनि सजिलै खान पावस् भन्ने हो,’ उनले भने, ‘अमिरले पनि २० रुपैयाँ तिरेर छाती फूलाएर खान सकोस् भन्ने हो।’

कोभिड-१९ को महामारी रहँदासम्म आफूहरूको अभियान जारी रहने उनले बताए।

उनले आगामी साउन १ गतेदेखि बिहानको खानाको पनि १० रुपैयाँ बढाएर ३० रुपैयाँ पुर्‍याउने कि? भन्नेबारे छलफल भएको जानकारी दिए।

‘खाना खान धेरै मानिस आउन थाल्नुभयो र हामी सक्रिय सदस्यले अलि धेरै चन्दा उठाउनु पर्ने अवस्था हुन थालेको हुँदा १० रुपैयाँ बढाउने कि भन्ने सल्लाह भइरहेको छ,’ उनले भने।

को-को छन् मण्डलीमा?

हनुमान भजन मण्डलीमा २५ जना सक्रिय सदस्य छन्। उनीहरू फरक जातजाति, धर्म, समुदाय र राजनीतिक आस्था भएकाहरू हुन्। मुस्लिम समुदायका व्यक्ति पनि मण्डलीमा रहेको संरक्षक गुप्ताले जानकारी दिए।

‘विपद् जो कोहीलाई पर्न सक्छ। जातजाति, पार्टी वा धर्मको कुरा त्यहाँ रहँदैन,’ गुप्ताले भने, ‘म आफू मधेसी आयोगको सदस्य हुँ। आस्थाले म नेकपा एमाले हुँ।’

गुप्ताले गत प्रदेश सभाको निर्वाचनम पराजय व्यहोरेका थिए। मण्डलीमा नेपाली कांग्रेस नेता प्रशान्त बिष्ट पनि सक्रिय सदस्य छन्। राप्रपालगायत अन्य विभिन्न पार्टीका व्यक्ति पनि त्यसमा सदस्य छन्। नेपालगञ्जका मेयर राणा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष हुन।

गुप्ताले आफूलाई मधेसी आयोगबाट आउने मासिक ७०-८० हजार तलब गरिबकै खानाको लागि दान दिँदै आएको बताए।

‘मैलेमात्रै हैन, अरू सक्रिय सदस्यले पनि नपुग भए पैसा उठाउने गर्नु हुन्छ,’ उनले भने।

उपमहानगरले अब मासिक १ लाख सहयोग गर्ने

नेपालगञ्ज उपमहागरपालिका र सुन्दरकान्त मित्र मण्डलद्वारा भेरी अस्पताल पार्कभित्र सञ्चालित सहुलियतमा खाना खुवाउने अभियानलाई उपमहानगरपालिकाले सहयोग बढाउने भएको छ।

उपमेयर उमा थापा मगरका अनुसार सोमबारको कार्यपालिका बैठकले भेरी अस्पताल पार्कमा सञ्चालित खाना खुवाउने अभियानका अभियन्तालाई यसअघि दिँदै आएको ५० हजार रुपैयाँ आगामी असार महिनासम्म थप ५० हजार बढाएर मासिक एक लाख पुर्‍याउने निर्णय भएको जानकारी दिइन्।

वैशाखदेखि नै उक्त रकम थप गर्नका लागि डेढ लाख रुपैयाँ बैठकले छुट्याएको उनले बताइन्।

‘अञ्जली माता समूहले ल्याएको प्रस्तावमा नगरले हातेमालो गरेको हो,’ उनले भनिन्, ‘सुरूमा हाम्रो टार्गेट अस्पतालमा आउने बिरामी र तिनका कुरूवालाई मात्रै थियो, तर परिस्थितिले गरिब, दुःखी र मजदुरी गर्नेहरू पनि आउने थालेपछि अभियान साँच्चिकै सार्थक भएको छ।’

सहुलियतमा खाना खुवाउने अभियानलाई नागरिक स्तरबाट भएको एउटा उदाहरणीय कार्य मान्नु पर्ने उल्लेख गर्दै उपमेयर थापाले यसको सिको अन्य ठूला सहरमा समेत हुनु जरूरी रहेको बताइन।

‘स्थानीय सरकारले स्थानीय स्तरमा यस्तै परोपकारी कार्य गर्न सके धेरै समस्या हल हुन सक्छन्,’ उपमेयर थापाले भनिन्, ‘यसको सिको अन्त पनि हुन सके माथिको सरकारको मुख ताकिरहनु पर्दैन।’

अस्पतालमा आउने कोरोनाका बिरामीलाई खाना खुवाउने उद्देश्यले अभियानको सुरू गरेको भए पनि अन्य मानिस पनि खाना खान आउन थालेपछि रोक्न नमिल्ने देखेर सेवाको रूपमा संयुक्त अभियान जारी रहेको उनले बताइन।

‘२० रुपैयाँ नाममात्रै हो, यसमा सबैको कल्याण होस् भन्ने भावनाले काम गरेको छ,’ उनले भनिन, ‘अहिले यो अभियानमा मानिसहरू आफ्नो जन्मदिन र विभिन्न उत्सवमा समेत आएर सक्दो दान गर्न थालेपछि अभियान थप सार्थक बनेको छ।’ सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय