बुधबार , बैसाख १२, २०८१

काठमाडौँ । कोरोनाको महामारीको दोस्रो लहर तीब्रगतिमा फैलिएर आम जनताको जीवन कष्टकर भएको बेला केही व्यापारीका लागि भने यहि महामारी कमाउने मेलो भएको छ ।

महामारीको समयमा केही व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मुल्य बढाएर उपभोक्ताबाट असुलि गरिरहेका छन् । खाने तेल, दाल,गेडागुडी, चिनी लगायतका वस्तुमा अस्वभाविक मुल्य बढाएर उपभोक्ताबाट असुल्ने काम गरेका छन् केही व्यापारीले । महामारीमा मनपरी मुल्य असुल्न थालेपछि सर्वसाधारण मर्कामा परेका छन् । खाद्य वस्तुको अस्वभाविक मुल्य बढ्दा दैनिक ज्याला मजदुरी गरेर गुजार गर्दै आएका सर्वसाधारण मर्कामा परेका छन् । महामारी नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेपछि रोजगारी गुमाएकाहरु सबै भन्दा संकटमा छन् ।

घट्टेकुलोमा बस्दै आएका ज्याला मजुरी गरी दैनिक जुगारा गर्ने विकास लामा महँगीले घरपरिवार धान्न मुस्किल परेको बताउँछन् । निषेधाज्ञा नहुँदा दैनिक ज्याला मजदुरी गरेर हजार १५ सय कमाउने लामा अहिले आम्दानी ठप्प भएको बताउछन् । ‘केही दिन अघि मात्र प्रतिकेजी ८० देखि ८५ रुपैयाँमा पाइने चिनी अहिले ९० देखि ९५ रुपैयाँ लिन थालेका छन् ।’ उनी भन्छन् ‘खाने तेलमा प्रतिलिटर १५ देखि २० रुपैयाँ सम्म बढी लिने गरेका छन् ।’ दाल र गडागुडीमा प्रतिकेजी ५ देखि १० रुपैयाँ बढाएको उनले बताए । ‘यस्तो महँगीमा हामी दैनिक ज्याला मजदुरी गरेर खानेले कसरी गुजारा गर्ने ?’ उनले प्रश्न गरे ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले थोक व्यापारीहरुको मिलेमतोमा दैनिक उपभोग्य वस्तुको मुल्य बढाएको बताए । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले गरेको निषेधाज्ञाको मौकापारी ठुला थोक व्यापारी र उत्पादनकहरुले बजारमा सामानको कृत्रिम आभाव सृजना गरी खाद्य वस्तुमा मुल्य बढाउने चलखेल गरेको उनको आरोप छ ।

‘लकडाउनमा सर्वसाधारणले मौज्दात राख्ने गरी खाद्यन्न किन्न थालेपछि ठुला थोक व्यापारी र उत्पादनकहरुले त्यसको फाइदा उठाउँदै मिलेमतोमा मूल्य बढाइयो ।’ उनले भने । ‘खाने तेल, चना, गेडागुडी र चिनीको होलसेल मूल्य बढेको छ ।’ होलसेलमा मूल्य बढेपछि खुद्रा व्यवसायीले पनि सोहीअनुसार मूल्यवृद्धि गरिरहेका छन् । निषेधाज्ञाको मौका छोपी भइरहेको मूल्यवृद्धिका विषयमा संघले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराइसकेको उनले बताए । पटक पटक बजारमा अस्वभाविक मुल्यबृद्धि भएकोबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै आएपनि सम्बन्धित निकायले नै ध्यान नदिएको उनको भनाई छ ।

थोक व्यवसायीहरुले मुल्य बढी मुल्य लिन थालेपछि साना खुद्रा पसललेहरुले बाध्य भएर उपभोक्ताबाट बढी मुल्य लिनु पर्छ । साना खुद्रा पसल गर्ने व्यापारीले एक दुई रुपैयाँ नाफा राखेर सामान विक्री गर्ने गरेका हुन्छन् । ‘तर ठुला थोक व्यापारीले खरिद गरेको विलविजन नदिइदा सरकारी निकायले अनुगमन गर्दा साना व्यवसायी नै फस्छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘थोक व्यवसायीले हामीलाई खरिद गरेको बिल दिन नमान्दा साना व्यापारीलाई समस्या भयो,‘ त्यसकारण सरकारी निकायले बजार अनुगमन गर्दा स्रोतमै अनुगमन गर्न पर्छ ।’ अध्यक्ष श्रेष्ठले भने ।

यी सामानमा मूल्य बढ्यो

अध्यक्ष श्रेष्ठका अनुसार लकडाउन अघि सम्म चिनी प्रतिकेजी ८० देखि ८५ पाउने अहिले ९० रुपैयाँ पुगेको छ । सुर्य मुखी खाने तेल प्रतिलिटर २ सय ४५ पर्ने २ सय ५५ रुपैयाँ पुगेको छ । भटमासको तेल २ सय ३० बाट २ सय ४५ रुपैयाँ पु¥याइएको छ । श्रेष्ठ भन्छन् ‘पुरानो स्टक भएका व्यवसायीले पुरानै मूल्यमा बिक्री गरे पनि अहिले पसलपिच्छे मूल्य फरक छ ।’ दाल गेडागुडीमा प्रतिकेजी ५ देखि १० रुपैयाँ सम्म बढाएको छ ।’

मुसुरो दाल १०७ बाट बढेर १२२ रुपैयाँ, मासको दाल १५५ बाट १६० रुपैयाँ र रहर दाल १५० बाट १६० रुपैयाँ पुगेको छ । चामलको मूल्य पनि प्रतिबोरा एक सय रुपैयाँ बढेको छ । ‘एक बोरा चामलको १५ सय पर्नेमा अहिले १६०० देखि १६५० रुपैयाँसम्म पर्छ ।’ उनले भने । अन्तर्राष्ट्रिय बजारको मुल्य र ढुवानी भाडा बढेको बाहाना बनाएर संकटकको अवस्थामा ठुला थोक व्यवसायीले दैनिक उपभोग्य वस्तु सर्वसाधारण उपभोक्तालाई मर्कामा परेको श्रेष्ठको भनाइ छ । अस्वभाविक मुल्य नियन्त्रण गर्न सरकारी निकायको प्रभावकारी बजार अनुगमन हुनुपर्ने उनले बताए ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले खाने तेलमा बढेको मुल्यका विषयका विभागले विभिन्न अध्यायन गरी रहेको बताए । महानिर्देशक पौडेलले भने,‘ विभागबाट दैनिक तीन टोलीले बजार अनुगमन गरी रहेको छ । खाने तेलको हकमा व्यवसायीले ढुवानी र अन्तर्राष्ट्रिय बजारमा मुल्य बढेको कारण देखाएका छन्, । तर, हामीले विभिन्न तेल उत्पादन हुने उद्योगबाट लागत मुल्य तर विक्री मुल्य के कति परेको छ तथ्यांक संकलन गरी अध्ययन गरी रहेका छौँ ।’ विभागको टोलीले चिनीको थोक बजारमा अनुगमन गर्दा प्रतिकेजी र ८१ रुपैयाँ र ८६ रुपैयाँ पाइएको उनले बताए ।

व्यापारीले संकटकै अवस्था पारेर बजारमा मुल्य बढाउने काम गरेका हुन्छन् भन्दै यस्ता अनुचित क्रियाकलापलाई रोक्न विभागको एक्लो जनशक्तिले मात्र अनुगमन गरेर नियन्त्रण गर्न नसकिने उनको भनाई छ । यसका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि विषेश परिस्थितीका लागि बजार अनुगमन गर्ने टोली खटाउनु पर्ने उनको भनाई छ । महानिर्देशक पौडेलले देशभरको बजारलाई सन्तुलित बनाउन हरेक स्थानीय तहले पनि बजार अनुगमन गर्नु पर्ने बताए । विभागसंग उपलब्ध भएको जनशक्ति अनुसार बजार अनुगमन गरी कारबाही गरी रहेको महानिर्देशक पौडेलले बताए । राजधानी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय