सोमबार , अषोज ४, २०७८

बनेपा । उमेरले ७२ पुगिसके । अनुहार चाउरी परिसक्यो । ढाका टोपी र कोट लगाएका उनी कुप्रो पर्दै सकसका साथ हिँडिरहेका छन् । देब्रे खुट्टा खोच्याउँदै अघि बढ्छन्, छिनछिनमा सुस्केरा हाल्दै रोकिइरहन्छन् । गाह्रो भएपछि सडक किनारमै थचक्क बस्छन् र फेरि गन्तव्यतिर अघि बढ्छन् ।

उनी अर्थात् रामेछाप, प्रितीका शेरबहादुर बस्नेत । कोभिड–१९ को महामारी नियन्त्रणका लागि काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा लगाइएको उनलाई थाहा थियो । निषेधाज्ञा लागू हुनुअघि घर जान दुईदिन समय दिइएको बारे पनि उनी जानकार छन् । तर भन्छन्, ‘टिकटको जोरजामै गर्नै सकिएन ।’

सुरुमा त उनलाई घर जान्नँ भन्न लागेको थियो । तर प्रशासनले एकसाता भनेको निषेधाज्ञा मन्त्रिपरिषद्ले थप सात दिन लम्ब्याएको थाहा पाएपछि गौशालास्थित भदैको घरमा लामो समय बसिरहन उनको मनले मानेन । ‘आफन्त कहाँ सधैँ बसेर हुन्छ र ?’ प्रश्न मिश्रित भावमा उनी भन्छन् ।

त्यही कारण उपचार गर्न र मन्दिर दर्शन गर्न भन्दै काठमाडौं आएका उनले निषेधाज्ञाका बीच हिँडेरै रामेछाप पुग्ने अठोट लिए । र, कालो झोला भिरेर उनी शुक्रबार जोशका साथ पैदल यात्रामा निस्किए ।

पहिले पनि हिँडेकै बाटो भन्दै गौशालाबाट निस्किएका उनी बनेपा पुग्दा चाहिँ निकै थकित देखिन्थे । ‘काभ्रेसम्म पुगेपछि बसपार्कमा गाडी पाइन्छ कि भन्ने आश थियो’ हिँड्दै कुरा गरेका उनले भने, ‘हेरौं के हुन्छ !’

बनेपा पुग्न साढे ५ घन्टा

गौशालास्थित कोठामा खाना खाएर विहान ८ बजे निस्किएको उनलाई बनेपा पुग्न उनलाई साढे ५ घन्टा लाग्यो । ‘पोहोर प्रितीमै मोटरसाइकलले ठक्कर दिँदा खुट्टा गइहाल्यो’ उनले सुनाए, ‘त्यसपछि राम्रोसँग हिँड्नै सक्दिन ।’

आराम गर्दैगर्दै आउँदा साढे २ बजे मात्रै बनेपा पुगेको उनले बताए । ‘यहाँबाट त बस पाइन्छ कि’ उनी सोध्दै थिए । उनीसँगै हामी पनि बसपार्कतिर लाग्यौं । काभ्रेमा निषेधाज्ञा थिएन । सडकमा सवारीसाधनहरु चलिरहेको देखिन्थे । यद्यपि बसपार्कमा पनि लामो दूरिका सवारीसाधन खासै देखिएनन् ।

खुर्कोटसम्म जाने एउटा टाटा सुमो चाहिँ भेटियो । ‘बा.. यसमै जानुस्, त्यहाँबाट केही पाइएला नि’ पूरै भनिनसक्दै सानो स्वरमा उनी सुनिए, ‘रामेछापै हिँडेर जान्छु भनेर आएको हुँ, जहाँसम्मको भेटिए पनि गइहाल्छु ।’

०००

गत वर्ष सरकारले लकडाउन गर्दा नागरिकलाई गाउँ फर्किने समय दिएको थिएन । एकैपटक यातायात बन्द हुँदा सयौं व्यक्ति अलपत्र गरे, लकडाउन लम्बिँदै जाँदा पैदल हिँडेर घर फर्किएका थिए । यसपटक घर जान प्रशासनले दुई दिनको समय दिएको थियो । तर कतिपय टिकट नपाउँदा उपत्यकामै रोकिए ।

यसरी रोकिएका मध्ये केही हिँडेर काभ्रेसम्म पुगेका थिए । केही ट्याक्सी चढेर बनेपा बसपार्क पुगेको सुनाउँथे भने केही पैदल आइपुगेका थिए । यद्यपि संख्या नगन्य थियो । उनीहरुमध्ये एक थिए, बाँकेका विपिन शाह ।

काठमाडौंमा मजदुरी गरिरहेका उनी यसपटक लामो समय बन्द नहोला भन्दै काम गरिरहेका थिए । तर बिहीबार दिउँसो ठेकदारबाट एक्कासि खबर आयो, ‘अब सामान पनि आउँदैन, काम केही समय बन्द हुन्छ ।’

काम रोकिएपछि पैसा आउने कुरै भएन । पैसा नआउने भएपछि के गरेर पेट पाल्ने ? भाडा तिर्नै पर्‍यो, खानै पर्‍यो । त्यसपछि कतै ट्याक्सी, कतै पैदल हिँड्दै कोटेश्वरबाट साँगा कटे । त्यहाँबाट हिँडेर बनेपा बसपार्कसम्म पुगे ।

र, १५ सय रुपैयाँ तिरेर घर जान तयार भए । उनका अनुसार सामान्य अवस्थामा धेरैमा पनि साढे ७ सय रुपैयाँ तिरेर गाउँ पुगिन्थ्यो ।

०००

लामो दुरीको सवारी नभेटिए पनि रिजर्भमा भने लैजान सकिने रहेछ । बसपार्कमा पुगेर सुनसरी, झापा, संखुवासभा लगायतका पूर्वी क्षेत्रमा जाने टिकट पाइन्छ भनेर सोध्दा सुरुमा अधिकांशले नपाइने जवाफ फर्काएका थिए । तर टिकट सोध्दै हिड्दा भेटिएका एक युवकले गाडीका ड्राइभरहरुलाई भेट्न सुझाए ।

काभ्रेमा मोटरसाइकल वर्कसपमा काम गर्ने उनी पनि इटहरीस्थित घर जाने तयारीमा रहेछन् । यसका लागि गाडी खोजिरहेका थिए । नजिकै एउटा सुमो रोकिएको थियो, चालकलाई ‘गाडी पूर्व जान्छ’ भनेर सोध्ने वित्तिकै जिल्लाबारे सोधिखोजी गरे ।

‘झापा’ भनेपछि यात्रुसंख्या सोधे । केहिवेरमा आफैं जवाफ दिए, ‘१० जना भए प्रतिव्यक्ति दुई हजार । नत्र, ५ जना भए एकजनाले चार हजार तिर्नुपर्छ । इटहरीसम्म छाड्ने काम मेरो ।’ इटहरीबाट गाडी पाउन समस्या नभएको उनको भनाइ थियो । उनले सल्लाह गरेर आउन भन्दै माेबाइल नम्बर टिपाए ।

छेऊमा रहेका केही यात्रुहरु चाहिँ सानो स्वरमा भन्दै थिए, ‘लकडाउनले सुमोको कम्ता भाउ बढेको छैन ।’

यो पनि पढ्नुहोस
नाकामा बिहेको गाडीका लस्कर, साँगाबाट मात्रै ८० वटा बाहिरिए
०००

फर्किएर साँगा छेऊ आइपुग्दा ठूलो सुटकेश, टिभीलगायत बोकेका केही युवकहरु भेटिए । झट्ट हेर्दै विदेशबाट फर्किएको अनुमान लगाउन गाह्रो थिएन । ‘ट्याक्सीमा चढाएर यहाँसम्म ल्याएपछि पो भाडाको बार्गेनिङ गर्छ’ जनकपुरका विजय यादव रिसाउँदै भनिरहेका थिए ।

अर्का दुई यात्रु पनि भाडा धेरै भएको भन्दै कराइरहेका थिए । गाडीले चार हजार भनेपछि घर जाने कि नजाने उनी अलमलमा थिए ।

उनले ‘भाडा धेर भयो नजाने’ भनिसक्दा गाडीको हुटमा सामान मिलाउँदै गरेका गाडीका चालक जस्ता लाग्ने व्यक्ति कराइ हाले, ‘त्यसरी काँ हुन्छ, पहिल्यै भन्नु पर्थ्यो, म अर्को मान्छे हालेर ल्याउँथे ।’ विभिन्न मुलुकबाट फर्किएका यात्रुलाई विमास्थलबाट लिएर निस्किँदै गर्दा उनलाई पनि ट्याक्सीमा चढाइएको रहेछ ।

विदेशबाट आएको टिकट देखाएपछि प्रहरीले ट्याक्सीमा रहेका अन्य यात्रुबारे खासै सोध्दो रहेनछ । ट्याक्सीमा साँगासम्म उनी सहजै कटे । त्यहाँ पो भाडा सुनेपछि छक्क परे । जाँदिनभन्दा पनि उनले धर पाइरहेका थिएनन्, ४० प्रतिशत भए पनि तिर्नुपर्छ भन्न थालेपछि उनी चुपचाप गाडीमा सामान लोड गर्न थाले ।

छेऊमा रहेको ट्याक्सीसँगै उभिएका चालकले भनेअनुसार चाहिँ विदेशबाट आउने यात्रुलाई लक्षित गरेर सुमोका चालकहरुले गाडी कुदाइरहेका थिए ।

‘एयरपोर्टबाटै दुईवटा ट्याक्सी रिजर्भ गरेर यात्रु ल्याएपछि साँगामा आफ्नो गाडीमा हालेर जिल्लाजिल्ला पुर्‍याउँछन्’ उनले सुनाए, ‘विदेशबाट आएकालाई गाउँ फर्काएको भनेपछि कुनै रोकटोक हुँदैन ।’ त्यही मेसोमा बाटोमा भेटिने अन्य मजदुरहरुलाई पनि उनीहरुले चढाउने गरेका रहेछन् तर भाडाचाहिँ मजदुरको ढाड सेकिने गरी लिएर ।

अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय