नेपालसमेत दुनियाँका थुप्रै देशमा कोभिडको संक्रमण बढ्दै गइरहेको छ तर एउटा सानो एशियाली द्वीप यो पूरा महामारीमा सबैभन्दा सुरक्षित देशको रुपमा सार्वजनिक भएको छ ।

ब्ल्यूमबर्गको एक रिपोर्टमा सिंगापुरले न्यूजिल्याण्डलाई पछाडि पारेर पहिलो स्थान हासिल गरेको छ । न्यूजिल्याण्ड थुप्रै महिनादेखि पहिलो स्थानमा थियो । यो सूची थुप्रै कुराहरुलाई ध्यानमा राखेर बनाइएको हो जसमा कोभिड संक्रमणलदेखि घुम्ने स्वतन्त्रतासम्म समावेश छ ।

त्यसो भए महामारीको यो समयमा एउटा यस्तो देशमा बस्न पाउँदा कस्तो महसुस होला जहाँ सबैकुरा लगभग सामान्य जस्तै छ ।

लगभग सामान्य जीवनः

यो साँचो हो, सिंगापुरमा जीवनयापन सहज छ । यद्यपि, यसका लागि केही चेतावनी भने दिइएका छन् ।

हालैका दिनमा केही संक्रमित देखिएपनि यसमाथि नियन्त्रण पाइएको छ । कुनै पूरा इलाकामा संक्रमण फैलिएको स्थिति कहिँ कतै पनि छैन ।

कतै जानका लागि कडा नियम छ । सीमामा सुरक्षा कडा छ । बाहिरबाट आउने हरेक सामानको जाँच हुन्छ र तुरुन्त किनारा लगाइन्छ । अघिल्लो वर्ष दुई महिना लकडाउनबाहेक पुनः लकडाउन लगाउनुपर्ने स्थिति आएको छैन ।

जीवन लगभग सामान्य छ । म आफ्नो परिवार र साथी जसलाई पनि भेट्न सक्छु, डिनरमा वा कुनै रेष्टुरेन्टमा । यद्यपि, एकैपटक आठजनाभन्दा बढी मानिसहरु भेट्न सक्दैनौं । मास्क लगाउन अनिवार्य छ, तपाईं यसलाई खाँदा वा व्यायाम गर्दा निकाल्न सक्नुहुन्छ ।

हामीमध्ये धेरै मानिसहरु काममा फिर्ता भइसकेका छौं । यद्यपि, कार्यालयमा सामाजिक दुरीलाई ध्यानमा राखिन्छ । तपाईं सिनेमा हेर्न र सपिङ गर्न जान सक्नुहुन्छ । यसका लागि मास्क र कन्ट्याक्ट ट्रेसिङ एपको आवश्यकता पर्छ ।

स्कूल पनि खोलिएका छन् र विकेन्डमा हामी आफ्ना बच्चालाई बाहिर पनि लैजान सक्छौं तर कुनै पनि स्थानमा कमै मानिसलाई अनुमति दिइने भएकोले कहाँ जाने भनेर निर्णय गर्नु कुनै युद्धभन्दा कम छैन ।

१५ प्रतिशत जनसंख्यालाई खोपः

करिब १५ प्तिशत जनसंख्याले भ्याक्सिनको पूरा डोज पाइसकेका छन् । सायद यो यसकारण पनि सम्भव हुनसक्यो किनभने हाम्रो जनसंख्या ६० लाख मात्रै छ । तर यसका लागि उत्कृष्ट प्रक्रिया, सरकार र भ्याक्सिनमाथि विश्वासले पनि महत्वपूर्ण भूमिका निभायो ।

त्यसैले हामी सुरक्षित छौं तर यसका साथै मानिसहरुलाई लाग्न थालेको छ कि हामी दुनियाँको सबैभन्दा राम्रो स्थानमा बसिरहेका छौं तर सयौं प्रवासी कामदारका लागि यस्तो छैन ।

उनीहरु अहिले पनि आफ्नो काम गर्ने स्थान वा डरमेट्रीसम्म मात्रै सिमित रहन बाध्य छन् । यो निर्णय अघिल्लो वर्ष संक्रमणपछि ती स्थानका लागि लिइएको थियो जुन खासै सफा सुग्घर थिएनन् ।

उनीहरुले आफ्नो डरमेट्री छोड्नका लागि कम्पनीको अनुमति लिनुपर्छ र भेटघाटका लागि सरकारी स्थान तोकिएको छ ।

यो सबै देशको बाँकी हिस्सालाई सुरक्षा दिनका लागि अपनाइएको हो किनभने सरकारका अनुसार संक्रमण फैलनुको एउटा ठूलो खतरा छ । तर यसले समानताको कुरा बीच सिंगापुर अहिले पनि एक रुढीवादी देश हो भन्ने तितो सत्यतर्फ इशारा गर्छ ।

आप्रवासी अधिकारका लागि आवाज उठाउने एक सामाजिक कार्यकर्ताले यसलाई लज्जास्पद र भेदभावयुक्त बताएको छ ।

‘न्यूजिल्याण्ड पनि यो सूचीमा माथि नै छ तर उनीहरुले मानिसहरुको अधिकार खोसेका छैनन् । यो नतिजाबारे मात्रै होइन, हामी त्यहाँ कसरी पुग्यौं भन्ने पनि जरुरी छ ।’

गरिबका लागि यो महामारी अभिषाप साबित भएको छ । सरकारले अर्थव्यवस्थालाई सुधार्नका लागि आवश्यकतामा रहेका परिवारको मद्दतका लागि लाखौं डलर खर्च गरे र बेरोजगारीको दर कम भएको बताउने गर्छ ।

तर, आँकडाले सही कहानी बयान गर्दैन । थुप्रै मानिसहरुको तलब कम भएको छ । जागिर गुमेका थुप्रै मानिसहरुले खाना डेलिभरी वा ड्राइभिङको काम गरिरहेका छन् ।

सामाजिक कार्यकर्ता पेट्रिक वी भन्छन्, ‘यो निकै ठूलो समस्या हो । तपाईंले दिनभरी कति कमाउनुहुन्छ भन्ने पत्तो नहुनु पनि ठूलै तनावको कुरा हो । उनीहरुको स्थान कसैले पनि निकै सजिलै ओगट्न सक्छ त्यसैले जागिर जाने हो कि भन्ने डरले पनि सताइरहन्छ ।’

एक सुनौलो जेलः

ती मानिसहरु जसलाई स्वतन्त्रताको अनुभव भइरहेको छ, जसले निश्चित तलब पाइरहेका छन्, उनीहरुको पनि समस्या छ । एउटा यस्तो देश जहाँ हरेक ठाउँमा क्यामरा लगाइएका छन्, ती स्थान जहाँ थोरै निजता थियो, महामारीले त्यो पनि समाप्त पारिदिएको छ ।

हामीले यो ठानेका थियौं कि हामीले जतासुकै गएता पनि एउटा एप वा टोकनको प्रयोग गर्नैपर्छ र हामीले जसलाई भेटेपनि यसको जानकारी हामीमार्फत् लिइँदैछ । यद्यपि, सरकारले यो डाटामार्फत् कसैको पनि पहिचान गर्न नसकिने दाबी गर्ने गर्छ ।

कोभिड–१९ ले गोपनियताको विवादलाई समाप्त नै पारिदिएको छ । कोही मानिसहरु यस्तो माहौलका लागि यसको आवश्यकता भएको भन्दै सरकारको कुरासँग सहमत छन् । तर कतिले यो डाटाको गलत प्रयोगका लागि चेतावनी दिएका छन् ।

तर यात्रा र क्वारेन्टिनको कडा नियमका कारण थुप्रै मानिसहरुले यसलाई सुनौलो जेल मान्न थालेका छन् । यसको अर्थ यो हो कि तपाईं अन्य देशमा बसिरहेका परिवार र साथीहरुलाई भेट्न सक्नुहुन्नँ ।

एउटा भीडभाडयुक्त स्थान जुन अलग थलग छ, त्यहाँका मानिसहरु विकेन्डमा वा घुम्नका लागि इन्डोनेशियाका द्वीपमा वा मलेसियाको बोर्डरमा बसेको शहरमा जाने गर्दथे ।

यो अब सम्भव छैन, त्यसैले हज्जारौं मानिसहरु अब ती क्रुज जहाजमा चढेको देखिए, उनीहरु खासै टाढा जान लागेको नसोचेपनि हुन्छ । मोटरसाइकल वा कारमा घुम्ने मानिसहरु जो मलेसियाको हाइवेमा देखिन्थे अब यो द्वीपको चक्कर लगाइरहेका छन् ।

देश खोल्नुपर्छः

सिंगापुरको हङ्गकङसँग ट्राभल बबल खोलिने खबरमा थुप्रै मानिसहरु खुसी छन् । अघिल्लो वर्ष पनि एउटा यस्तै कोसिस भएको थियो तर यो सफल हुन सकेको थिएन ।

सुधिर थोमस वडाकेथ, जसको परिवार भारतमा बस्छन् र तनावमा छन्, उनी एक अचम्मको अवस्थाबाट गुज्रिरहेका छन् ।

उनी भन्छन्, ‘थुप्रै देशमा स्थिति निकै खराब छ र हामी यहाँ ट्राभल बबलको कुरा गरिरहेका छौं । मलाई यो सही लागिरहेको छैन कि हामी बन्द भएर आफ्नो जीवन मस्तसँग काटिरहेका छौं र अन्य देशको स्थिित यति खराब छ ।’

‘सिंगापुरले विश्वव्यापीकरणपछि निकै सफलता हासिल गरेको छ । अन्य देशसँग हाम्रो सम्बन्धलाई मध्यनजर गर्दै मलाई लाग्छ कि हाम्रो उनीहरुप्रति नैतिक जिम्मेवारी छ ।’

सिंगापुरका थुप्रै मानिसहरु अहिलेसम्म जिउँदो हुनुमा आफूलाई भाग्यमानी ठान्छन् । तर स्थिति यस्तै रहन्छ भन्ने छैन ।

सिंगापुरको सरकारले अर्थव्यवस्थालाई बचाउनका लागि देश खोल्नैपर्छ भन्ने कुरामा जोड दिएका छन् । यसको सुरुवात चीन र अष्ट्रेलियासँग भइसकेको छ, जहाँ थुप्रै प्रतिबन्धसहित यात्रा गर्न सकिन्छ ।

सिंगापुर एकदिन अन्य दुनियाँसँग पुनः चल्न सुरु गर्नेछ र त्यतिबेला हाम्रो कोभिडको वास्तविक परीक्षा सुरु हुनेछ ।

बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय