बिहिबार , बैसाख १३, २०८१

कोरोनाभाइरसको दोस्रो लहर फैलिएसँगै पर्सा र धनुषा जिल्लामा दिनहुँ सयौँ संक्रमित थपिइरहेका छन्।

संक्रमितको संख्या दिनदिनै बढेपछि अस्पताल भरिभराउ भएको भन्दै स्वास्थ्य मन्त्रालयले आफ्नो ख्याल नागरिक आफैंले गर्नु पर्ने आशयको विज्ञप्ति नै जारी गरेको छ।

अस्पतालमा बेड नपाएपछि अहिले धेरै कोरोना संक्रमित घरमै सुरक्षित हुने भन्दै होम आइसोलेसनमा बसिरहेका छन्।

दुई हजार ‍चार सय ५५ सामान्य प्रकृतिका संक्रमित होम आइसोलेसनमा छन् भने सात सय ९० जना लक्षणसहितका संक्रमित विभिन्न अस्पतालमा रहेको प्रदेश दुईको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

पर्सामा सबैभन्दा बढी एक हजार तीन सय ३४ कोरोना संक्रमित होम आइसोलेसनमा छन्।

धनुषामा तीन सय ३, बारामा दुई सय ८२, रौतहटमा एक सय ५९, महोत्तरीमा एक सय ५२, सप्तरीमा ७१, सिरहामा ३८ र सर्लाहीमा १६ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

गम्भीर प्रकारको लक्षण नदेखिए पिसिआर परीक्षणपछि कोरोनाबाट बच्न अपनाइने आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्दै आफूलाई पायक पर्ने अस्पतालका सम्बन्धित चिकित्सकको सम्पर्कमा रही संक्रमितलाई घरमै आइसोलेसनमा बस्न र स्वास्थ्यमा समस्या देखिए अस्पताल आउन मापदण्डमा भनिएको छ।

होम आइसोलेसनमा बसेका संक्रमितलाई सरकारी स्तरबाट कुनै प्रकारको ध्यान दिइएको भने पाइएको छैन।

सरकारले होम आइसोलेसनमा रहेका बिरामीको समेत जानकारी लिनुपर्ने हुन्छ। तर अहिलेसम्म सरकारका कुनै पनि निकाय, स्वास्थ्यकर्मी वा जनप्रतिनिधिले आफ्नो खोजखबर नगरेको होम आइसोलेसनमा बसेका संक्रमितको गुनासो छ।

जनकपुरधामका अनिल झा ५ दिनदेखि होम आइसोलेसनमा छन्। रूघाखोकी, ज्वरोसहित कोरोनाका लक्षण देखिए पनि पाँच दिनमा स्वास्थ्य अवस्थाबारे सोधखोज गर्न न त कुनै अस्पतालबाट उनलाई फोन आएको छ न त कोभिडका बिरामीका लागि खटाइएको रेस्पोन्स टिमले नै उनलाई सम्पर्क गरेको छ।

‘संक्रमित भएको पाँच दिन भइसक्यो, ज्वरो, रूघाखोकी लाग्ने, घाँटी दुख्ने समस्याले म ग्रस्त छु,’ उनले सेतोपाटीसँग भने ‘सम्बन्धित अस्पतालका फोकल पर्सन वा सिआइसी टिमले मेरो स्वास्थ्य अवस्थाबारे सोधीखोजी त के फोनसम्म गरेको छैन्। थप कुनै समस्या परे कता जाने, के गर्ने भन्ने चिन्ता मलाई सताइरहेको छ।’

प्रदेश २ ले कोरोना संक्रमण नियन्त्रणका लागि अस्पतालका साथै रेस्पोन्स टिम बनाएको दाबी गरेको छ। तर ती टिम होम आइसोलेसनमा बसेका बिरामीकहाँ पुगेका छैनन्।

महोत्तरीको जलेश्वरका पत्रकार दशरथ भण्डारी कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसिरहेका छन्।

उनको घरमा उनीसहित परिवारका सबै सदस्य एक सातादेखि संक्रमित छन्। तर त्यहाँका स्वास्थ्य कार्यालय वा कोभिड रेस्पोन्स टिमबाट उनीहरूको अवस्थाबारे बुझ्न कुनै पनि निकायले ध्यान दिएका छैन।

‘स्वास्थ्य कार्यालयलाई जानकारी गराएपछि त्यहाँबाट अस्पतालमै आएर उपचार गराउन भन्यो,’ उनले भने ‘त्यहाँ जाँदा अहिले कोरोनाको उपचार बन्द रहेको भन्दै फर्काइयो।’

जनकपुरकै अर्का एक संक्रमित ७ दिन होम आइसोलेसन बसिसकेका छन्। उनलाई सुरूका दुई दिन ज्वरो आए पनि अहिले खासै कुनै लक्षण देखिएको छैनन्। उनी के हुने हो भनेर आत्तिएका छन्। सल्लाह दिने भने कोही छैन।

सल्लाह सुझावका लागिसमेत आजसम्म सरकारी निकायबाट फोन आएको छैन।

स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत डाक्टर कमलेशप्रसाद यादवले होम आइसोलेसनमा बसेकाका लागि पहिला समस्या रहे पनि अहिले प्रत्येक स्थानीय तहमा सिआइसी टिम गठन गरी तिनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिइँदै आएको दाबी गर्छन्।

‘हामीले होमआइसोलेशनमा बसिरहेका लगभग प्रत्येक संक्रमितलाई नियमित सम्पर्क गर्दै आएका छौँ,’ उनले भने, ‘अहिले पहिलेजस्तो समस्या छैन।’

जनकपुरधाम उपमहामनगरपालिका सिआइसी टिमका विनय पंजियारले केही दिन अगाडिसम्म होम आइसोलेसनमा बसेकालाई समस्या रहे पनि अहिले त्यस्तो कुनै समस्या नरहेको बताउँछन्।

उनका अनुसार जनकपुरधाम उपमहानगरपालिकामा ५ सदस्यीय सिआइसी टिम गठन गरिएको छ। प्रत्येक सदस्यलाई ५/५ वडाको जिम्मेवारी दिइएको छ।

‘आफ्ना टिमलाई संक्रमितको कन्ट्याक्ट ट्रेसिङदेखि अनुगमन गर्नेसम्मको जिम्मेवारी दिएका छौं,’ उनले भने, ‘हरेक वडा-वडामा गई होम आइसोलेसनमा बसेकाहरूको अनुगमन गर्दै चिकित्सकीय परामर्शअनुसार औषधी लिन सल्लाह दिइरहेको छौं, थप उपचारको आवश्यकता भएकालाई अस्पताल पुर्‍याउने गर्छौं।’

महोत्तरीकी कोरोना फोकल पर्सन प्रतिभा सिंहले होम आइसोलेसनमा बसेकाको हेरचाह र अनुगमनको जिम्मेवारी स्थानीय तहअन्तर्गतको सिआइसी टिमलाई दिइएको बताइन्।

‘तथ्यांकको आधारमा सम्बन्धित स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङ र होम आइसोलेसनमा बसेकाको अनुगमन गर्ने हो,’ उनले भनिन् ‘तर सम्बन्धित स्थानीय तहले के-कति कारणले अनुगमन गरिरहेको छैन भन्नेबारे मलाई जानकारी भएन।’ सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय