इटालीका ‘रबिन्सन क्रुसो’ मानिने माउरो मोरान्डीले आफू एक्लै बस्दै आइरहेको टापू छाड्ने भएका छन्। ८२ वर्षीय मोरान्डीले इटाली, उत्तरी सार्डिनियाको सुन्दर बुडेली टापूमा आफ्नो जीवनको तीन दशकभन्दा बढी समय एक्लै बिताइसके।

invotech
मोरान्डी सन् १९८९ मा बुडेली टापू पुगेका थिए। त्योबेला देखि उनी त्यही बसे। मोरान्डीलाई त्यहाँ बस्न निकै सहज र आनन्द थियो।

तर सन् २०१५ देखि बुडेली टापू सरकारी स्वामित्वको ला माडालेना राष्ट्रिय निकुञ्जअन्तर्गत पर्‍यो। त्यस बेलादेखि भने मोरान्डीलाई टापूमा बस्न नदिने कुरा उठ्यो। उनी यसविरूद्ध सरकार र स्थानीय अधिकारीहरूसँग लडे पनि। तर स्थानीय अधिकारीहरूले उनलाई निकाल्ने भन्दै बारम्बार धम्की दिए। अन्ततः मोरान्डीले बुडेली टापू छाड्ने भएका हुन्।

मोरान्डीले यो कुरा गत साताको आइतबार आफ्नो फेसबुक पेजबाट घोषणा गरेका हुन्।

school
‘म टापू छाडेर जाँदैछु,’ उनले लेखेका छन्, ‘आशा गर्छु बुडेलीलाई मैले जसरी ३२ वर्षदेखि स्याहारेँ, त्यसरी नै स्याहार गरिनेछ र जोगाइनेछ।’

मोरान्डी पहिले शिक्षक थिए। घुम्दै, अन्वेषण गर्दै हिँड्ने उनको सोख थियो। उनी ३२ वर्षअघि इटालीदेखि पोलिनेसियाको यात्रा क्रममा गल्तीले बुडेली टापू पुगेका थिए।

त्यहाँको कञ्चन पानी, चम्किला बालुवाका कण र सुन्तले रङमा सजिएर अस्ताइरहेको घामले एकैक्षणमा मोरान्डीलाई मोहनी लगाए। उनको मुटु चोरे। टापूको सुन्दरतामा मोहित मोरान्डी त्यहाँबाट फुत्कन चाहेनन्। जनम-जनमकी प्रेमिका भेटिएझैं उनले टापूको अंकमालमा आफूलाई समाहित गरिदिए।

माउरो मोरान्डी। तस्बिरः सिएनएन
मायालुका गुण-दुर्गुण, जिम्मेवारी सबै अपनाउनुपर्छ भनेझैं मोरान्डीले पनि आफूलाई टापूको संरक्षक माने। आफैं पद ग्रहण गरे। हप्तादिन अघिसम्म पनि उनी त्यही कार्यभार सम्हालिरहेका थिए। उनलाई अहिले पनि यहाँका झाडी र चट्टान अन्वेषण गर्न रमाइलो लाग्छ। उनको यो ताज बाहिरी संसारले पनि स्विकारेको थियो। त्यसैले मोरान्डीलाई इटालीका ‘रबिन्सन क्रुसो’ भनिन्छ।

ncell in
मोरान्डीले टापूमा एउटा सानो कुटी बनाएका थिए। गत वर्ष संसारभर कोरोना महामारी फैलिँदा उनले त्यही आफ्नो सानो कुटीबाट संसारमा फैलिएको कोरोना त्रास नियाले। उनलाई कोरोनाको कुनै डर थिएन। लकडाउन र प्रतिबन्धहरूका कारण टापूमा पर्यटकहरू निषेधित थिए।

सिंगो टापूलाई घर बनाएका मोरान्डीले गत वर्ष सिएनएनसँग कुरा गर्दै आफू टापूमा बस्न जे पनि गर्ने बताएका थिए। उनले भनेका थिए, ‘उनीहरूले मलाई यहाँबाट हटाउन घिसार्नुपर्ने स्थिति आए पनि म यो टापू छाड्दिनँ। म यहाँ बस्न जे गर्न पनि तयार छु।’

उनले टापूबाट निस्किहाले कहाँ जाने भन्ने निधो नगरेको बताएका थिए।

‘मलाई थाहा छैन म कहाँ जानेछु। तर मलाई घर फर्केर जान मन छैन। म जीवनमा के गर्छु भन्ने नै थाहा छैन,’ उनले भनेका थिए।

मोरान्डालाई बुडेली टापूमा बस्न अनुमति माग गर्दै अनलाइन अभियान पनि चल्यो। जसअन्तर्गत ७० हजारभन्दा बढीले आवेदन हस्ताक्षर गरे। तर त्यसले काम गरेन। अन्ततः मोरान्डीले आफू त्यो ठाउँबाट जानुपर्ने कुरालाई स्विकारे।

यतिबेला मोरान्डीलाई जानुपर्ने चिन्ताभन्दा बढी टापूको भविष्यको चिन्ता छ।

‘म यहाँको बालुवाका फोहोर सफा गर्थेँ। र अनधिकृत रूपमा यहाँ आउनेहरूलाई रोक्थेँ,’ उनले सिएनएनलाई भनेका छन्, ‘सत्य कुरा के हो भने म मात्रै हुँ जसले बुडेली टापूको राम्रो हेरचाह गर्छ। जुन काम पार्कका अधिकारीहरूले गर्नुपर्ने हो।’

जाँदाजाँदै उनले फेसबुकमा अर्को पनि पोस्ट गरेका छन्। जसमा लेखिएको छ, ‘तपाईंहरूले अर्को ठाउँको थुप्रै फोटा देख्न पाउनुहुनेछ। सार्डिनिया साँच्चै एकदमै राम्रो छ।’

मोरान्डी बुडेली छाडेर नजिकै कुनै अर्को टापूमा बस्ने निधो गरेको हो कि भन्ने उनको पछिल्लो पोस्टबाट अनुमान लगाउन सकिन्छ।

गत वर्ष जनवरी २०२० मा ला माडालेना पार्कका अध्यक्ष फ्याब्रिजिओ फोन्नेसुले सिएनएनलाई मोरान्डी बुडेली टापूमा गैरकानुनी तरिकाले बसिरहेको बताएका थिए।

मोरान्डी बस्ने बुडेली टापूबाट देखिएको दृश्य। तस्बिरः सिएनएन
‘कोही पनि उनलाई त्यहाँबाट भगाउन चाहँदैनन्। तर टापू निजी भइसकेपछि उनी त्यहाँ कुन आधारमा बस्ने?,’ अध्यक्ष फ्याब्रिजिओले त्यसबेला भनेका थिए।

तर मोरान्डीका लागि यो कुनै टापू मात्र थिएन। उनको जीवनको धेरै वर्ष बितेको ठाउँ हो यो।

तीन दशकभन्दा बढी भयो, उनी हरेक रात पुरानो ढुंगाको कुटीमा सुतेको। हरेक बिहान हरियाली प्रकृतिका काखमा बिउँझिन्छन् उनी। बिहान ब्रेकफास्ट खाँदै गर्दा चराचुरुंगी चिरबिर गर्दै उनलाई शुभबिहानी भन्छन्। झ्यालमा बसेका रंगीबिरंगी ती चरासँग एकछिन गफिन्छन्।

यसरी एक्लै अनकन्टार ठाउँमा बसे पनि मोरान्डीलाई बाँकी संसारको खबर छ। इन्टरनेट र सामाजिक सञ्जालमा सक्रिय छन्। उनलाई कोरोना भाइरसको फैलिँदो महामारीबारे थाहा छ। यी सब समाचारपछि आफ्नो एकान्त संसारमा उनले आफूलाई ‘पृथ्वीकै सुरक्षित स्थान’ मा भएको महशुस गरेको बताएका थिए।

‘म ठीक छु, मलाई कुनै डर छैन,’ उनले मोबाइल फोनमार्फत् सिएनएनसँग भनेका थिए, ‘म यहाँ सुरक्षित महशुस गर्छु। यो टापूले सम्पूर्ण सुरक्षा प्रदान गर्छ। यहाँ कोही आउँदैनन्।’

कोरोनाका कारण मोरान्डीलाई केही सकस भने भएको थियो। जाडो याममा पर्यटकहरू यो टापू आउँथे। वर्षौंदेखि मोरोन्डी त्यहाँ पुग्ने पर्यटकसँग दिउँसो घुमघाममा जान्थे। उनीहरूसँग मित्रता गाँस्थे। कहिलेकाहीँ आफ्नो खाना पनि बाँड्थे।

एक्लो बसाइमा मोरान्डीले निकै पढेको पनि सुनाएका थिए, ‘म धेरै पढ्छु। धेरै सोच्छु। तर मलाई लाग्छ मान्छे पढ्न डराउँछन्। किनकि पढेपछि उनीहरू ध्यान गर्न थाल्छन्। नानाथरी सोच्न थाल्छन्। यो निकै खतरनाक हुन सक्छ।’

मोरान्डी यो टापूमा समेटिनुअघि हरेक वर्ष यात्रामा निस्कन्थे। उनी युरोपका एक्ला टापू पुग्थे। घुमन्ते अन्वेषकबाट यो टापूको एक्लो स्थायी बासिन्दासम्मको आफ्नो रूपान्तरणबारे उनी सुनाउँछन्।

बुडेली टापूको गुलाबी बालुवा। तस्बिरः सिएनएन
‘मलाई यहाँ आइसकेपछि अब कुनै यात्रा गरूँजस्तो लागेन। कुनै उत्सुकता, कुनै चासो रहेन,’ उनले भनेका थिए, ‘सबभन्दा सुन्दर, खतरनाक, साहसिक र उत्कृष्ट यात्रा आफूभित्रकै यात्रा हो भन्ने मैले बुझेँ। चाहे त्यो यात्रा बैठक कोठामा बसेर होस् या यहाँ। यही नबुझेकाले धेरैलाई केही नगरी घर बस्न गाह्रो भएको हुनसक्छ।’

उनी थप्छन्, ‘तर म कहिले एक्लो महशुस गर्दिनँ।’

मोरान्डीका अनुसार धेरैजसो मान्छे आफैंसँग रमाउन सक्दैनन्। त्यसैले उनीहरू एक्लिन चाहँदैनन्। तर अहिले लक-डाउनका कारण एक्लै बस्न, आफ्नो सामना आफैं गर्न बाध्य छन्।

यो बाध्यतालाई फरक तरिकाले सोचेर धेरैले फाइदा लिनसक्ने उनी सुझाउँछन्, आफ्नो जीवनको पुनः मूल्यांकन गर्ने अवसर मान्छन्। उनलाई लाग्छ, मान्छेमा यति गर्ने धैर्य पनि छैन।

‘म मान्छे परिवर्तन हुन्छ भन्नेमा विश्वास गर्दिनँ,’ उनी भन्छन्, ‘केही व्यक्ति होलान्, तर बहुसंख्यक मान्छे आफ्नो सहज जीवनशैली र दौडधूपमा बानी परेका छन्।’

मोरान्डी बस्ने यो टापूमा कुनै हाँपदाँप छैन। प्रदूषणरहित ताजा हावा छ। सफा पानी, रमणीय वनस्पति र बैजनी रङका चट्टानमा झल्किएका प्राकृतिक मूर्तिकला। बुडेली सम्पूर्ण भूमध्यसागरकै सबभन्दा सुन्दर टापू हो।

बाहिरी संसारबाट आउनेलाई स्वर्गझैं लागे पनि मोरान्डीले बुडेली टापूको नाडी छामेका छन्। उनलाई थाहा छ, यो टापू जलवायु परिवर्तन र प्राकृतिक विनासबाट पूर्ण मुक्त छैन। केही समयअघि यहाँको समुद्री किनारमा गुलाबी बालुवाको स्पस्ट रेखा देखिन्थ्यो। चहकिलो गुलाबी र अलिअलि सुन्तले ती रेखा कोरल, क्रिस्टल, जीवाश्म र मृत समुद्री जीवहरूले बनेका थिए। त्यति बेला यो किनार अस्ताउँदो घाम वरिपरिको भागजस्तै देखिन्थ्यो।

‘त्यो गुलाबी रेखा हराइसकेको छ, देख्न मुश्किल हुन्छ,’ उनले भने, ‘बुडेलीमा बहने हावाको दिशा बदलिएको छ। गुलाबी बालुवा अब पहिलेजस्तै थुप्रिने छैन।’

मोरान्डीको झन्डै आधा जीवन बितेको यो टापूको स्वामित्व पछिल्ला केही वर्षमा धेरैपटक फेरियो। सन् २०१६ मा सरकारी स्वामित्वको राष्ट्रिय निकुञ्ज भएयता नै उनलाई यहाँ बस्न नदिने कुरा उठेको थियो।

कोरोना भाइरसका कारण सरकारले पोहोर मोरान्डीको बसाइबारे तत्कालै केही निर्णय गरेको थिएन। तर यसपालि भने मोरान्डीले टापू छाड्नुपर्ने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय