बिहिबार , चैत्र १५, २०८०

काठमाडौँ — नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष सातमा पुग्न सफल भएका छन् । उनी फिल्म ‘कोको’को ‘रिमेम्बर मी’बोलको गीत गाएर शीर्ष सातमा प्रवेश गरेका हुन् ।

निर्णायक केटी पेरीले उनको उक्त प्रस्तुतिलाई आजसम्मकै उत्कृष्ट भन्दै तारिफ गरिन् । ‘गीतमा भनेजस्तै हामीले तिमीलाई बिर्सेका थिएनौं । हामीले सधैं तिमीलाई सम्झिरह्यौं,’ उनले भनिन् । निर्णायक लायोनल रिचीले पनि पोखरेलको गायनशैलीको तारिफ गरे । ‘स्टाइलिस हुनु ठूलो कुरा हो । तिमी जुनसुकै गीतलाई पनि आफ्नै बनाएर गाउन सक्छौ । तिमीलाई आइडलमा पुन: स्वागत छ,’ लायोनलले भने।

देशभरको ‘लाइभ भोट’बाट उनी शीर्ष सातमा प्रवेश गरेका हुन् । शीर्ष सात प्रवेशका लागि प्रतिस्पर्धीहरुले डिज्नीको गीत गाएका थिए ।

स्टेज नाम ‘अर्थर गन’ले चिनिने पोखरेलले यसपालि आइडलमा ‘कमब्याक प्रस्तुति’मार्फत शीर्ष १० मा आफ्नो ठाउँ पक्का गरेका हुन् । गत वर्ष जस्ट स्याम आइडलको विजेता बन्दा उनी उपविजेता थिए । यसपालि आइडलले गत वर्षका १० गायकगायिकालाई ‘कमब्याक प्रस्तुति’मार्फत यो सिजनको शीर्ष १० मा प्रवेश गर्ने मौका दिएको थियो ।

‘फेरि यो स्टेजमा फर्कँदै गर्दाको अनुभव कस्तो थियो ?,’ भन्ने प्रश्नको जवाफमा पोखरेलले भनेका थिए, ‘सुरुमा त मलाई अचम्म लाग्यो । फेरि यही स्टेजमा गाउन पाउँछु भन्ने खुसी पनि लाग्यो ।’

कमब्याक प्रतिस्पर्धीको घोषणापछि धेरैले यसलाई पोखरेलका लागि अमेरिकन आइडल जित्ने दोस्रो मौकाका रूपमा चर्चा गरेका थिए । उनको शीर्ष सातमा प्रवेशपछि यो चर्चा फेरि चुलिएको छ । पोखरेलले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो खुसी साटेका छन् । ‘सर्वप्रथम त सबैलाई धन्यवाद दिन चाहन्छु, ज-जसले मलाई भोट दिनुभयो । अमेरिकन आइडललाई पनि यो अवसरका लागि धन्यवाद । फेरि आइडलको स्टेजमा फर्कन्छु भन्ने सोचेको थिइनँ ।’  कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय