बिहिबार , बैसाख १३, २०८१

मोरङ — कोरोना महामारीको दोस्रो चरणको संक्रमण बढिरहेकाले ‘चेन ब्रेक’ गर्न विराटनगर महानगरलगायत आसपास क्षेत्रमा जिल्ला प्रशासन कार्यालय मोरङले शनिबार रातिदेखि सात दिने निषेधाज्ञा जारी गरेको छ ।

जल्ला प्रशासन कार्यालय मोरङले महानगरमा लगाएको निषेधाज्ञा उल्लंघन गरी विराटनगरस्थित रंगेली रोडमा सर्वसाधारणको भीड । तस्बिर : देवनारायण साह/कान्तिपुर
निषेधाज्ञाको पहिलो दिन विराटनगरका सडकमा सार्वजनिक यातायातका साधनबाहेकका सबै सवारीसाधन गुडिरहेका देखिए । चोक चोकमा भीडभाड पनि उत्तिकै छ । बजार पसल पनि निर्धारित समयभन्दा बढी सञ्चालन भएका थिए ।

विराटनगर महानगर, बूढीगंगा र जहदा गाउँपालिकाभरि र कटहरी गाउँपालिकाको १ देखि ४ वडामा अत्यावश्यक कामबाहेकका आवागमनमा रोक लगाइएको छ । तर मोटरसाइकल, निजी सवारीसाधन, अटो रिक्सा, टेम्पोलगायत सवारीसाधन दिनभरि चलिरहेका थिए । बजारमा पनि सर्वसाधारणले अनावश्यक भीडभाड गरेकाले निषेधाज्ञा पूर्णरुपमा पालन भएको देखिएन । जिल्ला ट्राफिक प्रहरी मोरङका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले सानो काममा पनि सर्वसाधारण मोटरसाइकल तथा निजी सवारीमा निस्किदिएकाले समस्या भएको बताए । ‘मोटरसाइकल अवागमन अत्यधिक धेरै भएको र जोसुकैले अस्पतालमा विरामी भएको भन्ने गरेको तर बिरामीको पुर्जा कसैसँग देखिएन,’ उनले भने, ‘प्रत्येक चेकिङ प्वाइन्टमा अनावश्यक काममा हिँडेका व्यक्तिहरूको सवारीसाधन केही समय रोकेर सम्झाइबुझाइ गरी छाडेका छौं ।’

पहिलो दिन भएकाले बुझाउने काम गरेको र भोलिदेखि कडाइका साथ सवारी अवागमन नियन्त्रण गर्ने खड्काले बताए । ‘तीव्र गतिमा बढिरहेको कोरोना संक्रमणको चेन ब्रेक गर्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएको छ,’ उनले भने, ‘तर यहाँ मानिसहरू कोरोना संक्रमणको बारेमा संवेदनशिल नै देखिएनन् । अनावश्यक रुपमा चोक चोकमा निषेधाज्ञा हेर्नका लागि पनि भीडभाड गरेको देखियो ।’

जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले निषेधाज्ञा उल्लंघन गर्नेहरूलाई प्रत्येक चेकिङ प्वाइन्टमा केही समय नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरी छाडेको बताए । ‘मानिसहरू अनावश्यक काममा पनि घर बाहिर निस्केकाले बजारमा भीडभाड भयो,’ उनले भने, ‘आइतबार पहिलो दिन भएकाले सम्झाइबुझाइ छाड्यौं तर सोमबारदेखि कठोरतापूर्वक कडाइ गर्छौं ।’ लुकीछिपी पसल सञ्चालन गर्नेहरूलाई पनि सम्झाइबुझाइ गरेर छाडेको तर अब निषेधाज्ञा उल्लंघन गर्ने कसैलाई पनि छुट नहुने उनले बताए । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले तीव्र गतिमा बढिरहेको कोरोना संक्रमणको चेन ब्रेक गर्ने किसिमको निषेधाज्ञा कार्यान्वयन नभएको स्विकारे । ‘निषेधाज्ञाको पहिलो दिन भने जस्तो हुन सकेन,’ उनले भने, ‘सोमबारदेखि कठोरतापूर्वक निषेधाज्ञा कार्यान्वयन गर्न निर्देशन दिएको छु ।’

प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाबाट जारी उक्त आदेशमा भारतसाग जोडिएको सीमा नाकाबाट हुने आवागमनमा पूर्ण रूपमा बन्द गरिएकाले कसैलाई उल्लंघन नगर्न आग्रह गरे । जिल्लाभरि बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने नियम आफ्नै लागि सबैलाई पालना गरिदिन उनले आग्रह गरे ।

प्रजिअ निरौलाले अत्यावश्यक कामका लागि घर बाहिर निस्कदा सुरक्षा, स्वास्थ्य र यातायात मापदण्डको पालना गर्न आग्रह गरे । खाद्यवस्तु, इन्धन, ग्यास, तरकारी, फलफूल, दुध र डेरीलगायतका अत्यावश्यक सामग्री आपूर्ति गर्ने व्यवसाय बिहान १० बजेसम्म सञ्चालन गर्न दिएको सुबिधा अन्य व्यवसायीले पनि उपयोग गरेको पाइएकोले सोमबारदेखि त्यस्तो गरेको पाइए कानुनी कारबाही हुने उनले चेतावनी दिए । कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय