बुधबार , बैसाख १२, २०८१

बैतडी,

नयाँ भेरिएन्टसहित दोस्रो लहरको कोरोना भाइरस एकै गाउँका १४ जनामा देखिएपछि पाटन नगरपालिकाको बजार क्षेत्र वैशाख मसान्तसम्म पूर्णरूपमा बन्द हुने भएको छ ।

आइतबार बसेको सर्वपक्षीय सरोकारवालाहरुको बैठकले संक्रमण नियन्त्रणका लागि सोमबारदेखि बजार क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । बैतडीको दशरथचन्द नगरपालिकाको ९ ग्वाल्लेकका १४ जनामा संक्रमण पुष्टि भएको थियो ।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेकाले यसको नियन्त्रणका लागि सोमबारदेखि पाटन नगरपालिका क्षेत्रभित्रका बजार बन्द गर्ने निर्णय भएको नगरप्रमुख केशवबहादुर चन्दले बताउनुभयो ।

वैशाख १४ गते कोरोनाका कारण मृत्यु भएका दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका ३३ बर्षीय पुरुषको सम्पर्कमा रहेका १७ जनामध्ये १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

ती पुरुषको वैशाख १४ गते डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

संक्रमण पुष्टि भएकाहरु घरमै होम आइसोलेसनमा रहेका जनाइएको छ । पछिल्लो समय गाउँ–गाउँमा कोरोनाको संक्रमण फैलिसकेकाले स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ ।

उक्त अवधिमा अत्यावश्यक सामग्रीका लागि प्रहरी प्रशासनको समन्वयमा केही समय बजार खोल्न सकिने बताइएको छ ।

नयाँ भेरिएन्टसहित दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि बैतडीमा हालसम्म १ सय ८८ जनामा संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको छ । नेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय