बिहिबार , बैसाख ६, २०८१

काठमाडौं, २० वैशाख ।

कुनैपनि बेला आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने सूचना पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय लिएका छन् । मन्त्रिपरिषदको सिफारिशमा २७ वैशाखका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन बोलाएकी छिन् ।

ओलीले विश्वासको मत लिन खोज्नुमा पाँचवटा मुख्य कारण छन् । ओलीले विश्वासको मत लिने निर्णयबाट एकसाथ पाँचवटा सम्भावनाका लागि ढोका खोलेका छन् । यो उनको चतुर्याई हो ।

पहिलो, उनले यो कदमबाट अविश्वासको प्रस्ताव आउन नदिएर आफ्नो विकल्पमा तत्काल अर्को दलबाट प्रधानमन्त्री बन्नसक्ने ढोका बन्द गरिदिएका छन् । प्रधानमन्त्रीको दौडमा काँग्रेस सभापति शेरबहादुर देउवा अगाडि थिए । उनी तत्काललाई रोकिएका छन् ।

दोस्रो, ओलीले अविश्वासको प्रस्ताव आउँदा नेकपा एमालेबाट फ्लोर क्रसको सम्भावनालाई लगभग रोकिदिएका छन् । नेकपाका १२१ सांसद नै ओलीलाई विश्वासको मत दिन वाध्य हुने देखिएको छ । यसले नेकपा एमालेको सम्भावित विभाजनलाई पनि रोकिदिएको छ ।

तेस्रो, जनता समाजवादी पार्टीलाई आफ्नो पक्षमा पार्न सक्ने प्रयास ओलीको रहन्छ । जसपाको २० जना सांसदको मत पाउन सके ओली बहुमत पाउन सफल हुनसक्छन् । उनले गर्ने प्रयासले जनता समाजवादी पार्टी फुट्ने सम्भावना रहन्छ ।

चौंथो, ओलीलाई अझैपनि नेकपा माओवादी केन्द्रले दिइआएको समर्थन फिर्ता लिएको छैन । विश्वासको मत लिन अगाडि बढेपछि स्वतः समर्थन फिर्ता लिने नलिने टुंगो लाग्छ । माओवादी विश्वासको मतको विपक्षमा जाने निश्चित छ । यसले ओली कि त अर्को दलसँग सत्ता साझेदार गरेर बढ्न सक्छन् कि त ठूलो दलको हैसियतले अल्पमतको सरकारको प्रधानमन्त्री बन्न सक्छन् ।

पाचौं, ओलीले चाहेको अर्ली इलेक्शन नै हो । विश्वासको मत लिन नसकेमा अर्को कुनै व्यक्तिले बहुमतको प्रधानमन्त्री बन्नसक्ने सम्भावना कमजोर रहन्छ । त्यतिबेला प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको हैसियतले ओली नै प्रधानमन्त्री बनेर चुनाव घोषणा गर्न सक्छन् । उनी यसअघि प्रतिनिधि सभा भंग गरेर चुनाव घोषणाको कदम चाल्न पुगेका थिए । तर, सर्वोच्च अदालतले असंवैधानिक ठहर गरी संसद पुनःस्थापनाको निर्णय गर्यो । रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय