सरकारले बैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेर मानिसहरुको आवत–जावतमा प्रतिबन्ध लगायो । बैशाख १५ गते साँझसम्म दशौं हजारले उपत्यका छाडेपछि यहाँ मानिसहरुको चाप ह्वात्तै घटेको छ । तर, निषेधाज्ञा शुरु भएको चार दिनसम्म पनि कोरोना संक्रमितको संख्या घट्नुको साटो दिनहुँ उकालो लागिरहेको छ ।

निषेधाज्ञा जारी हुने अघिल्लो दिन अर्थात् बैशाख १५ गते काठमाडौंका तीन जिल्लामा २४ घण्टाका सक्रिय संक्रमितको संख्या २ हजार २२ थियो । जबकि हिजो, अर्थात बैशाख १९ गते काठमाडौं उपत्यकामा यो संख्या बढेर ३ हजार पाँच सय ९५ पुगेको छ ।

काठमाडौं जिल्लाको तथ्यांक

निषेधाज्ञाको अघिल्लो दिन अर्थात बैशाख १५ गते काठमाडौं जिल्लामा मात्रै सक्रिय संक्रमितहरु १ हजार ४१४ जना थिए ।

निषेधाज्ञाको पहिलो दिन बैशाख १६ गते काठमाडौं जिल्लामा १ हजार १२७ जना संक्रमित देखिए । यो अघिल्लो दिनको भन्दा थोरै कम थियो । तर, निषेधाज्ञाको दोस्रो दिन अर्थात् बैशाख १७ गते संक्रमितहरु ह्वात्तै बढेर २ हजार ४०४ जना पुगे । बैशाख १८ गते घटेर १ हजार ९३२ जनामा सीमित भयो । तर, बैशाख १९ गते बढेर अहिलेसम्मकै धेरै २ हजार ७४४ जना पुगेका छन् ।

ललितपुरमा पनि घटेनन् संक्रमित

सरकारले निषेधाज्ञा जारी गरेको चार दिनको यस अवधिमा ललितपुर जिल्लामा पनि संक्रमितहरु दिनहुँ बढिरहेका छन् ।

निषेधाज्ञाको अघिल्लो दिन बैशाख १५ गते ललितपुरमा ३१५ जना संक्रमित थिए । बैशाख १६ गते निषेधाज्ञाको पहिलो दिन यो संख्या घटेर २५२ मा खुम्चिएको थियो । तर, बैशाख १७ गते बढेर ४१९ पुग्यो । बैशाख १८ गते अलिकति घटेर ३५५ भयो । तर, हिजो बैशाख १९ गते ललितपुरमा संक्रमितहरुको संख्या बढेर ५५० पुगेको छ ।

भक्तपुरमा पनि उस्तै

सरकारले निषेधाज्ञा जारी गरेको चौथो दिनसम्म भक्तपुर जिल्लामा पनि संक्रमणको दरमा कमी आएको छैन । तथापि भक्तपुरमा संक्रमितहरु काठमाडौं र ललितपुरको तुलनामा निकै कम छन् ।

बैशाख १५ गते भक्तपुरमा सक्रिय संक्रमितहरु २३२ जना थिए । बैशाख १६ गते १८२ जना देखिए । बैशाख १७ गते यो संख्या घटेर बढेर १३३ मा झ¥यो । तर, बैशाख १८ मा बढेर २०८ पुग्यो । हिजो बैशाख १९ गते झन बढेर ३०१ पुगेको छ ।​

आइसियूमा बढे, भेन्टिलेटरमा घटे

निषेधाज्ञा घोषणा भएको ४ दिनको अवधिमा उपत्यकाका आइसोलेसन र आइसीयुमा भर्ना हुने बिरामीहरुको संख्यामा पनि दिनहुँ वृद्धि भइरहेको छ । तर, पछिल्लो दिन भेन्टिलेटमा विरामी भने थोरै घटेको देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका अस्पतालहरुमा आइसीयुमा भर्ना भएका कोरोनाका बिरामीहरुको संख्या बैशाख १६ गते ११४ थियो भने बैशाख १७ मा ११६ भयो । बैशाख १८ गते बढेर १३४ पुग्यो भने निषेधाज्ञाको चौथो दिन अर्थात् बैशाख १९ गते झन् बढेर १६० पुगेको छ ।

उपत्यकाका अस्पतालहरुमा भेन्टिलेटरमा भर्ना भएका बिरामीको संख्या चाँहि यस अवधिमा केही घटेको देखिन्छ । मन्त्रालयको तथ्यांक अनुसार बैशाख १६ गते भेन्टिलेटरमा भर्ना भएका बिरामीको संख्या ५८ थियो । भोलिपल्ट ५९ पुग्यो । बैशाख १८ गते घटेर ५६ भयो भने बैशाख १९ गते ५२ मा झरेको छ ।

निषेधाज्ञाको अवधिमा उपत्यकाका अस्पतालहरुमा आइसोलेसनमा भर्ना हुने बिरामीको संख्या भने घट्नुको साटो बढिरहेको छ । बैशाख १६ गते निषेधाज्ञा सुरु भएको दिन आइसोलेसन भर्ना भएका संक्रमितको संख्या ८८९ मात्र थियो । भोलिपल्ट यो संख्या बढेर ९०१ पुग्यो । बैशाख १८ गते ९९७ पुग्यो । हिजो बैशाख १९ गते यो संख्या बढेर १ हजार ९४ पुगेको छ ।​ रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय