शुक्रबार , चैत्र १६, २०८०

बुटवल ।

लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि छुट्याइएका चारवटा सरकारी अस्पतालमा बेड अभाव देखिएको छ । गम्भीर खालका बिरामीको उपचारका लागि भेन्टिलेटर, अक्सिजनयुक्त बेड लगायतका सुविधा नभएपछि नयाँ बिरामी भर्ना लिन नसक्ने भन्दै अस्पताल पन्छिन थालेको छ ।

धन हुनेले हेलिकोप्टर चार्टर गरेर बिरामीलाई काठमाडौं लैजाने, कतिपले आफैं अक्सिजनको जोहो गरेर अस्पतालमा भर्ना हुने, कोही पालो कुरेर बस्दाबस्दै भर्ना नपाएर ज्यान गुमाइरहेका स्वास्थ्यकर्मीहरु नै बताउँछन् ।

रुपन्देहीको देवदह नगरपालिकाकी ४९ वर्षीय संक्रमित महिलाको पनि उपचार नपाएरै मृत्यु भयो । संक्रमण पुष्टि भएर गम्भीर स्वास्थ्य समस्या देखिएकी उनको अस्पताल भर्ना हुने पालो कुर्दाकुर्दै मंगलबार मृत्यु भएको हो ।

सैनामैना–३ की संक्रमित एक महिलालाई हेलिकोप्टर चार्टर गरेर परिवारले काठमाडौं लगेका छन् । केही दिन उपचार गरे पनि समस्या थपिएपछि आफन्तले उनलाई हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगेका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा हाल सम्म ५७० संक्रमितको मृत्यु भइसकेको छ । दैनिक १२÷१५ जनाका दरले संक्रमितको मृत्यु भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रदेश निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले प्रदेशमा सक्रिय संक्रमितको संख्या १० हजार ४ सय रहेको बताए । दैनिक करिब एक हजारको हाराहारीमा नयाँ संक्रमित थपिएको र यो क्रम अझ बढ्ने उनको भनाइ छ ।

प्रदेश सरकारले पर्याप्त बेड, उपकरण र जनशक्तिको व्यवस्थापनमा ध्यान दिन नसकेको सर्वसाधारणको गुनासो छ । नवलपरासीको बर्दघाटबाट दाजुको उपचारका लागि बुटवल आएका राम चौधरीका अनुसार नेताहरु सत्ताका लागि मात्र केन्द्रीत रहे । कोरोनाको पहिलो लहर कम भएपछि दोस्रो लहर आउन सक्छ भन्नेबारे विश्वका अन्य मुलुकबाट पाठ सिकेर पूर्वतयारी गर्नुपर्नेमा प्रदेश सरकारले त्यसतर्फ पटक्क ध्यान नदिएको उनले बताए ।

हुन पनि प्रदेशमा यसअघिकै सीमित संरचनाले काम चलाइएको छ । एक वर्षअघि बनाउने भनिएका एचडियु बेड र जनशक्ति थप गर्ने योजना दोश्रो लहरले भयावह स्थिति सिर्जना भएपछि बल्ल अगाडि बढाइएको छ । बुटवलको कोरोना अस्पतालमा गत वर्ष नै थप गर्ने भनिएको एचडियु बेड बल्ल थप्ने काम भएको छ ।

अस्पतालका कोरोना फोकल पर्सन डा नन्दु पाठकले बेड शनिबार बल्ल तयार गरिएको रातोपाटीलाई बताए । उनले भने, ‘३२ वटा एचडीयू बेड तयार गरियो तर अझै पनि पुग्दैन, किनकि बिरामीहरु दैनिक बढिरहेका छन् ।’

प्रदेश सरकारले पर्याप्त बजेटको व्यवस्था नगर्दा पूर्वाधारसँगै कोभिड अस्पतालहरुले जनशक्तिको पनि अभाव झेलिरहेका छन् । बुटवलको कोरोना अस्पतालका स्वास्थ्यकर्मीहरुले तीन महिना देखि तलबभत्ता पाएका छैनन् ।

प्रदेशका अस्पतालको बिजोग

प्रदेश निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीका अनुसार बुटवलको धागो कारखानास्थित कोभिड अस्पतालमा १४ बेड आइसीयु र ३ वटा भेन्टिलेटर छन् । पोहोर नै सञ्चालन गर्ने भनिएको ३२ एचडियु बेड बल्ल तयार गरिएको छ ।

भैरहवा भीम अस्पतालमा ५ आइसीयुसहित २० वटा एचडियु बेड छन् । दाङको बेलझुण्डीमा आइसीयु ५, भेन्टिलेटर ६ र ३० वटा एचडियु बेड छन् । बाँकेको भेरी अस्पतालमा १५ वटा आइसीयु, १० भेन्टिलेटर र ५० एचडियु बेड छन् । नेपालगञ्ज मेडिकल कलेजले कोभिडका लागि २५ वटा आइसीयु र २ भेन्टिलेटर छुट्याएको छ ।

प्रदेशमा ८ वटा निजी अस्पतालले भेन्टिलेर ४०, आईसियु ७५ र एचडियु ५६ बेड कोभिड बिरामीका लागि छुट्याएको चौधरीले बताए ।

कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएका कारण यी सबै बेड भरिएपछि जनरल वार्ड, गल्ली र पेटीमा समेत अक्सिजन लगाएर संक्रमितको उपचार गर्न थालिएको छ । चाप थेग्नै नसकेपछि लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा समेत संक्रमितलाई राखिएको छ ।

बेलझुण्डीको कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव भएको अस्पतालका व्यवस्थापक द्रोण ओलीले बताए । प्रदेशका ६ वटा पहाडी र ३ वटा तराईका जिल्ला अस्पतालमा सघन उपचारको सुविधा नहुँदा ती जिल्लाका बिरामीको चाप पनि बुटवल तथा नेपालगञ्जमा पर्दछ ।

बिरामीको संख्या यसरी नै बढ्दै जाने हो भने स्वास्थ्य संरचनाले धान्न नसक्ने देखिन्छ । अहिलेकै अवस्थामा अस्पतालहरू भरिभराउ रहेको र कतिपय अस्पतालमा गम्भीर प्रकृतिका बिरामी भर्ना गर्न सक्ने अवस्था नै नरहेको हुनाले संक्रमितको संख्या दैनिक बढ्दै जाने हो भने केही दिनमै भयावह अवस्था सामना गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका डा. सुदर्शन थापाले निको हुने दर न्युन रहेकाले स्थिति अझै भयावह हुन सक्ने बताए । जटिल परिस्थितिसँग जुध्न सबै जिल्लामा सघन उपचार कक्षसहितका कोभिड अस्पताल, जनशक्ति र अक्सिजनको पर्याप्त व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

कोरोना संक्रमितमा लक्षण पनि फरक देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा. नन्दु पाठकले बताए । पाठक हाल कोभिड अस्पतालको फोकल फर्सनको रुपमा छन् ।

उनका अनुसार पहिले ज्वरो आएका, पखाला लाग्ने, शरीर दुखेको सामान्य लक्षण देखिएका संक्रमित बिरामीहरु अस्पताल आउने गरेका थिए । तर अहिले कोरोनाको दोश्रो लहरमा अधिकांश बिरामी निमोनियाको समस्या देखिएर आउनेमा पर्दछन् । उनीहरुलाई अक्सिजनको सपोर्ट वा आईसीयूमा अनिवार्य भर्ना गर्नुपर्ने देखिन्छ । रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय