शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

पार्किङमा रहेको भारतीय नम्बर प्लेटको कार भित्र तीन बालक मृत फेला परेपछि प्रहरीले दुई जना विरूद्ध ज्यान मुद्दा चलाएको छ।

कार धनी यादवप्रसाद गैरे र चालक पदमबहादुर बस्नेतलाई आइतबार ज्यान मारेको अभियोगमा मुद्दा चलाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले सेतोपाटीलाई बताए ।

प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ३३ वर्षका गैरे र सोही वडाका ५७ वर्षीय चालक बस्नेतलाई पक्राउ गरि मुद्दा चलाइएको हो।

चालक बस्नेत र गाडी धनि गैरेले माघ १ गते आफूहरूले लक गरि गाडी पार्किङमा राखेको हुँदा घटनाबारे अनभिज्ञ रहेको प्रहरीसमक्ष बयान दिएको डिएसपी सिंहले जानकारी दिए ।

‘हामीले माघ १ गतेदेखि पार्क गरि गाडी लक गरेर राखेका हौ र अहिले पनि हाम्रो गाडी लक नै थियो भन्ने दाबी उहाँहरुको छ। त्यो बाहेक अरू हामीलाई कुनै कुरा थाहाँ छैन भन्नुहुन्छ। तथ्य कुरा पोष्टमार्टम रिपोर्ट पछि खुल्ने छ,’ उनीहरूको भनाई उद्धृत गर्दै डिएसपी सिंहले भने।

लक गरेको गाडीमा बच्चा कसरी भित्र छिरे? र त्यो गाडीको बत्ति कसरी बल्यो? भन्ने कुरा शंकास्पद रहेको डिएसपी सिंहले बताए ।

प्रत्यक्षदर्शी धेरै स्थानीयले कारको बत्ति बलेको देखेपछि मात्रै त्यो कार हेर्न गएको र त्यसपछि तीन बालक भित्र मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खवर गरेको सिंहले जानकारी दिए ।

भारतीय नम्बर प्लेटको कार यति लामो सयमदेखि किन पार्किङ गरि राखिएको हो? भन्ने कुरा नै शंकास्पद देखिएको हुँदा गाडी धनी र चालक विरूद्ध मुद्दा चलाएर अनुसन्धान थालिएको सिंहले बताए।

‘यादवले कानपुरको हस्पिटलका काम गर्छु भन्ने बयान गर्नु दिनु भएको छ,’ डिएसपी सिंहले भने, ‘उहाँले यो गाडी राजस्थानको साथीको हो र लकडाउनले गर्दा उता जान नपाए पछि छोड्न जान पाइन भन्नु भएको छ। त्यो कुरा अनुसन्धान हुन बाँकी नै छ।’

डिएसपी सिंहले गाडी चोरेर पनि ल्याएको हुन सक्ने आशंका ब्यक्त गरे ।

पोष्टमार्टमका लागि बुटवलबाट डाक्टर आए

फोरेन्सिक एक्सपर्ट डाक्टर बुटबलबाट तुलसीपुर झिकाइएका छन्। प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले तीन जना बालबालिका एउटै कार भित्र मृत अवस्थामा फेला परेको गम्भीर घटना भएकाले सुक्ष्म अध्यनका गर्न सकियोस् भनेर बुटवलबाट त्यस सम्बन्धी विज्ञ डाक्टर झिकाइएको सेतोपाटीलाई जानकारी दिए।

इप्रका तुलसीपुरका प्रमुख सिंहले तुलसीपुरमा फोरेन्सिक एक्सपर्ट डाक्टर नभएपछि तीन बालकको शव पोष्टमार्टमका लागि काठमाडौं पठाउन खोज्दा अहिलेको कोरोना महामारीका कारण सम्भव नभएको बताए ।

‘हामीले नेपालगञ्जमा पनि बुझ्यौं, अन्य ठाउँमा पनि बुझ्यौं, तर, बुटवलमा फोरेन्सिक एक्पर्ट चिकित्सक रहेको पत्ता लागेपछि पोष्टमार्टमका लागि झिकाएका हौं,’ उनले भने, ‘अहिले साढे ६ बज्दै गर्दा उहाँहरु भरखरै तुलसीपुर आइपुग्नु भएको छ, सकभर आजै राति पोष्टमार्टम गर्न प्रयास हुनेछ।’

तीन बालक एउटै कारमा मृत अवस्थामा फेला परेको घटना पोष्टमार्टमको रिपोर्ट नआई त्यसै भन्न सक्ने अवस्था नरहेको डिएसपी सिंहले बताए। पार्किङ गरेर राखिएको भारतीय नम्बर प्लेटको कार भित्र तीन बालकको शव फेला परेपछि प्रहरीले बाँकेबाट घटना अनुसन्धान गर्न तालिम प्राप्त कुकुर र विज्ञ प्राबिधिक समेत झिकाएको थियो।

त्यो विज्ञ टोलीले आफ्नो अनुसन्धान सकेपछि मात्रै कारको लक तोडेर तीन बालकको शव बाहिर निकालेर पोष्ट मार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पोष्ट मार्टमका लागि लगिएको थियो। सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय