मंगलबार , बैसाख ११, २०८१

छ महिने छोरीलाई छिनछिनमा पखाला लाग्छ, ज्वरो रत्ति कम भएको छैन। छेउमा दुई वर्षे छोरा उत्तिकै रोइरहन्छ। उनी दुवैलाई फुल्याउने कोशिस गर्छिन्। तर आफैं रुघाखोकी र ज्वरोबाट पीडित उनलाई कम्ता सकस छैन।

invotech
कञ्चनपुर, लालझाडीकी कल्पना (परिवर्तित नाम) कोरोना संक्रमति भएपछि दुई बच्चासहित नजिकैको स्कुलमा बनाइएको आइसोलेसन सेन्टरमा बसिरहेकी छन्।

‘मलाई कोरोना देखिएको सात दिन भयो। बच्चाको जाँच गरेको छैन। सानै भएकाले मसँगै बसिरहेका छन्,’ उनले सेतोपाटीसँग भनिन्।

आफू संक्रमित भए पनि बच्चाहरू सुरक्षित होऊन् भन्ने उनी चाहन्थिन्। तर, आफूबिना बच्चा घरमा नबस्ने अवस्था आएपछि बाध्य भएर उनीहरूलाई आइसोलेसनमै ल्याउनुपरेको उनले बताइन्।

school
‘छुट्टै बस्ने भए बच्चालाई केही हुन्थेन होला। तर मसँगै बसेकाले उनीहरूलाई लक्षण देखिन थालेको छ,’ उनले भनिन्।

कल्पनाको गाउँमा १८ जनालाई संक्रमण देखिएको छ। उनका श्रीमान पनि उनीसँगै आइसोलेसनमा बसेका छन्। कल्पनाले आइसोलेसनमा आफू र बच्चाका लागि खाना पकाउँछिन्। लुगाकपडा धुनुपर्छ। बच्चालाई शौचालय लैजाने, उनीहरूको हेरविचार गर्ने, सबै उनैले गर्नुपर्छ। तर सँगै भएका उनका श्रीमान उनलाई सघाउँदैनन्।

कल्पनाका अनुसा उनी दिनभर मोबाइल चलाउँछन्, फोनमा अरूसँग कुरा गर्छन्। कल्पना एकछिन आराम गर्न पाउँदिनन्, श्रीमानले झैं कसैसँग कुरा गर्ने मौका त परको कुरा।

‘मैले त खाना बनाउनुपर्छ, केटाकेटीलाई हेर्नुपर्छ। मसँग मोबाइल पनि छैन। कति बेला बच्चा बोकेर चउरतिर जान्छु, कतिबेला कोठामा बस्छु,’ उनले भनिन्।

ncell in
कल्पना र उनकी छ महिने छोरीलाई खान्की पनि पुगेको छैन। झन् दुवै बिरामी भएका बेला पोषिलो खानुपर्ने, तर कहाँबाट ल्याउने?

‘यहाँ आउने डाक्टरले छोरीलाई पखाला लागेपछि झोल खुवाउनुपर्छ, पोषिलो खानुपर्छ भन्छन्। अब यहाँ के खुवाउने, के खाने,’ उनले भनिन्।

दाल, चामल, पिठो उनका ससुरा पुर्‍याउन आउँछन्। उनीहरू त्यही पकाएर खान्छन्।

‘आइसोलेसनमा संक्रमितका लागि पानी समेत राम्रो पाइँदैन। नल्काको पानी गनाएर पिउन सकिन्न,’ उनले भनिन्।

कल्पनालाई संक्रमित हुनुको पीर मात्र होइन, भएको सानोतिनो काम पनि गुमाउनुपरेको चिन्ता छ। संक्रमित हुनुअघि उनी आइसक्रिम बेच्ने काम गर्थिन्। दैनिक पैसा आउँथ्यो। अहिले सुका कमाइ छैन। कोरोना निको भएर फर्के पनि निषेधाज्ञा भएकाले उनको अलिअलि पैसा आउने बाटो कहिले खुल्छ, निश्चित छैन।

यो मात्र होइन, गाउँका मान्छेले केही भन्ने हुन् कि भन्ने चिन्ता पनि छ उनलाई। आइसोलेसनमा बच्चासहित बसेका अन्य महिलाको अवस्था पनि कल्पनाको भन्दा फरक छैन। सबैको समस्या उस्तै छ।

‘गाउँमै काम गरेर खाने हामीलाई पनि कोरोनाले छाडेन,’ कल्पना बस्ने आइसोलेसनमै बसेकी रमा (नाम परिवर्तन) ले भनिन्। रमाका साथमा पनि तीन वर्षे छोरा छन्।

‘म त जे पनि सहन्छु। तर छोरालाई ज्वरो, रूघाखोकी, झाडापखालाले सताएको देख्दा मन सम्हाल्न गाह्रो हुन्छ। यहाँ बच्चालाई पोषिलो खाना, फलफूल, गेडागुडी, खुवाउन सकेका छैनौं,’ उनले भनिन्।

आइसोलसनमा सब गाउँकै मान्छे भएकाले डर भने कमै लाग्ने उनी बताउँछिन्। तर काखमा बच्चा भएका महिला संक्रमित भए समस्या बढ्नै उनको अनुभव छ।

‘बच्चासहित आइसोलेसन बस्दा धेरै गाह्रो हुने रहेछ। यहाँ धेरै व्यवस्थित पनि छैन। एकै कोठामा आठ जनासम्म बस्नुपर्छ,’ उनले भनिन्, ‘पहिला त गाउँमा कोरोना जोखिम कम होला सोचेका थियौं। आफैंले भोग्नुपर्दा धेरै दु:ख हुने रहेछ भन्ने थाहा पायौं।’

उनका अनुसार आइसोलेसनमा महिला, पुरुष र बालबालिका, सबैका लागि एउटा मात्रै शौचालय छ। धेरै जनाले एकै चर्पी प्रयोग गर्नुपर्दा समस्या भइरहेको पनि रमाले बताइन्।

यसबारे हामीले लालझाडी गाउँपालिकाका अध्यक्ष कमदसेन बडायकलाई पनि सौध्यौं। स्थानीयमा संक्रमण फैलिन थालेकाले हतारमा स्कुलमा आइसोलेसन बनाएको उनले बताए। महिलाहरूसँगै बच्चा भए पनि उनीहरूको खानपान व्यवस्था गर्न गाउँपालिकाले नसकेको पनि उनी बताउँछन्।

‘हामीले आइसोलेसनमा बस्नेका लागि खाना व्यवस्था गर्न सकेका छैनौं। अहिलेलाई आइसोलेसन बनाउने र आवश्यक परे स्वास्थ्यकर्मी खटाउने काम बाहेक अरू केही गर्न नसक्ने अवस्थामा छौं,’ उनले भने।

गाउँघरका आइसोलेसनमा मात्रै नभइ अहिले कोरोना उपचार भइरहेका अस्पतालमा पनि आमा संक्रमित भए बच्चासँगै आउने गरेका छन्। सेती प्रादेशिक अस्पतालका डाक्टर शेरबहादुर कमरले संक्रमित आमासँग बच्चाहरू बसिरहेको जानकारी दिए।

डा. कमरले भने, ‘सकभर बच्चा छुट्याएर राख्नु राम्रो हो। दुरी कायम गर्नुपर्छ। सुरक्षा अपनाएर दूध खुवाउँदा राम्रो हुन्छ भन्छौं। तर महिलाहरू बच्चा हेर्ने कोही नभएको भन्दै लिएरै आउनुहुन्छ।’

बच्चालाई छुट्टै राख्न नसकिने अवस्था भए कम्तीमा पोषिलो खुवाउनुपर्ने उनले बताए।

‘छुट्टै राख्न नसके पनि रोगसँग लड्न सक्ने पोषिला खानेकुरा खानुपर्छ, खुवाउनुपर्छ। यसले आमा र बच्चा दुवैमा रोगसँग लड्ने क्षमता बढाउँछ,’ उनले भने।

उनका अनुसार कतिपय ठाउँमा थाहै नपाएर त, कहीँ बाध्यताले संक्रमित आमासँगै बच्चा राखिएका छन्। सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय