शुक्रबार , चैत्र १६, २०८०

चरीकोट (दोलखा), वैशाख १९ गते ।

सगरमाथाको पहिला आरोहीद्वय तेन्जिङ नोर्गे शेपा र एडमन्ड हिलारीले पहिलो बास बसेकै ठाउँमा दोलखाको जिरी नगरपालिकाले तेन्जिङ–हिलारी मेमोरियल पार्क निर्माण गरेको छ । पार्क जिरी नगरपालिका–४ स्थित जिरीमा रहेको छ ।

२०१० साल जेठ १६ शुक्रबार बिहान ११ बजेर १५ मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण नेपालका तेन्जिङ शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले गर्नुभएको थियो ।

आरोहीद्वय सगरमाथा आरोहणमा जाने क्रममा बास बसेको ठाउँ जिरी भएकाले उहाँहरूको श्रद्धा, सम्मान र सम्झनाका लागि पार्क निर्माण गरिएको जिरी नगरपालिकाका प्रमुख टङ्कबहादुर जिरेलले बताउनुभयो ।

जिरीलाई तत्कालीन समयमा सगरमाथाको प्रवेशद्वारका रूपमा लिइन्थ्यो । सडक र हवाई सुविधा नहुँदा काठमाडौँदेखि जिरी छ दिनको क्याम्प हो ।

बेलायती आरोहण टोलीसँग काठमाडौँबाट हिँडेको छैटाँै दिनमा जिरी आइपुगेका शेर्पा र हिलारी जिरीमा क्याम्प राखेर एक दिन बास बसेको जिरीका स्थानीय केशरबहादुर जिरेल बताउनुहुन्छ । टोलीले जिरीको सिक्री गाउँ किनारबाट बग्ने खोला छेउमा पाल टाँगेर बसेको थियो ।

त्यसताका जिरीबाट पैदल १४ दिनको क्याम्पमा सगरमाथा बेस क्याम्प पुग्ने गरेको उहाँले बताउनुभयो । हाल पार्क बनाइएको स्थान सोलुखुम्बुका फुतार्के शेर्पाले चलाएको क्यान्टिन हो । स्विस तथा पशु विकास फार्मको स्टाफका लागि सञ्चालित यो
क्यान्टिनमा सगरमाथाको सफल आरोहणपछिका दिनमा एडमन्ड हिलारी आएर बस्नुभएको थियो ।

२०२९/३० सालसम्म हिलारीले मानवीय सहायता र शिक्षा विकाससम्बन्धी कार्यक्रमअन्तर्गत रामेछापको बाम्ती भण्डारदेखि, सोलुखुम्बुको भगान्जे, जुनबेँसी, खरीखोला, चौरीखर्क, नाम्चे, खुम्जुङ, थामे, तेङ्बोचे, पाङ्बोचे, फोर्चेलगायतका स्थानमा विद्यालय तथा स्वास्थ्य चौकी स्थापना गरी सञ्चालनमा ल्याउनुभएको थियो ।

त्यो बेलाका स्टाफ क्यान्टिन बनाइएका काठको छाप्रोसहितको क्षेत्रलाई पर्खालले घेरेर तेन्जिङ हिलारी स्मृति पार्क निर्माण गरिएको छ । पार्कमा शेर्पा र हिलारीको अर्धकदको प्रतिमा स्थापना गरिएको छ ।

क्यान्टिन रहेको उक्त छाप्रोलाई सङ्ग्रहालयमा रूपान्तरण गर्ने बताउँदै नगरप्रमुख जिरेलले भन्नुभयो, “सङ्ग्रहालयमा हिलारीले सन् १९७० को डिसेम्बर ८ का दिन जिरी हाइस्कुलमा हस्ताक्षरसहित लेखिएको सम्झनाको प्रतिलिपि राखिनेछ । ” पार्क निर्माणका लागि बागमती प्रदेश सरकारले २० लाख र जिरी नगरपालिकाले १० लाख रुपियाँ खर्च गरेका छन् । गोरखापत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय