मंगलबार , बैसाख ११, २०८१

कर्णाली प्रदेश अस्पतालमा बिरामीका आफन्तले सिलिन्डर खोसाखोस गर्ने गरेका छन्। बिरामीको चाप धेरै र सिलिन्डर कम भएपछि कुरूवाले आफ्ना बिरामीका लागि सिलिन्डर लिन हानथाप गर्ने गरेका हुन्।

कर्णाली प्रदेश अस्पतालमा नियमित ३ सय जति अक्सिजन सिलिन्डर भईरह्यो भने खोसाखोस गर्ने अवस्था नआउने कोरोना फोकल पर्सन डा. केएन पौडेलले सेतोपाटीलाई जानकारी दिए।

शनिबार राति प्रदेश अस्पतालमा सिलिन्डर खोसाखोस भएको थियो। ‘कहिलेकाहीँ सप्लायर्सबाट अक्सिजन सिलिन्डर ल्याउन ढिला भईदिन्छ, यस्तो अवस्थामा गाह्रो हुन्छ,’ डा. पौडेलले भने, ‘हिजो राति पनि बेलुकाको सिफ्टमा अक्सिजन आएन, त्यही भएर यहाँ खोसाखोस् भएको हो।’

अक्सिजन नआउँदा आइतबार बिहान अस्पताललाई हम्मेहम्मे परेको थियो। सुर्खेतमा रहेका निजी अस्पतालबाट अक्सिजन सिलिन्डर सापटी ल्याएर काम गरिएको पौडेलले बताए।

कर्णाली प्रदेश अस्पतालमा आजसम्म ४४ जना कोभिडका बिरामी छन्। उनीहरुमध्ये अधिकांशलाई अक्सिजन दिनुपर्छ।

‘हाम्रा ओपीडीबाहेक सबै सेवाहरु सञ्चालनमै छन्, यसले गर्दा कतिपय कोभिडबाहेकका अरु बिरामीलाई पनि अक्सिजन दिनुपरेका छ,’ कोरोना फोकल पर्सन डा. पौडेलले भने, ‘त्यसैमाथि कहिलेकाहीँ नेपालगञ्जबाट अक्सिजन आउँदैन, हामीलाई समस्या पार्छ ।’

कर्णाली प्रदेश अस्पतालमा नेपालगञ्जको प्लान्टबाट भरेर अक्सिजन ल्याउने गरिन्छ। नेपालगञ्जको प्लान्टबाट अरु पनि अस्पतालहरुले अक्सिजन भर्ने भएकाले कुनै दिन पालो पाउनै गाह्रो हुने उनले बताए ।

अक्सिजन जुटाउने अभियानमा युवाहरु

बिरामीको चाप बढेसँगै अक्सिजनको अभाव देखिएपछि सुर्खेतको केही युवाहरूले बिरामीका लागि अक्सिजन जुटाउने अभियान सुरु गरेका छन्।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष सुदीप पुरीको अगुवाईमा स्थानीय मिलन श्रेष्ठ, धर्म आचार्यले अक्सिजन जुटाउने अभियान सञ्चालन गरेका हुन्।

‘अहिलेसम्म १० वटा अक्सिजनका खाली सिलिन्डर हामीले जुटाएका छौं, ती सिलिन्डर भर्न नेपालगञ्ज पठाईसकेका छौं,’ उपाध्यक्ष पुरीले भने, ‘दुईवटा सिलिन्डर किनेर समस्यामा परेका दुईजना कोभिडका बिरामीहरुलाई दिईसकेका छौं।’

बिरामीको ज्यान बचाउनका लागि अक्सिजन जुटाउने अभियानमा साथ दिन युवाहरुले अपिल पनि गरेका छन्। सहयोगीहरुबाट हालसम्म डेढ लाख रुपैयाँ संकलन भएको पुरीले जानकारी दिए ।

निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यसहित अभियान सुरु गरिएको भए पनि हाललाई ठूलो समस्या भनेको अक्सिजनको भएकाले तत्काल अक्सिजन जुटाउने प्रयासमा आफूहरु लागेको उनले बताए। सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय